झापामा १२% को रगतमा हात्तीपाइलेको किटाणु

0
952

झापा।

झापामा कूल जनसंख्याको १२ प्रतिशत व्यक्तिलाई हात्तीपाइले रोगको लक्षण फेला परेको एक तथ्यांकले देखाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले २०७५ सालमा झापामा गरेको सर्वेक्षणमा उक्त तथ्यांक फेला परेको हो ।

कूल जनसंख्याको १२ प्रतिशत व्यक्तिको रगत परीक्षण गर्दा रगतमा हात्तीपाइले रोगको किटाणु फेला परेको हो । विभागले एक सय जनामा १२ जना व्यक्तिको रगतमा हात्तीपाइले रोगकोे किटाणु भेटिएको जनाएको छ । यो रोग लागेको व्यक्तिको प्रतिशत शून्यमा झार्न सरकारले लाखौ रूपैयाँ खर्चिरहेको भए पनि नियन्त्रणमा आउन भने सकेको छैन ।

राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियान अन्तर्गत माघ २५ गतेदेखि १३ वटा जिल्लामा हात्तीपाइले रोगविरूद्व औषधि वितरण अभियान कार्यक्रम विधिवतरूपमा शुुुरू गर्दैछ । झापामा भने हात्तीपाइले रोगविरूद्वको अभियान नवौं पटक हो । यसैक्रममा झापाको गौरीगञ्जमा औषधि सेवन सचेतना गोष्ठी सम्पन्न भएको छ । औषधि वितरण कार्यक्रम यही माघ २५ गतेवाट विधिवतरुपमा उद्घाटन शुरू गर्नु पूर्व गौरीगञ्जको वार्ड नं. ३ र ६ मा वडास्तरीय गोष्ठी सम्पन्न भएको हो ।

गौरीगञ्ज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महतोको अध्यक्षतामा भएको कार्यक्रममा गौरीगञ्ज स्वास्थ्य शाखाका संयोजक रामचन्द्र मिश्रले सहजीकरण गरेका थिए । कार्यक्रमका सहजकर्ता मिश्रले हातेपाइले रोगको किटाणु भएको व्यक्तिले औषधि खाएपछि टाउको दुख्ने, रिङ्गाटा लाग्ने, पुरूषको अण्डकोष सुनिने, महिलाको स्तन सुनिने जस्ता असर देखा पर्ने बताएका थिए । सुत्केरी, गर्भवती महिला, २ वर्षमुनिका बालबालिका, ७० वर्ष माथिका व्यक्ति र दिर्घरोगीलाई यो औषधि खुवाउन नहुने स्वास्थ्य संयोजक मिश्रले जानकारी गराएका थिए । तीन पटकसम्म औषधि सेवन गरे यो रोगबाट सुरक्षित हुने उनले बताए ।

सन् २००३ देखि पर्सा जिल्लादेखि हात्तीपाइले रोगविरूद्व अभियान शुरू भएको हो । झापामा नवौं पटक औषधि खुवाइँदैछ । यो अभियान सफल बनाउन सरकारले गौरीगञ्ज गाउँपालिकामा पाँच लाख ३३ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । सबैभन्दा पुरानो रोग कुष्ठरोग सँगै हात्तीपाइले रोग देखापरेको हो । नेपालभरिमा १३ वटा जिल्लामा हात्तीपाइले रोगविरूद्वको अभियान शुरू भएको छ । काम गर्ने उमेरका व्यक्तिहरूमा यो रोग लाग्ने भएकोले यसबारे व्यापकरूपमा प्रचार–प्रसार गर्नुपर्ने वार्ड नं. ३ का वडाध्यक्ष मखना महतोले बताए । वडाध्यक्ष महतोले लामखुट्टेले दिउँसो र राति जुनसुकै समयमा टोक्न सक्ने भएकोले यसबाट बच्न सबैले औषधि सेवन गर्न आह्वान गरेका थिए ।

त्यसैगरी वार्ड नं. ६ मा पनि वडाध्यक्ष बद्रीनारायण यादवको अध्यक्षामा वडास्तरीय आम औषधि सेवन अभियानको सचेतना कार्यक्रम सम्पन्न भएको थियो । वडा नं. ६ का वडाध्यक्ष बद्रीनारायण यादवले कसैको पनि होहल्लामा नलागी औषधि सेवन गर्न सर्वसाधाराण सबैसँग आग्रह गर्दै अभियान सफल पार्न स्वास्थ्यकर्मीहरुले सबैको घर–घरमा गएर औषधि खुवाउने योजना रहेको बताए ।

स्वास्थ्य विभाग अन्तर्गत महामारी तथा रोग नियन्त्रण विभागले गत वर्ष गरेको सर्वेक्षणमा झापामा १२ प्रतिशत व्यक्तिमा हात्तीपाइले रोगको लक्षण पत्ता लागेको जनाएको छ । कार्यक्रममा प्रदेश नं. १ मा झापा, मोरङ्ग र धनकुटा जिल्लामा माघ २५ गतेदेखि हातेपाइले रोगविरूद्व औषधि वितरण गरिने जानकारी दिइयो । लामखुट्टेबाट रोग सर्ने भएकोले यसबाट बच्न औषधि सेवन गर्ने र झुलभित्र बस्ने उत्तम उपाय रहेको समेत सहजकर्ताले सहभागीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा वार्ड नं. ३ का वडा सदस्य हेमा आचार्य, सरिता सेर्पा, वार्ड नं. ६ का कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्य उदिम राई, रमकुमारी विक, गौरीगञ्ज स्वास्थ्य चौकीका संयोजक बेदनिधि निरौला, गौरीगंज खजुरगाछी स्वास्थ्य केन्द्रका अनुप शर्मा, गौरीगञ्ज माविका प्रधानाध्यापक गोविन्द घिमिरे, देवकोटा माविका संस्थापक केदार रिमाल, खजुरगाछी माविका प्रधानाध्यापक गहेन्द्रविक्रम साह, मुनलाइट एकाडेमीका प्रधानाध्यापक विजय सिंह, वडा सचिव सुगम रेग्मी, अजय साह लगायतको सहभागिता थियो । झापाका १५ वटै स्थानीय तहबाट आठ लाख २६ सय पाँच जना मानिसलाई यस बर्ष हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत औषधि सेवन गराइने लक्ष्य स्वास्थ्य कार्यालयको रहेको जानकारी गराइएको थियो ।

अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालयबाट छ सय ३१ जना महिला स्वास्थ्य स्वयम्सेवीका र चार सय १६ जना स्वास्थ्यकर्मी खटाइएको छ । जिल्लाका सबै स्थानीय तहहरुमा औैषधि पुर्याइ सकिएको बताइएको छ । हात्तीपाइले एक प्रकारको डरलाग्दो संक्रमित सरुवा रोग भएकोले २ बर्षमुनीका बालबालिका, दीर्घरोगी, सुत्केरी बाहेकका सबैले अनिवार्य औषधि सेवन गर्नु पर्ने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा विगतको तथ्याङ्ग अनुसार हात्तीपाइले रोगका संक्रमित हाईड्रोसिलका तीन सय ७२ जना, खुट्टा सुन्निएका ७२ जना, स्तन सुन्निएका एक सय १० सहित जम्मा पाँच सय ५४ जना संक्रमितहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here