झापामा सशस्त्र प्रहरीकै जग्गा ‘अतिक्रमण’

0
1243

झापा ।

देशभर सार्वजनिक जग्गा अतिक्रमण बढ्दो रुपमा रहेको पाइएको छ । झापामा पनि सरकारी जग्गा अतिक्रमण गर्ने क्रम बढ्दै गएको खुलासा भएको छ ।

कमल गाँउपालिका–५ स्थित सशस्त्र प्रहरीको पाथीभरा जवान तालिम शिक्षालयको जग्गा समेत केही व्यक्तिले हडप्ने प्रयास गरेको सशस्त्र प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सुदीपजंग थापाले जानकारी दिए । रतुवामाई वृक्षरोपण आयोजनाको जग्गा सशस्त्र प्रहरीलाई भोगचलन अधिकारसहित २०५८ साल माघ ३० गतेको मन्त्रिपरिषद्को निर्णयबाट दिइएको थियो ।

करिब एक सय ५० विगाह क्षेत्रफल सशस्त्र प्रहरीलाई चारकिल्ला तोकेर वृक्षरोपण आयोजनाले प्रदान गरेको थियो । द्वन्द्वकालीन अवस्थामा पूर्वका जिल्लामा शान्ति सुरक्षा कायम राख्न सशस्त्र प्रहरीको गण स्थापना गरिएको थियो । सयौं बिगाह क्षेत्रफल सशस्त्रले पाए पनि सबै तिर भोगचलन नगर्दा विभिन्न भूमाफियाहरुले चलखेल गरेर उक्त जग्गा हडप्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

तत्कालीन अवस्थामा बाँझो जमिनमा खेतीबाली लगाउने भन्दै केही व्यक्तिले मागेको र उनीहरुलाई सशस्त्रलाई आवश्यक परेको खण्डमा छाड्ने मौखिक सहमतिमा उक्त जग्गामा खेती गर्न दिइए पनि अहिले भने सुकुम्बासी बस्ती झंै बस्ती नै बसेर जग्गा अतिक्रमणको क्रम तीब्र बनाएको प्रहरीले जनाएको छ । सुकुम्बासी आयोग तथा विभिन्न अभिलेखमा नाम समेत नभएका व्यक्तिहरुले आफूहरु सुकुम्बासी भएको र वर्षौदेखि उक्त जग्गा भोगचलन गरिरहेको भन्दै कब्जा जमाउन थाले पछि सशस्त्र प्रहरीले आफ्नो जग्गा खाली गर्न आग्रह गर्दै घर–टहरा भत्काउन शुरु गरेको छ ।

सशस्त्र प्रहरीको पाथीभरा जवान तालिम शिक्षालयका प्रहरी उपरीक्षक थापाले गत असारबाटै आफ्नो जग्गा खाली गर्न आग्रह गरे पनि कमल गाँउपालिका–५स्थित वडा कार्यालयमा दुवै पक्षबीच पुस मसान्तभित्र जग्गा खाली गर्ने लिखित सहमति भएपछि तत्कालीन अवस्थामा जग्गा खाली गर्ने क्रम रोकिएको थियो । तर, पुस मसान्तभित्र पनि सहमति कार्यान्वयन नभएपछि वडा कार्यालयले सूचना नै प्रकाशन गरेर ठाउँ खाली गर्न आग्रह गरेको थियो । त्यस लगत्तै सशस्त्र प्रहरीले टहरा हटाउन शुरु गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

मानवीय संवेदनशीलतालाई ख्यालमा राखेर मानिस बसेको घरटहरा नभत्काए पनि अब भने अटेर गर्नेलाई कानून बमोजिम कारबाहीको दायरामा ल्याउँदै घरटहरा भत्काइने प्रहरी उपरीक्षक थापाले जानकारी दिए । सशस्त्र प्रहरीले आफ्नो जग्गा खोजी गर्न थालेपछि जग्गा हडपेर बसेकाहरुले आफूहरु २०२६ सालबाटै त्यहाँ बस्दै आएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मुद्दामा एक सय १३ जनाले हस्ताक्षर गरेको पाइएको छ । यता गाउँपालिकामा भने एक सय १६ घर रहेको भन्दै उनीहरुले निवेदन दिएको खुलेको छ । सशस्त्र प्रहरीले नाम अध्यावधिक गर्दा २३ जनाको मिले पनि अधिकांशको नाम फरक परेको बताइएको छ ।

सुकुम्बासी आयोगमा नाम नहुनुले उनीहरु सुकम्वासी नै हो भन्नेमा शंका उब्जिएको स्रोतले जनाएको छ । वृक्षरोपण आयोजनाले सशस्त्रलाई जग्गा दिनु अघि वन रहेको हुनाले उक्त क्षेत्रमा बसोबास गरेको भन्ने विषय गलत भएको सशस्त्र प्रहरीको भनाइ छ । उक्त जग्गा आफूले सर्वोच्च अदालतमार्फत मुद्दामा जितेको र तत्काल नछाड्न भन्दै गोपीकृष्ण पोख्रेलले आग्रह गर्ने गरेको खुलासा भएको छ । पूर्वाञ्चलकर्मी स्थलगत रिर्पोटिङका क्रममा उक्त स्थानमा पुग्दा त्यहाँ बसोबास गरिरहेका व्यक्तिहरुले पोख्रेलले उक्त जग्गा आफ्नो दाबी गर्ने तर, अहिले सशस्त्रले हटाउन शुरु गरेपछि आफूहरु अन्यौलमा परेको बताएका छन् ।

पोख्रेल भारतमा बस्ने र उक्त जग्गा हडप्न सर्वोच्चमा बारेसनामा मार्फत २०७४ मा नै मुद्दा दर्ता गराएको पाइएको छ । सर्वोच्चले मालपोत कार्यालय दमकलाई वास्तविकता पठाउन आग्रह गरे पनि उक्त जग्गा पोख्रेलको भनेर मालपोतले समेत कुनै प्रमाण फेला पार्न नसकेको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिए । जग्गाको सम्बन्धमा पोख्रेलको खोजी गर्दा उनी यहाँ नभएको पाइएको प्रहरीले जनाएको छ । उक्त स्थानमा बसोबास गर्दै आएका नरपति चम्लागाँई, रोहित रेग्मी, गणेशबहादुर भण्डारी लगायतले आफूहरु जग्गा छाड्न तयार रहेको बताएका छन् । उनीहरुले आफ्नो बस्ने स्थानको व्यवस्था गरिदिए तत्काल जग्गा खाली गरिदिन मञ्जुर रहेको उल्लेख गरे ।

यता कमल गाउँपालिका–५का वडाध्यक्ष डम्बर निरौलाले भने उक्त जग्गा सशस्त्र प्रहरीकै भएको भन्दै त्यहाँ बस्न दिने–नदिने अधिकार सशस्त्र प्रहरीकै भएको बताए । उनले उक्त स्थानमा पाँचथर, भोजपुर, तेह्रथुम, झापाकै पनि विभिन्न स्थानमा बसोबास गर्दै व्यक्तिहरु रहेको पाइएको र उनीहरुको विषयमा सशस्त्रले गर्ने निर्णयमा आफूहरुले कुनै हस्तक्षेप नगर्ने उल्लेख गरे । उक्त जग्गा सशस्त्र प्रहरीकै भएको भन्नेमा सबै राजनीतिक दल एकमत भएको भन्दै प्रहरी उपरीक्षक थापाले आफ्नो जग्गा खाली गर्न शुरु गरेको बताए ।

प्रदेश–१ कै सबैभन्दा ठूलो तालिम केन्द्रको रुपमा रहेको पाथीभरा जवान तालिम शिक्षालयमा फायरिङ क्षेत्र, खेलमैदान तथा तालिमका लागि आवश्यक पर्ने जग्गामा मानिस बसेपछि समस्या उत्पन्न भएको पाइएको छ । सशस्त्र प्रहरीकै तालिम स्थल नजिकै घर निर्माण हुँदा केही वर्षअघि तालिमका क्रममा प्रहरीले फायरिङ गर्दा गोली लागेर एक व्यक्तिको मृत्यु समेत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here