प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यीयको १८औं वार्षिकोत्सव

0
511

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यीय सहकारी संस्था लि.को १८औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिकी अध्यक्ष निर्मला पौड्यालको अध्यक्षता र झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष डिल्ली घोर्साईंले गरेका थिए ।

कार्यक्रममा संस्थाद्वारा स्थापित अपांगता संरक्षण कोषबाट संस्थामा आवद्ध पाँच जना अपांगता भएका शेयर सदस्यलाई जनही नगद दुई हजारसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा कृष्णबहादुर प्रसाईं, जमुना राजवंशी, ठाकुरसिंह गुरुङ, दिलबहादुर वि.क. र मीना श्रेष्ठ रहेका छन् ।

त्यसैगरी कार्यक्रममा कोषका दाता एवम् संस्थापक अध्यक्ष दिपेन्द्र काफ्लेलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । त्यस्तै सोही कार्यक्रमको सन्दर्भमा शेयर सदस्यहरुलाई सहकारी शिक्षा बारे जानकारी दिने उद्धेश्यले एक दिवसीय सहकारी शिक्षा तालिम सञ्चालन गरिएको थियो ।

सहजकर्ता सहकारी संघ झापाका सचिव ढकालले सहजिकरण गरेको तालिममा ३५ जनाको सहभागिता रहेको संघकी व्यवस्थापक तुलसा कुँवरले जानकारी दिइन् । सोही कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा अर्जुनधारा नगर सभा सदस्य सुशिला सुवेदीले संस्थाले स्थापना गरेको कोषको लागि १० हजार सहयोग उपलब्ध गराउने घोषणा गरेकी थिइन् ।

तालिमका सहभागी ठाकुरसिंह गुरुङले अनुभव बारे जानकारी गराएको कार्यक्रममा संस्थाका सल्लाहकार पदमबहादुर मगर, सम्मानित व्यक्तित्व काफ्ले, दाता युवराज प्रसाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन व्यवस्थापक कुँवरले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here