बिर्तामोडका युवकको दुहवीमा हत्या

0
627

बिर्तामोड।

मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केशलिया खोला किनारमा झापा बिर्तामोडका एक युवकको हत्या गरी फालेको अवस्थामा शव फेला परेको छ ।

केशलिया खोला किनार नजिकै रहेको बाँसघारीमा विभत्स अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । बिर्तामोड घर भएका २० वर्षीय अभिषेक कटुवालको हत्या भएको प्रहरीले जनाएको छ । उनी माघ ९ गते घुम्न भन्दै मे१०प ८६७५ नम्बरको स्कुटरचढेर घरबाट निस्किएका थिए ।

उनको शव विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहबी नगरपालिका–१२ सीमाना भएर बग्ने केशलिया खोला किनार नजिकै बालुवा र परालले पुरेको अवस्थामा भेटिएको थियो । प्रहरी स्रोतले युवकको बिराटनगर महानगरपालिका–४मा हत्या गरी केशलिया खोलापारि फालेको हुनसक्ने बताएको छ । तर, उनको कहिले हत्या भएको हो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार कटुवाल आमासँग मामा घरमा बस्दै आएका थिए । चाँडै फर्कने भन्दै घरबाट निस्किएका उनी चार दिनसम्म नफर्किएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको थियो । सम्पर्कविहीन भएपछि आमा तारा कटुवालले छोराको हुलियासहित खोजतलासका लागि सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएकी थिइन् ।

सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले युवकको पहिचान खुलेको र अनुसन्धान शुरु गरेको जनाएका छन् । उनले प्रयोग गरेको सवारी हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here