बुबा–आमाको महत्व नभुलौं

0
1725

दिपेन्द्र राउत,

एकजना साथीसँग गफिँदै जाँदा उहाँले सोध्नुभयो– तपाई आफ्नो बाबुआमालाई कतिको माया गर्नुहुन्छ ? र उहाँहरुलाई कतिको सम्झनु हुन्छ ? टाढा भए पनि वा तपाई आफ्नो बाबुआमाबाट टाढा भइरहँदा दिनमा एक पटक पनि फोन गरेर सोध्नुभएको छ ? बुवा, तपाईलाई कस्तो छ ?, आमा तपाईलाई कस्तो छ ? भनेर अथवा तपाई सँगै हुनुहुन्छ भने वा–आमा बुढा भए, बुढाबुढीको कुरा कति सुन्नु भन्ने लाग्न सक्छ ! बुढाबुढीको कुरा झिझो लाग्छ कति कचकच गर्छन्, कति कराउँछन् भन्ने समेत लाग्न सक्छ । यी बुढाबुढीले के जानेका छन् ? समयले कोल्टे फेरि सक्यो, समय कहाँ पुगी सक्यो । तर, यी बुढाबुढीहरु पुरानो कुरा गर्छन् भनेर आफ्नो बावुआमाको वाणीलाई नजर अन्दाज गर्नु त भएको छैन ?

तर, याद गर्नुहोस् जुन आज हामी शिर ठाडो बनाएर म यो हुँ मैले यो गरेको छु भन्ने जुन आँट हामी सन्तान भएर गरेका छौं नि त्यसमा बाबुआमाले कयौं रात अनिँदो बिताए होलान्, खुन पसिना बगाए होलान्, कयौं रात भोकभोकै सुते होलान्, कयौं रात आँशु पिएर सुते होलान् । यो कुरा बुझ्न जरुरी छ सबैले । तपाईलाई संसारमा सबैभन्दा बढी चिनेका छन् तपाईका बाबुआमाले । टंक बुढाथोकीको गीतमा बाबुआमा भनेका जिउँदा देउता हुन् भनेर भनिरहँदा के यो यथार्थ हो त भन्ने कुरा पनि लाग्न सक्ला र आज हरेक वृद्घआश्रममा गएर हेर्दा लाग्छ यो सब बकवास लाग्न सक्छ । तिमी जस्ती राम्री कोही छैन संसारमै, आमा जस्ती राम्री कोही छैन संसारमै भनेर भनिरहँदा हामीले आमा–बालाई राम्रो गर्न सकेका छौं त यो हरेक छोराछोरीले बुझ्न जरुरी छ । भनिन्छ, दुःखले मानिसलाई जोड्छ र सुखले मानिसलाई टाढा बनाउँछ । सायद हाम्रो समाजमा पनि यसको प्रभाव होला दुःखी बाबुआमा एक्लै रहेको हामीले पाउने गरेका छौं भने सुखी बाबुआमा विभिन्न देश–विदेशको भ्रमण गरेको समेत देख्ने गरेका छौं ।

एकजना अभिभावक भन्दै हुनुहुन्थ्यो– छोराले दशैंमा अष्ट्रेलिया बोलायो दशैं अष्ट्रेलियातिरै मनाउनु पर्यो धेरै आफन्त पनि उतै भएको कारणले गर्दा रमाइलो नै होला भनेर गयौं बुढाबुढी एक महिनाको बसाई पछि नेपाल फर्कयौं मलाई त एक महिना बस्नै गाह्रो भयो । अझ छोरोको त झन् विजोग देखेँ बाउ–छोरा कै भेट नहुने एउटै घरमा बसे पनि । मैले त छोरालाई पढाई सकिए लगत्तै नेपाल फर्किनु भन्दै आएको छु । विदेशमा छोराछोरी पठाउनु र अझ उतै बस्न थाले भने त एक्लो हुने रहेछन् । साथीभाइ, समाज र परिवार भन्ने कुरा नै नहुने रहेछ । बस काम, काम मात्र हुने रहेछ भन्दै उहाँले म सँग गफिँदा त्यो एउटा बाबुको पीडा थियो, एउटा बाबुको लाचारी पनि थियो । विदेश नजाने भन्ने मेरो कुरा होइन । तर, पढाई सकिएपछि स्वदेशमा नै फर्कनुपर्छ परिवार, समाज र देशका लागि केही गर्ने प्रण गर्नुपर्छ भन्दै बीच–बीचमा भावुक बनाउँदै गफिनुले मलाई भने हौसला मिलेको थियो ।

एउटा बाबु जसले अष्ट्रलिया बसेर पढ्दै गरेको छोराको दुःख देखेर नेपाल नै आइज, नेपालमा नै केही गर्नु भन्ने सल्लाह दिने बाबु, तर केही त्यस्तो छोराछोरी पनि होला जो अष्टे«लिया पुगरे पनि आफ्ना बाबुआमालाई भुल्छन् । अहिलेको समाज हेर्दा अचम्म लाग्छ । हरेक छोराछोरी आफ्नो बाबुबाट कुनै न कुनै रुपमा प्रभावित हुन्छन् । कुनै पनि छोराले आफ्नो बाबुलाई मुख्य रुपमा हेरेर वा अनुशरण गरेर नै मानिस बन्न सिक्छ । आफ्नो छोराको व्यक्तिगत विकासमा बुबाको प्रभाव प्रायः अदृश्य हुन्छ, तर वास्तविक हुन्छ । घरमा सँगै रहेका बा–आमालाई एउटा मिठाई नदिने , हाँसीखुसी नबोल्ने अनि मन्दिरमा गएर लड्डु चढाउनु पर्ने । बुहारीले सासु–ससुरा नमान्ने, बाचुञ्जेल राम्रो मुखले मिठो मसिनो खाना नदिने ! मुस्कानसहितको बोलीचाली नगर्ने ! नाति–नातिनालाई हजुरबा–हजुरआमासँग खेल्न समेत वञ्चित गराउने ! घरका मान्छे शत्रु ! बाहिरका मान्छे मित्रु ! बा–आमाको इज्जत नगर्ने ! बा–आमालाई अपहेलना गर्ने ! यो हाम्रो समाजको बा–आमा प्रतिको दृष्टिकोण बनिरहँदा, समाजमा आफू अब्बल बनिरहँदा छोराछोरी, बुहारीले गर्ने व्यवहार यस्तै हो त एकपटक सबैले सोचौं ।

बा–आमाको अथक मेहनत, भोकभोकै बसेर सन्तानलाई खुवाएको यथार्थता र सन्तालाई राम्रो शिक्षादिक्षाको लागि गरेको परिश्रमको परिणाम यस्तै हो त ! वृद्घ बा–आमालाई एउटा छोराले डोकोमा हालेर भिरबाट खसाल्न जान लाग्दा नातिले बुवा त्यो डोको चाहिँ नखसाल्नु है त्यो मलाई पनि चाहिन्छ लिएर आउनु भनेका दन्ते कथाहरु कथा नभएर साच्चै सत्य घटना नै हो कि भन्ने भान हुन सक्छ हाम्रो आजको समाज हेर्दा । जीवनमा सन्तान अर्कौ बनाउन सकिएला ! श्रीमती अर्कै ल्याउन सकिएला ! तर, जन्म दिने बा–आमा अकै बनाउन सकिँदैन सासु–ससुरा अर्कै बनाउन सकिँदैन । हामी जति शिक्षित भएता पनि हाम्रो मानसिकता शिक्षित बनाऔं । जिउँदा देउता भनेका बा–आमा हुन्, जिउँदो हुँदा नै सेवा र सम्मान गरौं मृत्युपरन्त अफसोच गरेर केही हुँदैन ।

नचिनेको मानिसलाई बाटोमा दुःख परेको देख्दा हाम्रो मन दुःखी हुन्छ भने आफूसँगै बसेका जिउँदा देउतालाई दुःखी कहिलै नबनाऔं । यो समाज हामी शिक्षित व्यक्तिको जमात हो हामी शिक्षित हौं भनेर भनिरहँदा मानिसिक रुपमा शिक्षित बनौं । जन्म पश्चात मानिस ठूलो यति कै हुँदैन बा–आमाले धेरै मेहनत र परिश्रमले छोराछोरीको लालनपालन गरेको हुन्छ । छोराछोरी नभइकन बाबुआमा बन्न सकिँदैन, बाबुआमा नभइकन छोराछोरी हुदैनन् । त्यसैले बा–आमालाई सम्मान गरौं, माया गरौं र असल सन्तानको धर्म निभाऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here