सौर्यबाट विद्युत् उत्पादन

0
510

दमौली,

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त सहितको टोलीले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सोलार फार्म प्रालिको अवलोकन गरेको छ । सोलारबाट विद्युत् उत्पादन गर्न स्थापना गरिएको कम्पनीको अवलोकन गर्दै सङ्घका अध्यक्ष पन्तले हालसम्मको प्रगतिबारे जानकारी लिनुभएको छ ।

सो अवसरमा प्रालिका अध्यक्ष मोहन गुरुङ, सञ्चालक एलएन पाण्डे र शङ्करजङ्ग गुरुङले उक्त परियोजनाबारे जानकारी गराउनुभएको थियो । करीब रु ५० करोडको लगानी रहेको सो योजनाबाट पाँच मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजनाबाट वार्षिक ९० लाख युनिट विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद गर्नेछ, जसका लागि प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भइसकेको छ ।

फार्ममा प्यानल जडानको कामलाई अगाडि बढाइएको व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी चैतसम्म सोलारबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सोलारबाट उत्पादित विद्युत्लाई ग्रिड प्रणालीबाट राष्ट्रिय प्रसारणमा जोडिनेछ । सोलार फार्ममा मुख्य लगानी गैरआवासीय नेपालीको रहेको छ भने २५ प्रतिशत स्थानीयवासीको शेयर छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा विसं २०७३ मा दर्ता भई ऊर्जा मन्त्रालयबाट विसं २०७५ मा अनुमति प्राप्त कम्पनीले भानुभक्त क्याम्पसको एक सय रोपनी जग्गा २५ वर्षका लागि वार्षिक रु १३ लाख भाडामा लिएको छ ।

सोलार विद्युत् खरिदका लागि नेपालमै पहिलोपटक प्राधिकरणसँग पिपिए सम्झौता भएको थियो । प्राधिकरणसँग प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले २५ वर्षसम्म विद्युत् खरिद गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here