झापामा ‘टाइम कार्ड’

0
1153

बिर्तामोड।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी दुर्घटना न्यूनीकरण गर्न ‘टाइम कार्ड’ लागू गर्ने भएको छ ।

यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरीको आपसी समझादारीमा टाइम कार्ड लागू गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए ।

आइतवारबाट पूर्वपश्चिम राजमार्गमा गुड्ने ठूला सवारी साधनमा’ टाइम कार्ड लागू गर्छाैं– प्रहरी निरीक्षक अधिकारीले भने– दुर्घटना न्यूनीकरणको पहिलो चरण ‘टाइम कार्ड’ हो । दुर्घटना न्यूनीकरणको पहिलो चरण प्रभावकारी नभए टाइम कार्डसँगै जोर–विजोर प्रणाली समेत लागू गर्छाैं । जसका लागि यातायात व्यवसायीसंग छलफल भएको छ ।’

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले समेत झापामा सवारी दुर्घटनालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । समाजमा शान्ति सुरक्षा कायम गर्दै दुर्घटना न्यूनीकरण गर्न मेरो भूमिका महत्वपूर्ण रहन्छ– कोइरालाले भने– राजमार्गमा सञ्चालित सबै सवारीमा अब फ्रन्ट क्यामेरा समेत जडान गर्न लगाउँछौं ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अधिकारीले सवै ठूला सवारीमा फ्रन्ट क्यामेरा जडानका लागि यातायात व्यवसायीसंग कुरा गरिसकेको बताउँदै पहिलो चरणमा ‘टाइम कार्ड’ लागू गरिने र दोस्रो तेस्रो चरणमा सवारीमा फ्रन्ट क्यामेरा, जोर– विजोर प्रणाली लागू गरिने बताए । उनले भने– आइतवारबाटै ‘टाइम कार्ड’ को व्यवस्था गर्छाैं, जसले गर्दा दुर्घटना न्यूनीकरणमा सहज हुने हामीले अपेक्षा गरेका छौं ।

५५ किलोमिटर दुरी पार गर्न सवारीलाई डेढ घण्टाको टाइम कार्ड प्रदान गरिने प्रहरी निरीक्षक अधिकारीले बताए । उनले भने– ‘काँकरभिट्टाबाट छुटेको बस बिर्तामोडसम्म आइपुग्न ३० मिनेट र बिर्तामोडबाट छुटेको बस तारावारी ढाट पुग्न एक घण्टाको समय दिइने छ ।’

‘टाइम कार्ड’ लागू गरिएसँगै तीव्र गतिमा हुइँकिने सवारी आफैं नियन्त्रित हुने अधिकारीको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि ¥याडरगनको प्रयोग, मादक पदार्थ सेवन गरेर सवारी चलाउन पूर्ण रुपमा रोक, सवारी चालक अनुमति पत्र नहुनेलाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाए पनि त्यसले मात्र पर्याप्त नभएपछि सवारी दुर्घटनाका लागि ‘टाइम कार्ड’ लागू गर्न लागिएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ ।

चालू आर्थिक वर्षको साउन महिना यता सवारी दुर्घटनामा परी झापामा ३९ जनाले ज्यान गुमाएका छन् । पूर्वको सीमाना काँकरभिट्टादेखि पश्चिमको सीमाना मावा खोलासम्मको ५५ किलोमिटर क्षेत्रफल र सहायक सडक–खण्डमा भएका सवारी दुर्घटनामा परी दुई सय जना भन्दा बढी घाइते भए । घाइते मध्ये केही घर फर्किए । अहिले पनि धेरै दुर्घटनाका घाइते अस्पतालमा उपचाररत् छन् । उपचारमा रहेकामध्ये अधिकांश अहिले मृत्यु शैय्यामा छट्पटाइरहेका छन् ।

यो अवधिमा जिल्लामा १४ वटा बस, २७ वटा ट्रक, २५ वटा जिपकार, ७९ वटा मोटरसाइकल, २ वटा टेक्टर, १६ वटा टेम्पो, २१ वटा साना सवारी, र एउटा अन्य गरी २०३ वटा सवारी दुर्घटनामा परे । दुर्घटनामा परेका मध्ये २८ जना पुरुषको मृत्यु भयो ।

९ महिला सहित दुई बालबालिकाले सडक दुर्घटनामा ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष २०७५÷०७६मा ३४८ वटा सवारी दुर्घटना हुँदा ८५ जनाले ज्यान गुमाएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटनामा कमी आएको र मृत्यु दर घटे पनि बढ्दो सवारीको चापका कारण दुर्घटनाको जोखिम झापामा उच्च छ ।

दिन प्रतिदिन सवारी साधन थपिँदै जानु र सडक विस्तार नहुनुले दुर्घटनाको जोखिम उच्च रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अधिकारी बताउँछन् । उनी भन्छन्– हरेक वर्ष सवारी साधन थपिने क्रम बढ्दो छ, सडकको दुरावस्था छ, जसका कारण झापामा दुर्घटनाको जोखिम बढ्दो छ ।

४३७ सवारीको ह्वील लक

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जथाभावी रुपमा पार्किङ गरिएका सवारी साधनलाई कारवाही गर्ने क्रम तीव्र बनाएको छ ।

विशेष गरी शहरी क्षेत्रमा अव्यवस्थित रुपमा पार्किङ गरिएका सवारीलाई ह्वील लक लगाउँदै कारवाही गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए । उनले भने– अहिलेसम्म शहरी क्षेत्रमा जथाभावी पार्किङ गरिएका ४३७ वटा सवारीमा ह्वील लक गरियो ।

तीव्र गतिमा गुड्ने ९८९ सवारी कारवाहीमा

निश्चित मापदण्डभन्दा तीव्र गतिमा सवारी चलाउने चालकलाई समेत प्रहरीले कारवाही तीव्र पारेको छ । साउन यता छ महिनाको अवधिमा ट्राफिक प्रहरीले ९८९ सवारीलाई कारवाही गर्दै ४१ हजार ९ सय २३ जनालाई प्रशिक्षण प्रदान गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

त्यस्तै सवारी चालक अनुमति पत्र नलिइ र नबोकी सवारी चलाउने एक हजार ५ सय २७ जना चालक कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । त्यस्तै मादक पदार्थ सेवन गर्दै सवारी चलाउने २ हजार ४ सय ७० जना सवारी चालक कारवाहीमा परेका छन् ।

कारवाहीमा पर्नेमध्ये केही महिला समेत रहेको प्रहरीले जनाएको छ । चालू आर्थिक वर्षको ६ महिनामा ३१ हजार ६ सय १० सवारी र चालकलाई कसुर अनुसारको कारवाही गर्दा ट्राफिक प्रहरीले दुई करोड ३४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७५÷०७६मा ट्राफिक प्रहरीले चार करोड २० लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here