पार्थ मण्डल / भद्रपुर ।

झापाको दक्षिणी क्षेत्रका वन जङ्गलमा हात्ती नियन्त्रणका लागि सौर्य विद्युतीय तारवार जडान कार्य शुरु भएसँगै जङ्गली हात्तीले सदरमुकाम भद्रपुरमा दुःख दिन थालेको छ ।
स्थानीयले खेतबाट अन्नबाली घर भित्र्याएसँगै आहारको खोजीमा रात परेपछि गाउँ पस्ने जङ्गली हात्तीले भद्रपुर नगर क्षेत्रमा केही दिनदेखि उत्पात मच्चाउँदै आएको छ । जङ्गली हात्तीको त्रासले स्थानीय रातभर जाग्रम बस्न बाध्य भएका छन् ।
एकैरातमा चार वडामा हात्ती समस्या
बुधवार मध्यरातमा तीन वटा जङ्गली हात्तीले भद्रपुरको वडा नम्बर ५, ७, ८ र ९ मा आतंक मच्चाउँदै स्थानीयको घर भत्काएर धान, चामल खाइ दिएको छ । हात्तीले एकै रात ७ वटा घरमा क्षति पु¥याएको छ । हात्तीले भद्रपुर–५ घोडामारास्थित घिमिरे चिया बगान नजिकै बस्ने भीमबहादुर मगर र हेमा दासको टिनले बनाएको छाप्रो भत्काएर घरमा राखेको चामल खाइदिएको छ ।
त्यस्तै हात्तीले भद्रपुर–७स्थित बबलु किस्कू र भवेश राजवंशीको घर भत्काएर घरमा राखेको धान खाएर क्षति पु¥याएको छ । त्यसैगरी भद्रपुर–८ स्थित किराँत कोलोनीमा वडाध्यक्ष गौरव सुब्बाको घरमा भण्डारण गरी राखिएको धान खाँदै गणेश लिम्बूको घरको कम्पाउन्ड वाल भत्काएको छ भने पानलाल राजवंशीको घर भत्काउँदै धान खाएर क्षति पु¥याएको छ ।
छोराछोरीको ज्यान जोगाउनै मुस्किल
भद्रपुर–५ बस्ने बिना मगरले भनिन्– बुधवार बिहानको राति करिब साढे १ बजे दुई छोराछोरीसहित हामी निद्रामा थियौं । घरको पछाडिबाट टिनमा आवाज आयो । मुसाको आवाज होला भनेर वास्ता गरेनांै । एकछिन पछि टिन भत्काएको आवाज आयो ।
बाहिर हेर्दा हात्ती रहेछ, हामी तर्सियौं । श्रीमानलाई बोलाएर हतार–हतार बाहिर निस्कियांै । छोराछोरी सुतिरहेका थिए ।
सुतिरहेकै अवस्थामा छोराछोरीलाई तानेर बाहिर निकालेर ज्यान जोगायौ । ‘हात्ती अग्लो न अग्लो थियो’– उनले भनिन्– ‘हात्तीले घर भत्काएर चामल सबै खाइदियो, छोराछोरीको ज्यान जोगाउनै झण्डै मुस्किल प¥यो ।’
‘हात्तीले मेरो घर भत्काएपछि छिमेकी हेमा दासको परिवारले पनि हात्ती आएको थाहा पायो’– उनले भनिन्– ‘दास परिवार पनि हतार–हतार सुतिरहेका छोराछोरी लिएर बाहिर निस्किए, हात्तीले उनको घर पनि भत्कायो ।’
रेडक्रस र वडाध्यक्षद्वारा राहत वितरण
हात्तीले घर भत्काएपछि नेपाल रेडक्रस सोसाइटी उपशाखा भद्रपुरले वडा ५का भीमबहादुर मगर र हेमा दासका परिवारलाई राहत स्वरूप एक÷एक थान कम्बल र त्रिपाल वितरण गरेको छ ।
जाडोको बेला हात्तीले घर भत्काएपछि उपशाखाका सभापति गोपाल गिरी, दीप लिम्बू, ५ नम्बर वडाध्यक्ष बन्धु कार्कीले सो सामग्री वितरण गरेका थिए भने ५ नम्बर वडा कार्यालयले एक÷एक बण्डल टिन राहत स्वरूप प्रदान गरेको छ ।































