स्वस्थानी व्रतकथाको सार र शिक्षा

0
1043

रत्नबहादुर बस्नेत,

हिन्दू समाजमा लोकप्रिय स्वस्थानी व्रत पौषशुक्ल पूर्णिमादेखि आरम्भ भई माघशुक्ल पूर्णिमाका दिन समापन हुने गर्दछ । जुन यस वर्ष पुस २५ गतेबाट शुरु भई माघ २६ मा समापन हुनेछ । यो व्रत शिशिर ऋतुको जाडो (पुस माघको चिसो)मा शरीरको सरसफाई गर्न र मानसिक एकाग्रताका लागि सफल मानिन्छ ।

‘स्व’ र ‘स्थान’मा ‘ई’ प्रत्यय लागेर बनेको स्वस्थानी शब्दको अर्थ आफ्नो स्थानमा बस्ने देवी (शक्तिस्वरुपा) भन्ने हुन्छ । ‘स्व’ को अर्थ आफू भएकाले आफू अनुशासन, मर्यादामा बस्नु अनि ‘स्व’ भनेको आत्मा पनि भएकाले आफूलाई चिन्नु नै स्वस्थानीको सन्देश हो । स्वस्थान वा आफ्नो थान्कोमा बस्न सिकाउने प्रेरक कथा प्रसङ्ग प्रशस्त स्वस्थानीमा पाइने तथा आत्मस्वरुपको बोध गर्न चेतना जागृत गर्नु स्वस्थानी कथाको उद्देश्य भए पनि आजभोलि व्रत र कथामा सीमित हुँदैगएको पाइन्छ ।

स्वस्थानी व्रतका अवसरमा व्रतावधिभर वाचन, श्रवण, पाठ गरिने श्री स्वस्थानी व्रत कथाको ब्याख्या विष्लेषण आ–आफ्नै तरिकाले गरिएको पाइन्छ । यसका कतिपय विषयमा अनेक तर्क र बहस गर्ने गरिएको छ र यो वर्तमान सन्दर्भमा अनुपयोगी र बेकाम्मे भइसकेको ठान्ने गरिएको समेत मिडिया र पत्रपत्रिकाहरुमा देखिन्छ । तर, स्वस्थानी व्रत कथाका विषयवस्तु र कथा प्रसङ्ग मनन गरे मात्र त्यसको वास्तविक अर्थ बोध हुन्छ, यथार्थ ज्ञान प्राप्त गर्न सकिन्छ । कतिपय कथा प्रसङ्ग तथा घटनाक्रममा लाग्ने गरेको आरोप तथा आलोचनाबारे स्पष्ट हुन जरुरी छ ।

७० वर्षीय वृद्धसँग ७ वर्षीय कन्याको विवाह (सात वर्षकी गोमासँग सत्तरी वर्षका शिव शर्माको विवाह):

स्वर्ग, मत्र्य र पाताल तीनै लोकको कथावस्तु समेटिएको स्वस्थानी व्रत कथामा मुख्य पात्रको रुपमा रहेकी गोमा ब्राह्मणीको विवाह सात वर्षको उमेरमा ७० वर्षीय शिव शर्मासँग भएको प्रसंग छ । स्वस्थानी व्रत कथाको सबैभन्दा बढी आलोचित विषय हो यो । जसको नारी जीवनको विरुद्ध भएको भन्दै विरोध गर्ने गरिएको छ । तर, कथा र पात्रमा मात्र ध्यान दिएर त्यस्तै बन्ने नभई कथाको सार र शिक्षा ग्रहण गर्नु कुनै पनि कथाको उद्देश्य हुन्छ । शास्त्र वा कथाले कतै पनि ७ वर्षकी कन्याको विवाह सत्तरी वर्षको वृद्धसँग गर्नुपर्छ भनेको छैन । बरु अनमेल विवाहबाट आइपर्ने दुःख देखाइएको छ । वालविवाहको प्रचलन त्यसताका (प्राचीन समयमा) रहेको संकेत गरेको छ ।

यहाँ बुझ्नुपर्ने कुरा के छ भने शिव शर्मा भगवान् शिवको रुप हो । परमात्मा शिव अजन्मा (नजन्मने), नित्य (सधैं रहिरहने), अमर (नमर्ने) र अजर (कहिले बूढो नहुने) हुनुहुन्छ । भगवानले जे–जस्तो लीला गर्नुहुन्छ सबै मनुष्यको कल्याणको लागि गर्नुहुन्छ । बाह्यरुप जस्तो देखिए पनि उहाँको भित्री स्वरुप सच्चिदानन्द (सत्य, चैतन्य र आनन्द) नै हुनुहुन्छ । दुःखरुप हुने कुरै आउँदैन । जसरी भगवान् कृष्णले बाहिर शिशुरुपमा बाललीला गरे पनि परब्रह्मस्वरुप नै हुनुहुन्थ्यो । त्यसरी नै भगवान् शिव बाहिर बृद्ध (शिव शर्माको बूढो रुपमा) लीला गरे पनि परब्रह्म स्वरुप नै हुनुहुन्थ्यो भनेर विद्वानहरुले बताएका छन् । यहाँ के शिक्षा दिनका लागि हो त्यसलाई हेर्नुपर्छ ।

महिलाप्रति विभेद :

स्वस्थानी व्रत कथामा व्रत विधिका सम्बन्धमा पान, सुपारी, अक्षता, फलफूल, सेलरोटी आदि प्रत्येक एक सय आठका दरले अर्पण गरी पूजा समापनपछि त्यसमध्ये उक्त सबैथोक सयरसयका दरले व्रतले ग्रहण गर्ने र बाँकी आठ–आठका दरले छुट्याई पतिलाई दिने, पति नभए छोरालाई दिने, छोरा नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो कामना पुराहोस् भनी गंगामा बगाइदिनु भन्ने उल्लेख छ । यसै आधारमा स्वस्थानीमा छोरी वा महिलाप्रति विभेद गरिएको भन्ने आरोप लाग्ने गरेको छ ।

यहाँ के बुझ्न जरुरी छ भने स्वस्थानी व्रतकथा मात्र होइन सबै धार्मिक ग्रन्थहरुका सबै प्रसङ्गमा पुलिङ वा पुरुष शब्द (जुन पुरुषले जस्तो भावले कार्य गर्दछ त्यसले त्यस्तै फल प्राप्त गर्दछ आदि भनेर) प्रयोग गरिएको छ । शास्त्र निर्देशित कुनै पनि धार्मिक अनुष्ठान वा कर्म गर्दा स्त्री पुरुष दुबैलाई एउटै फलको प्राप्ति हुने भएकाले दुबै उल्लेख गरिरहन नपर्ने बताइएको छ । जसरी वर्तमान समयमा लौकिक प्रसङ्गमा पनि विभिन्न पद वा पेशाका सन्दर्भमा एकै शब्दले (जस्तै कवि वा शिक्षक भन्नाले) महिला–पुरुष दुवैलाई बुझाउँछ, शिक्षिका आदि भनिरहन पर्दैन, त्यसरी नै यहाँ एकै शब्द दुबै अर्थमा प्रयोग भएको हो । छोरा र छोरी एकै अर्थमा लिइएको हो विभेद गरिएको होइन ।

महिलाको अपहेलना र उपेक्षा :

स्वस्थानीमा स्त्री पात्रका माध्यमबाट महिलाहरुको अपमान र अपहेलना गरिएको छ भनेर नारीवादीहरुले यसको विरोध गर्ने गरेको देखिन्छ । उनीहरुले सतीदेवी, गोमा, वृन्दा, चन्द्रावती जस्ता पात्रहरुलाई अनाहकमा दुःख दिएको उदाहरण दिने गरेका पनि छन् । कथाको एक प्रसङ्गमा वृद्ध भिक्षुकरुप महादेवले विवाहपछि दरिद्रतायुक्त अवस्थामा सतीदेवीलाई क्रोधपूर्ण व्यवहार गरेको देखाइएको छ । जुन झट्ट हेर्दा महिलाहिंसा वा दुव्र्यवहार जस्तो देखिनु स्वभाविक छ ।

यो प्रसङ्ग मनुष्यलोकका मतिभ्रष्ट दुराचारी पुरुषले मादकपदार्थ सेवन गरेर पत्नीलाई निर्दयतापूर्वक कुटपिट गरेर महिला हिंसा गरे जस्तो होइनस बरु महादेवले सतीदेवीको सहनशीलता परीक्षण गर्न नक्कली रिस प्रदर्शन गर्दै सो आचरण प्रकट गरेको विद्वानहरुले उल्लेख गरेका छन् । यसबाट मानिसले जस्तोसुकै दुःख र प्रतिकूल अवस्थामा पनि सहनशील बन्न सक्दा सुख प्राप्त गर्न सकिन्छ वा विवाहपश्चात् तत्काल उत्पन्न हुनसक्ने कठिनाई र असहज अवस्था सहन गर्न सके सुख प्राप्त गर्न गाह्रो हुँदैन भन्ने शिक्षा दिन खोजिएको छ ।

त्यस्तै चन्द्रावतीले पाएको दुःख अहंकार वश इश्वरीय शक्तिको अनादर वा अपहेलना गर्दा तथा कर्तव्य निर्वाहमा भएको कमीको परिणामको रुपमा लिन सकिन्छ । दुःखमा परेकी आफ्नी सासूको संरक्षणको जिम्मेवारी चटक्क भुलेर माइतमा बसिरहेकी चन्द्रवती पति नवराज राजा भएपछि उनलाई भेट्न लावण्य देशतर्फ जाने क्रममा बाटोमा डोलेहरुबाट केही ढिलाई हुँदा इश्वरीय शक्ति र पूजाको प्रसाद समेतको अनादर तथा निन्दा गर्दै तुच्छ एवम् निकृष्ट व्यवहार प्रदर्शन गरेपछि अनिष्ठ परिणाम र विपत्ति भोग्नुपरेको र पछि दुःखदायी अवस्थामा पापको प्राश्चित गरी स्वस्थानी देवीप्रतिको समर्पणयुक्त पूजाबाट उद्धार भई रानी बनेको संयोगात्मक कथा प्रसङ्ग छ । कसैको आस्था विश्वास वा धार्मिक आस्थाप्रति अनादर गरेर चोट पु¥याउने कार्य गर्नु उचित हुँदैन भन्ने संकेत यस प्रसङ्गले गरेको छ । इच्छा अनुसार धर्म मान्ने अधिकार सबैलाई भए पनि राज्यशक्तिको आडमा कसैप्रति वा अरुको धर्मप्रति घृष्णा, द्वैष, अनादर, अपमान हुने कार्य कसैले पनि गर्न हुन्न, यदि गरिन्छ भने त्यसको परिणाम कष्टदायी हुन्छ भन्ने सन्देश चन्द्रावती पात्रको माध्यमबाट दिन खोजिएको हो भन्न सकिन्छ ।

स्वस्थानीको अर्को एक प्रसङ्गमा एकपटक जालन्धरले आफ्नी पत्नी वृन्दाको रुप माधुर्यको प्रशंसा गर्दा शिव पत्नी पार्वतीको रुप अझ सुन्दर भएको वृन्दाले बताएपछि जालन्धरमा परस्त्रीप्रतिको कुदृष्टिरुपी पाप बढेको देखिन्छ । त्यसपश्चात् जालन्धर वृन्दाको सहमतिमा पार्वतीको रुपमा आशक्त भई छल गर्न गएको प्रसङ्ग छ । यहाँ वृन्दाको चरित्र नारीधर्म विपरीत रहेको स्पष्ट छ । धर्मपत्नी वा सहधर्मिणीको कर्तव्य पतिलाई नकारात्मक विचारबाट रोकेर सकारात्मक विचार वा धर्मप्रति प्रेरित गर्नुपर्ने हो, जसबाट वृन्दा चुकेको पाइन्छ । अतः वृन्दाको सतीत्व हरण पतिलाई खराब कर्मप्रति उक्साउनुको परिणाम हो ।

यसरी जालन्धर वधको प्रसङ्गले जालन्धर दानव मात्र होइन देवता (भगवान् विष्णु) नै भए पनि अर्काकी पत्नीप्रति कुदृष्टि राख्नेले दण्ड सजाय भोग्नैपर्छ भन्ने शिक्षा दिइएको छ । जहाँ भगवान् विष्णु पाँच दिनसम्म कोठामा थुनिनु परेको र वृन्दाको श्रापद्वारा वृक्ष, पत्थरादि जडरुमा रहनु परेको थियो । विभिन्न ढंगले छद्मभेषधारी दुर्जनले प्रलोभनमा पारेर महिलाहरुको अस्मिता लुट्न उद्दत रहनेहरुबाट सचेत रहनुपर्ने शिक्षा पनि यसबाट लिन सकिन्छ । पतिपत्नी दुबैको सहकार्यमा सम्पन्न हुने धर्मकार्यको महत्व अधिक रहने र एकअर्काले गरेको पापपुण्यको भागी दुबै दम्पत्ति हुनुपर्ने पूर्वीय दर्शनको मान्यता अनुसार यस घटनाक्रम अघि बढेको देखिन्छ ।

लिंग पूजा गर्नु :

कतिपयले शिवपूजनको क्रममा लिंग पूजा गरे पनि योनी पूजा भने कहीँकतै नगरिने र लिंग पूजा जस्तै योनी पूजा पनि गर्नुपर्ने तर्क गरेका छन् । स्वस्थानी व्रतका क्रममा नित्य मध्यान्हमा शिवको पूजा गर्ने विधान छ । यसैक्रममा शिवलिंग स्थापना गरिन्छ । शैव तीर्थस्थल वा शिव मन्दिरमा पनि शिवलिंग स्थापित छन् । यहाँ सर्वप्रथम लिंगको अर्थ बुझ्नु जरुरी छ ।

हाम्रो समाजमा शिवलिंगको अर्थ गलतरुपमा लगाइएको पाइन्छ । संस्कृतमा लिंगको अर्थ स्वरुप, प्रतिक र लक्षण हुन्छ । नेपालीमा जनेन्द्रिय हुन्छ । शिवलिंग भन्नाले शिवस्वरुप भन्ने बुझिन्छ । शिवलिंगको अर्थ शिवको जनेन्द्रीय भनेर अर्थ लगाउनु गलत हुन्छ । भगवान् शिव स्वयम् ज्योतिर्लिंग स्वरुपमा प्रकट (अवतीर्ण) हुनुभएको शास्त्रमा पाइन्छ । तिनै मुख्य बाह्र ज्योतिर्लिंग मध्ये केदारनाथको शिरोभागको रुपमा शिवस्वरुप राष्ट्रदेव भगवान पशुपतिनाथलाई लिइन्छ । लिंग भनेको शरीरको प्रजनन अंग विशेषको रुपमा मात्र बुझ्नु लघुदृष्टि हो । लिंगको वास्तविक अर्थ हो– प्रतिक वा चिन्ह । त्यसैले निराकार, निर्विकार, व्यापक पुरुषत्वको प्रतिक लिंग हो र अनन्त महाशक्ति प्रकृति नै जलहरी (योनी) हो । यसरी शिव र शक्तिको मिलन चिन्ह हो– शिवलिंग । शिव उपासनाका क्रममा स्थापना गरिने शिवलिंग (लिंग र जलहरी)ले शिव–पार्वतीको एकाकार स्वरुपको प्रतिनिधित्व गरेको छ ।

पुरुष वा पतिका लागि लिइने व्रत :

नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजमा लिइने व्रत होस् वा स्वस्थानी व्रतका क्रममा लिइने व्रतलाई लक्षित गर्दै पुरुष वा पतिले पत्नीका लागि कुनै व्रत नलिने, तर महिलाले भने पतिका लागि व्रत लिइरहनु पर्ने भनेर महिलावादीहरुले चर्को विरोध गरेको पनि पाइन्छ । शिवरात्री, रामनवमी, एकादशी आदि तिथी पर्वककत्सवहरुमा व्रत लिइने भए पनि नेपाली समाजमा स्वस्थानी वा तीजको व्रत महिलाले लिने व्रतकै रुपमा प्रशिद्ध छ । तर, व्रत चेतना जाग्रत गर्न वा आत्मबोधका लागि लिइनु पर्छ । त्यसैले व्रतको पालना महिला, पुरुष, पतिपत्नी दुबैका लागि आवश्यक छ, दुबैले लिनु उत्तम हुने बताइएको छ । यद्यपि श्रद्धा निष्ठाभाव पुरुषमा भन्दा महिलामा नै बढी भएका कारण प्रायः सबै धर्मानुष्ठानहरुमा महिलाहरुको सहभागिता नै अधिक रहेको अवस्था छ । जसबाट पारिवारिक सुव्यवस्था र सुख शान्ति लागि सहयोगी भूमिका रहन्छ नै ।

कुनै पनि व्रत आफ्नै लागि हो भन्ने स्वयम् व्रतीले जबसम्म बुझ्दैन तबसम्म उसले व्रतको वास्तविक लाभ प्राप्त गर्न सक्दैन । व्रत भनेको संकल्पपूर्वक नियममा बाँधिनु हो । नियम, निष्ठा, संयम, संकल्प, पवित्रताको पालनाबाट प्राप्त हुने पुण्यफलको भागी अरु नभई व्रती स्वयम् नै हो । श्रद्धापूर्ण व्रतपालनाबाट चित्तको दोष र दुर्बलता हटी दृढ विचार र संकल्प शक्ति प्राप्त हुन्छ, जसबाट सद्कर्म गरी सफलता हासिल गर्न सकिन्छ । पति वा परिवारमा व्रतादि कृत्यको प्रभाव पर्नु स्वभाविक छ । पति वा परिवारको सुख वा कल्याण स्वयम् पत्नीसँग जोडिएको हुन्छ । मूलतः पारिवारिक सुख समृद्धिमा आफ्नो सुख–शान्ति निहीत रहने भएकाले उदार बन्न सक्नु सबैको कर्तब्य र धर्म हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here