धर्ममा देखिएका विकृति हटाऔं

0
592

अमृत योङहाङ,

मानिस सामाजिक प्राणी हो । समाजको निश्चित मूल्य, मान्यता र परिधिभित्र रहेर बाँच्ने भएकोले नै मानिसहरुलाई सामाजिक प्राणी भनिएको हो । समाजलाई सही मार्गमा डो¥याउन विभिन्न कालखण्डमा युग पुरुषहरुको जन्म हुन्छ । तीनै युग पुरुषहरुले मानिसहरुलाई अनुशासित बनाई निश्चित मूल्य–मान्यतामा बाँच्न विभिन्न नियमहरु बनाउँछन् । तीनै जीवन र जगतको सम्बन्धमा बनाइएको सामाजिक नियमहरु दर्शनको रुपमा प्रतिपादित हुन्छन् र कालान्तरमा धर्मको रुपमा रुपान्तरण हुन्छन् । यस अर्थमा धर्मले मानिसलाई सतमार्गमा डो¥याउँछ । एउटा सभ्य र असल समाजको लागि धर्म अपरिहार्य शर्त बन्दछ ।

समाजमा प्रचलित संस्कृति, परम्पराहरु धर्मले नै डो¥याई रहेको हुन्छ । ती परम्परा संस्कृतिहरु कुनै जाति समुदाय विशेषको पहिचानको रुपमा रहेको हुन्छ । त्यही पहिचानको धरोहरको रुपमा मानिएको कतिपय संस्कृतिहरु विकृतिको रुपमा रहे पनि त्यसलाई धर्मको नामले मानिसहरु सहज रुपमा स्वीकार गरि रहेका हुन्छन् । उदाहरणको लागि आधुनिक पाश्चात्य संस्कृति अनुसारको छोटो वस्त्रधारण गर्ने युवा–युवतीहरु देख्दा जिब्रो टोक्ने हाम्रो समाज पशुपतिमा नांगा बाबाको नाममा यौनांग प्रदर्शन गर्ने साधुसन्तहरुको हर्कतमा अश्लिलता देख्दैन । विभत्स पशु हत्या गरेर मनाइने १२ बर्षे गढीमाई मेला होस् वा कूल पूजाको नामा पशु वली चढाई रगतको होली खेल्दै देवत्व मान्ने कर्म होस् हाम्रो समाजले त्यसमा हिंसा देख्दैन । किनभने यस्ता संस्कृति परम्पराहरुमा धर्मको नामले समाज अन्धो बनेको हुन्छ ।

मानिसहरुले आस्थाको केन्द्रको रुपमा मन्दिर, मस्जिद, माङ्हिम, चर्च तथा गुम्बाहरु बनाएका हुन्छन् । ती आस्थाका केन्द्रहरुमा आ–आफ्नै तरिकाले ईश्वरको स्तुति भजन गाइन्छ । विशेषगरी हिन्दूधर्म दर्शनका कतिपय भजन गीतहरुमा समाजलाई गलत सन्देश दिनेखालका पनि हुन्छन् । त्यसलाई हाम्रो समाजले सहज तरिकाले लिइरहेको हामी पाउँछौं । उदाहरणको लागि ईश्वरको स्तुति गर्दा राम्रो उपमा वा विशेषता दिएर पुकार्नु पर्नेमा भगवान कृष्ण सम्बन्धी भजन गीतहरुमा कृष्णकाले, दही मखन चोर, गोपीनी खेलाउने, गोपिनीहरुको वस्त्र लुकाउने त्यस्तै भगवान शिवजीको भजनमा भाङ, धतुरो खाने, खरानी घस्ने, गजडी जस्ता शब्दहरु प्रयोग गरेको पाइन्छ । त्यसैगरी मन्दिर मस्जिद आदिमा बजाइने भजन आदिले एकातिर ध्वनि प्रदुषण गरिरहेको हुन्छ भने अर्कोतर्फ समाजमा अनेकौ जातजाति, धर्म सम्प्रदायका मानिसहरु बस्छन् ।

ती सबैलाई कुनै जाति वा धर्म विशेषको सबै कुरा मन पर्छ भन्ने हुँदैन । त्यस्तै छरछिमेकमा कोही विरामी परिरहेको हुन्छ, कसैकोमा मरीमराउ भएको हुन्छ, विद्यार्थीहरु परीक्षाको तयारी गरिरहेका हुन्छन् । यी सब कुरालाई वास्तै नगरी पुराणको नाममा घन्काइने गगनभेदी आवाजहरु, मन्दिरमा बेलुकी अवेरसम्मा र बिहान सबेरैदेखि कोसौ टाढासम्म थर्किने गरी बजाइने भजन गीतहरु धार्मिक आडम्बर मात्र हुन् । किनकि श्रवण गर्न इच्छुक भक्तहरु सम्बन्धित स्थान विशेषमा उपस्थित भएर सुनिहाल्छन् वा घरैमा सुन्ने व्यवस्था गर्न सकिहाल्छन् नी । चारैतिर माइकको फुँदो फर्काएर हो हल्ला गरिरहनु जरुरत् नै छैन । यसता आडम्बरलाई पनि हामी स्वीकार गरिरहेका हुन्छौं किनकि धर्मको नाममा हाम्रो समाज बहिरो छ ।

समाजमा यस्ता यावत कुराहरु जो धर्म र परम्पराको नाममा व्याप्त छन् जसलाई हामि हाम्रो संस्कृति भनेर संरक्षण गरिरहेका छौं ती सबै संस्कृति नभएर विकृति पनि छन् । तर, विकृति हो भनेर बोल्न सक्ने हाम्रो साहस छैन । किनभने त्यसमा धर्म जोडिएको हुन्छ, धर्म भन्ने बित्तिकै हाम्रो समाज लाटो हुन्छ, लाटो बोल्न सक्तैन ।

त्यसकारण माथि पूर्वाधमा भनिए झैं धर्म समाजको लागि अपरिहार्य सर्त हो । यसलाई संस्कृति परम्पराको रुपमा परिस्थितिजन्य, समयानुकूल परिस्कृत परिमार्जित गर्दै यसमा कतैबाट पनि औंलो ठड्याउन नपाउने गरी संरक्षण गर्दै जानुपर्छ । कुनै पनि कोणबाट जबरजस्त थोपर्ने नियत राखियो भने धर्मको नाममा कलंक मात्र हुन्छ । यस्तो हुनबाट बचाउन हाम्रो धर्म–संस्कृति र परम्पराहरुमा भएका विकृति–विसंगतिहरुकाविरुद्धमा बोल्न सक्नुपर्छ, आवाज बुलन्द गर्न सक्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here