१ महिनामै अलैंची निर्यात २१ प्रतिशतले बढ्यो

0
1176

काठमाडौं।

नेपालको प्रमुख नगदेबाली अलैंचीको निर्यात बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको ५ महिनाको तथ्याङ्कले अलैंचीको निर्यात बढेको देखाएको हो। विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७६र०७७ को साउनदेखि मङ्सिरसम्ममा २३ लाख १६ हजार ८ सय ८७ किलो अलैंची निर्यात भएको छ। सो अलैंची निर्यातबाट १ अर्ब ८६ करोड रूपैयाँ भित्रियो।

यो साउनदेखि कार्तिकसम्मको तुलनामा २१ प्रतिशतले बढी हो। साउनदेखि कार्तिकसम्ममा १९ लाख १३ हजार ५ सय ५७ किलो अलैंची विभिन्न देशमा निर्यात भएको छ। सो अलैंची निर्यातबाट १ अर्ब ५४ करोड रुपैयाँ भित्रियो।

अहिले विश्वमा अलैंचीको माग बढेकोले निर्यात राम्रो भएको अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए। ‘गत वर्षको स्टक अलैंची साउन भदौमा बढीे गएकाले पनि बढेको देखिएको हो’, उनले भने। निर्यात बढे पनि धेरै पानी परेर उत्पादनमा भने कमी आउने देखिएको उनी बताउँछन्।

‘अलैंचीमा लाग्ने फङ्गस रोगले उत्पादनमा ह्रास ल्याएको थियो। यसवर्ष पानी धेरै परेर कुहियो पनि। यसले गर्दा गत वर्षको तुलनामा १० प्रतिशतले उत्पादनमा कमी आउने सम्भावना देखिएको छ’, उनले भने। उनका अनुसार गत वर्ष ५ हजार ५ सय मेट्रिक टन अलैंची उत्पादन भएको थियो। नेपालमा १४ देखि १५ हजार हेक्टरमा अलैंचीको उत्पादन हुँदै आएको छ।

नेपाली अलैंची कतार, चीन, भारत र युएई जाने गरेको छ। त्यसमध्ये सबैभन्दा बढी नेपाली अलैंचीको बजार भारतले लिएको तथ्याङ्कले देखाएको छ। कुल उत्पादनको ९८ प्रतिशत हिस्सा विदेशी बजारले लिएको छ। स्वदेशमा भने २ प्रतिशत मात्र खपत हुने अध्यक्ष भट्टराई बताउँछन्।-नयाँपेज डटकमबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here