प्रतिपक्षको विक्षिप्तिबाट प्रेरित सत्ताको स्वच्छन्द रजाइँ !

0
537

नकुल काजी,

संघीयता कार्यान्वयनका महत्वपूर्ण कामहरुमध्ये तहगत कार्यकारी तय गर्ने संविधाननिर्दिष्ट सिँढीरुपी तहहरुका निर्वाचनमा चौपटै हारेर भुतुक्क भएपछि, नेपाली राजनीतिकको जेठो पार्टी, नेपाली कांग्रेसमा संस्थागतरुपमै विक्षिप्ति पैदा भएको सचेत वर्गका नेपालीले देख्तै आएकै हुनपर्छ । अतः उपर्युक्त बिन्दुबाट नेपाली कांग्रेसले उसको घरभित्र र घरबाहिरका चलखेल–गतिविधिमा लोकलाजको रत्तिभर पर्वाह गर्न छाडेको हो भन्ने पनि, कसैबाट त के, उसैका प्रति आत्मनिवेदित वर्गबाट समेत लुकेको छैन ।

विक्षिप्त मान्छेको जसरी आफ्नो खानदान बिर्सन्छ, घर–परिवारको इज्जत–प्रतिष्ठा बिर्सन्छ, लोकलाजको पर्वाह गर्दैन, शुभेच्छुको सहानुभूति र जोरीपारीको खिल्ली–गिल्लालाई लबस्तरो भएर सुनिहिंड्न असजिलो मान्दैन त्यसरी नै नेपाली कांग्रेसका निर्लज्ज र थेत्तरो स्वभाव निर्वाचनयता विकसित हुँदै आएको छ । यो अवस्थाले त्यसकै आदर्शमा अविचलनहरुलाई मात्र चिन्तित र उद्विग्न तुल्याइरहेको छैन लोकतन्त्रका अनुरागी सबैलाई समेत खिन्न तुल्याइरहेको छ । लोकमतद्वारा समृद्ध राजनीतिक पार्टीको एकमना सरकार नालायक प्रतिपक्षको कारण नै अंकुशहीन गतिविधिमा निर्विरोध हुन्छ भन्ने विश्वका अनेक नवोदित एवम् विकासोन्मुख साना राष्ट्रहरु नजिर थिए, त्यसैमा नेपाल थप सूचीकृत भएको छ । यस्ता राष्ट्रमा नागरिक जीवनले भुक्तमान खप्नुपर्ने खण्ड पर्दछ, जसको दोष सत्तापक्ष र प्रतिपक्षको बराबरी हुने हुन्छ । लोकतान्त्रिक व्यवस्था चलेको मुलुकहरुको राजनीतिक वृत्तमा यही मान्यता ससम्मान स्थापित छ । तर, हाम्रो देशको यो वर्तमानमा तपसीलका प्रतिपक्षी पार्टीहरु त के प्रमुख प्रतिपक्षी पार्टीले नै सो मान्यतालाई लत्याइरहेको छ । फलतः सत्तारुढ पार्टी र कार्यकारी सरकार स्वतः निरंकुश हुनु सर्वभावेन स्वाभाविक भएको हो ।

कुनै पनि दौढमा प्रतिस्पर्धी हदैको कमजोर वा बेढङ्गे भयो भने अर्को सहभागीले नकुदी प्रथम बन्नु अस्वाभाविक ठहर्दैन । अझ पछिल्लो समय त कतिपय प्रकरणमा नेपाली कांग्रेस उसको संवैधानिक ‘प्रमुख प्रतिपक्षी’ हैसियतको छात्तीमा जोर लात्ती हानेर सरकारको अनन्य सहयोगी नै बन्न पुगेको घटना पनि छन् । संघीय संसदको सभामुख निर्वाचन, अमेरिकी सैन्य रणनीतिको आर्थिक सहायता परियोजना (एमसीसी)–को स्वीकृतिमा सरकारी आकांक्षाको समर्थनमा काँध हलाइ, लोकतान्त्रिक अधिकार हनन् हुने गरी ल्याइएका विवादास्पद विधेयकका सन्दर्भमा मौन धारणदेखि नेपाल ट्रस्टको जग्गा भाडा, वाइड बढी विमान खरिदमा भ्रष्टाचार, काठमाडौं (बालुवाटार–ललिता निवास)–को सरकारी जग्गा बेचबिखन, विषादियुक्त भारतीय साग–सब्जी परीक्षण नगर्ने सरकारी निर्णय, आकाशिएको ज्यानमारे मूल्यबृद्धि, शिक्षा–स्वास्थ्यमा स्वच्छन्द बढिरहेको बेथिति लगायतमा मौनता आदि–इत्यादिबाट नेपाली कांग्रेसले आफ्नो प्रमुख प्रतिपक्षी हैसियतलाई सरकार सामू आत्मसमर्पण गराएको छ । तर, जानकार पर्यवेक्षकहरु भन्छन्— यो आत्मसमर्पण स्वार्थले ओतप्रोत छ । लेनदेनका धरातलमा उभिएको यस्तो आत्मसमर्पण राजनीतिक कित्ताका कायर राजनीतिको उपज मान्नुपर्ने उनीहरुको किटानी राय पाइन्छ । हरेक परिवर्तनपछिको पहिलो–पहिलो समेत पटक–पटक सरकारमा रहेको नेपाली कांग्रेस आजका प्रायः सबै आलोच्य र विवादोत्पादक घटनाको शुरुवाती दोषको भागी देखिँदो छ र शायद यसैकारण ऊ उकुर्जी उठाइहेर्ने र आफू डोहोरिने नदेखेपछि पछाडि सर्ने गरेको छ ।

मौजूदा संविधानको प्रस्तावना र भाग–१ का जम्मै ५ वटा धारा मात्र हेरेर बुझे संविधानलाई पूरै बुझिन्छ । सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा निहीत संविधानको लोकतान्त्रिक उदारता वस्तुतः प्रशंस्य मानिन्छ । तर, यिनै सबलाई चाहिँ अहिले निद्राको ओखति खुवाएर संविधानको पुस्तकरुपी कोक्रोमा सुताइएका छन् र व्यवहार–जगत स्वेच्छातारीरुपमा चलाइँदैछ । लोकतान्त्रिक राज्य–व्यवस्था चलेका एक्काइसौं शताब्दीका मुलुकहरुका राज्यव्यवस्थाका अख्तियारशाली स्तम्भहरुका कमी–कमजोर वा जानेर–नजानेर भए–गरिएका गल्तीबाट उत्पन्न विकृति–विचलनको खबरदारी गर्ने कत्र्तव्य बोक्ने पक्ष (प्रतिपक्ष) जुनसुकै कारणले पनि नालायक भए भने राज्यव्यवस्थाका सबै अंग र तिनका मातहत संयन्त्रहरुले दाम्लो चुँडाएर राज्यको बाली चर्ने मौका मार्ने दुष्कर्म नियन्त्रणको कल्पना केवल शास्त्रीय विषय बन्नु पनि स्वाभाविक हुन्छ । यस किसिमबाट अनियन्त्रित स्वामित्व (ब्गतबचभजथ) सवार भएका कारण बर्बाद भएका राष्ट्रहरु उम्दा उदाहरण छन् । अतः नेपालमा सबै पार्टी, गुट, गिरोहका नेतृत्वकै गलत सोच–स्वभाव धरातलसम्म संक्रमित भएको निष्कर्षमा पुगेर उभिँदा ती नेता–नायकहरुलाई विश्वास पोष्ने नागरिकले धिक्कार्नुको विकल्प र पश्चातापको सुस्केरा सुसेल्नुकै पनि विकल्प छैन । यस्तो अवस्थाको विधिवत् निवारण गर्न खातिर खबरदारी गर्ने जिम्मेवारी प्रमुख प्रतिपक्षी पार्टी र प्रतिपक्षी पार्टीहरुको हो । तर देशमा बढिरहेको आधारभूत असन्तोषलाई हेर्दै सरकारतिर फर्केर खुच्चिङ मच्याउनु र जन–असन्तोषलाई अझ ऊर्जाशाली बनाउनु शिवाय नागरिक जीवनको नितान्त सरोकारी समस्याहरुको समाधान खोजी गरी राज्यलाई खबरदारी गर्ने कत्र्तव्यनिर्दिष्ट सत्कार्यको कत्र्तव्य निर्वहनमा प्रतिपक्षी भूमिका शून्यप्रायः छ । प्रतिपक्षीको काम आफ्ना सहकर्मीका दुष्कर्मको बचाउनमा उखरमाउलो उछाल्ने मात्र हो र अरु सामान्य समय संवैधानिक अंगका पदाधिकारी तथा अन्य राजनीतिनिरपेक्ष प्रशासनिक संयन्त्रमा अंश–भागको दलाली गर्नु मात्र हो भने जस्तो बुझेको मान्न बुझिन्छ ।

नेपाली कांग्रेसको उपल्लो नेतृत्वले, पहिलोपल्ट, रौतहटमा २२ नेपालीलाई इँटाभट्टामा जिउँदै होमेर नृशंस हत्या गर्ने उसको सो जिल्ला सभापति र उसैको संघीय सांसद मो. अफ्ताब आलमको घिनलाग्दो अपराधको सिनु बोकेर लोकतन्त्रमार्गी नेपालीलाई उदेकको तमाशा देखाएको थियो । त्यो जगजाहेर अपराधका अभियुक्तमाथि कानूनी कार्वाही हुनु भनेको प्रजातन्त्र र नेपाली कांग्रेस बिरुद्धको षडयन्त्र हो भने जस्ता चरम गैरजिम्मेवार, अपत्यारिलो र लगभग आत्मघाती बयान–वक्तव्यको हावा–हुण्डरी मच्चाइयो । त्यसको परिणाम निस्कने गुञ्जायस थिएन र निस्केन । त्यो घटना पूर्णरुपेण विस्मृतिमा ओझेल नपर्दै आफ्नो उपसभापति तथा संघीय सांसद ‘२०४८ पछिका सदाबहादर मन्त्री’ उपमा दिइएका विजय गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाली कांग्रेस फेरि सक्रिय राजनीतिक अभिनयमा उतारु देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गच्छदारमाथि उहाँले २०६७ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा प्रधानमन्त्री निवास बिस्तार गर्ने बहानामा नक्कली मोही खडा गरी काठमाडौं (बालुवाटार)–को ललिता निवास नामले सेरोफेरो चिनिने सरकारी जग्गा उनै नक्कली मोहीका नाममा दर्ता गराई ९ करोड ६५ लाख रुपैयाँ बराबर भ्रष्टाचार गरेको आरोप साथ विशेष अदालतमा मुद्दा दायर भएको हो । २०४८ सालपछि पाँच पटक उपप्रधानमन्त्री र १३ पटक मन्त्री हुनुभएका गच्छदारमाथि लागेको यो बिराट भ्रष्टाचार मुद्दाको सामना अदालतमा हुनुपर्ने विधि मिचेर नेपाली कांग्रेसले संसद र सडकमा हङ्गामा मच्चाउने गलत बाटो अप्नाएको तीतो टिप्पणी भइरहेको छ ।

यसले नेपाली कांग्रेसको बाँकी बँचेको साख पनि कोत्रिने स्थितिमा पुगेको छ । यसो हुँदा समेत प्रकारान्तरले सत्तापक्षलाई उसको साविक कार्यशैली बरकरार राख्न थप मद्दत पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग एउटा बलियो संबैधानिक आयोग हो र देशले ठूलो संघर्षको परिणामस्वरुप प्राप्त गरेको उपलब्धि नै धराशायी तुल्याउने किसिमबाट चौतर्फीरुपमा जागु्रत भ्रष्टाचार नियन्त्रण गर्न यो आयोगलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता प्रमुख भएको यो बेला नेकांले आफ्नो नेताको बचाउ गर्ने जुन तरिका अप्नाएको छ त्यसले भ्रष्टाचार निवारण हुनपर्ने आम अपेक्षामाथि अन्याय गरेको नै ठहर्छ । साथै भ्रष्टाचारको आरोप लागेको एउटा नेतालाई होहल्लाको शक्ति (?)–ले आरोपमुक्त गराउन सकिन्छ भन्ने सोचद्वारा निर्देशित हुनु नेपाली कांग्रेस जस्तो पुरानो लोकतान्त्रिक पार्टीको ऐतिहासिक यशसम्पन्न पार्टीलाई किमार्थ शोभनीय हुन सक्तैन । यो त भित्री कपडा लाउन बिर्सेर लुङ्गी लगाएको कुनै योगाभ्यासीले आफ्नै धुनमा शीर्षआसन गरे जस्तो पो बुझिन्छ । शीर्ष आसनले मस्तिष्कलाई समृद्ध बनाउँछ भन्ने योग–शास्त्रमा लेखिएको छ र यो आसन अत्यन्त उपयोगीकै महत्वमा छ पनि । तर, आसनरत व्यक्तिले होशहवासै गुमाउन त अनिवार्य छैन नि !
‘मेरा बाऊ–बाजेले घिउ खान्थे, नपत्याए मेरो हात सुङ’ भने जस्तो आफ्ना महान पूर्वजका नाममा बाँच्ने गर्दै आएको क्रममा नेपाली कांग्रेससंग अहिलेको परिवर्तित समयलाई रिझाउने सारभूत आकर्षण के छ त ? नेपाली जन–दैनिकीदेखि दीर्घकालीन अपेक्षाहरु विदीर्ण अवस्थामा छन् ।

देशले अख्तियार गरिरहेको लोकतान्त्रिक राज्यव्यवस्थाको प्रणालीगत विधि–प्रक्रियाका प्रयोक्ताहरु निर्बिध्न स्वतन्त्र हुन पाइरहेको अवस्थाबाट उत्पन्न अन्योल बढेको बढ्यै छ । जनमतले सर्बथा बलियो वर्तमान सत्तापार्टी र त्यसको एकमना सरकारमा पहुँच पुर्याउन समर्थ विभिन्न कित्ताका माफियाहरुको पकडले राज्यव्यवस्थालाई बेथिति र विसंगतियुक्त तुल्याएको निरीह र असंगठित ‘जनता’–लाई धुरुधुरु रुवाइरहेका छन् । महंगीले निस्सानिएको नागरिक जीवनलाई जताततै बढेको कर–तिरोको भारले थिचेको छ । सत्ताको टाकुरोमा पहुँच पुगेका नेता–अगुवासंगको मिलीभगतमा कर्मचारी, ठेकेदार, विचौलियाको सेण्डिकेटहरुको प्रकोपले बीभत्सरुपमा राज्यको तिजोरी कोतारिरहेका छन् । भ्रष्टाचार–कमिशनखोरी, फजुलखर्ची कार्यक्रमहरुको मोजमस्ती, बिलासिताले नागरिकलाई तर्साइरहेको छ । नगारिकका आधारभूत आवश्यकताका निर्माण–विकासका कामहरु स्थलगतरुपमा लथालिङ्ग छन् । इत्यादि–इत्यादि । तर, खबरदारीको दीर्घा शून्यप्रायः छ र त्यहाँबाट कहिले–काहीँ आवाज आउँछ– ‘सरकार अंकुशहीन भयो, लोकतन्त्र खतरामा छ !’…..महाभारतकथामा वर्णित यदुकुलको अन्तिम चरणको भूमिकामा अवतरित नेपाली कांग्रेसको स्वरमा यो आवाज आइरहेको सुनिरहँदा उसले आकाशतिर फर्केर थुकिरहेको आभास हुन्छ ।

अर्को केही हैसियतमा मानिएको राप्रपा असंभव ‘एजेण्डा’ लिएर जन–समाजमा जाने गरेको देख्ता अनिकालग्रस्त गरीब घरका निरुपाय आमा–बाबुले आफ्ना भोका र अबोध छोराछोरीलाई विश्वासमा बँचाइराख्न ढुङ्गाका टुक्रा उसिन्न बसाएर हात–हातमा सिन्का थमाई ‘बेला–बेला बिर्को उघारेर घोच्तै गर्नु, पाकेपछि घोचिन्छ अनि झिकेर खानु’ भनिराखेको आफूहरु कतै छड्किएको दन्त्यकथा पुनरावृत्त भए जस्तो भान हुन्छ । नागरिकका आधारभूत अपेक्षालाई उसले छोएको पाइन्न । अरुको अस्तित्व त निर्वाचन आयोगको दर्ता किताबमै सीमित होला ।
बस आजलाई यत्ति नै । शेष फेरि—

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here