क्यान्सरपिडित गुरुङलाई प्रवासबाट आर्थिक सहयोग

0
574

ताप्लेजुङ।

विगत १ बर्षदेखि बोनम्यारो क्यान्सरपीडित फुङ्लिङ नगरपालिका–६ आहाले निवासी २७ बर्षीय गायक शम्भु गुरुङलाई प्रवासमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

गायक गुरुङलाई उनीहरुले ६८ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । नेपाली साझा मञ्च संस्थामा आवद्ध साउदीमा कार्यरत् सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउपालिका–१ का अकल प्रधान, ताप्लेजुङ फुङ्लिङ नगरपालिका निवासी निकेश गुरुङ, चन्द्रमणि गुरुङ, रवीन गुरुङ लगायतको समूहले क्यान्सरपीडित गुरुङलाई उक्त सहयोग गरेका हुन् ।

उक्त सहयोग रकम सञ्चारकर्मी सूर्य तमुले क्यान्सरपीडित गुरुङ र उनका बुबा दिपेन्द्रकुमार गुरुङलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा रेडियो तमोरका सञ्चारकर्मी तेन्जिङ पाङ्कर्मा सेर्पा, उज्यालो पत्रिकाका किस्मतकृष्ण फुरुम्बो, फक्ताङ्लङ दर्पण साप्ताहिकका अनिता पन्धाक लगायतले प्रवासीहरुले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

क्यान्सरपीडित गुरुङको गत पुस २४ गते वीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा शल्यक्रिया भएको थियो । उपचारका लागि करिब १८ लाख रुपैयाँ खर्च भइसकेको उनका बुबा दिपेन्द्रकुमार गुरुङले बताए । उनले उपचारका लागि नेपाल सरकारको मातहतबाट एक लाख रुपैयाँको औषधि निःशुल्क गरिएको र फुङ्लिङ नगरपालिकाले पाँच हजार रुर्पयाँ सहयोग गरेको र प्रवासी नेपालीहरुबाट पनि सहयोग प्राप्त भएको बताए ।

उनले दक्षिण कोरियाबाट चन्द्रमणि गुरुङ मार्फत नगद रु. एक लाख ३७ हजार रुपैयाँ, कतारबाट धनकुमार गुरुङ मार्फत ३७ हजार रुपैयाँ, मलेसियाबाट प्रबिन राई मार्फत ४० हजार रुपैयाँ सहयोग प्राप्त भएको बताए ।

त्यस्तै गुरुङका उपचारका लागि गाउँघरबाट सयकडा दुई रुपैयाँको ब्याजमा १३ लाख रुपैयाँ ऋण काढेर जुटाएको उनले बताए । क्यान्सरपीडित गुरुङलाई वीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरले रेफर गरेको हो । गुरुङ २०७६ साल पुस ८ गतेयता निजीनिवास ताप्लेजुङ फुङ्लिङमा रहेका छन् । उनको थप उपचारका निम्ति मासिक ८० हजार रुपैयाँ खर्च हुने गरेको र हाल आयुर्वेदिक औषधि पनि प्रयोग गर्दै आएको गुरुङले बताए ।

उनका बुबा दिपेन्द्रकुमारले छोराको उपचारमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । उनले छोरालाई सहयोग गर्न चाहनेले मोबाइल नम्बर ९८१७०६९२१० र ९७४२६३९३१४ मा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here