रामपुर नगरपालिकालाई छोएन भ्रमण वर्षले

0
585

बेझाड,

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउन लागिरहे पनि प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पाल्पाको रामपुर नगरपालिकामा भने भ्रमण वर्षलाई लक्षित गरी कुनै पनि कार्यक्रम शुरु भएको छैन ।

देशैभरि भ्रमण वर्षको रौनकता बढेका बेला रामपुर नगरपालिकाले भ्रमण वर्ष लक्षित गरी कुनै पनि कार्यक्रम अगाडि बढाएको पाइदैन । लुम्बिनी र पोखराको बीच भागमा रहेको रामपुरमा धेरै पर्यटक भित्र्याउन सकिने सम्भावना छ । भ्रमण वर्ष मनाउने योजना रहेपनि पर्यटकका लागि अहिलेसम्म कुनै पनि विशेष कार्यक्रम भने नगरिएको नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपाने बताउनुहुन्छ ।

“रामपुरमा प्रशस्त पर्यटकीयस्थल छन्, भ्रमण वर्षलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्न सकियो भने लुम्बिनी, पोखरा आएका पर्यटक रामपुरमा आउनेछन्” प्रवक्ता न्यौपानेले भन्नुभयो । सदरमुकाम तानसेनदेखि करीब ६५ किलोमिटर पूर्वको दूरीमा रामपुर उपत्यकामा अवस्थित छ ।

रामपुर भएर देशकै गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालन भइरहेको छ । उत्तरतर्फ सलल बग्दै गरेको कालीगण्डकी, समथर भू–भाग, डाडाँकाँडाको बीचमा पर्ने सुन्दर शहरको रूपमा रहेको छ रामपुर । रामपुर नगरपालिकाभित्र ऐतिहासिक तथा पर्यटकीय, धार्मिक तीर्थस्थल प्रशस्त छन् ।

यहाँ कास्की पोखराको फेवातालको झझल्को दिने तालपोखरा, रामघाट, राममन्दिर, सीताकुण्ड, टापुधाम, राम्चेबन, सिद्धबाबा मन्दिर, बाहुनडाँडा, खैरेनी सामुदायिक वन, रामकुवा, तातोपानी घाटलगायतका महत्वपूर्ण क्षेत्र छन् । रामपुर नगरपालिकाले प्रशस्त पर्यटकीयस्थल, विभिन्न जातजाति, भाषाभाषी, कला संस्कृति र रहनसहन रीतिरिवाजले भरिपूर्ण रहेपनि भ्रमण वर्षलाई लक्षित गरी कुनैपनि योजना नल्याएको उद्योग वाणिज्य सङ्घ रामपुरका उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठ बताउनुहुन्छ ।

“भ्रमण वर्षमा धेरै भन्दा धेरै बाह्य पर्यटक रामपुर भित्र्याउन सकियो भने यो क्षेत्रको विकास हुनेछ, भ्रमण वर्ष लक्षित गरेर उद्योग वाणिज्य सङ्घले पनि विभिन्न कार्यक्रम गर्ने योजना छ” श्रेष्ठले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here