बिर्तामोड।

पत्रकार गोपालचन्द्र गौतम स्मृति प्रतिष्ठानले स्थापना गरेको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ पूर्वाञ्चल दैनिकका पूर्वसहकर्मी तथा जनआन्दोलन साप्ताहिकका प्रधानसम्पादक केशव आचार्यलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ वीरगञ्ज, पर्साको सभाहलमा गोपालचन्द्र गोतामे स्मृति प्रतिष्ठानले आफ्नो नवौं पुण्यतिथिमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार आचार्यलाई एक तोलाको सुनको लकेट र सम्मान पत्र प्रदान गरेका थिए ।
गोपालचन्द्र गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोरले स्व. गौतमको जीवनीको बारेमा प्रकाश पार्दै मोफसलमा रहेर पत्रकारिता क्षेत्रमा निरन्तर सेवारत् पत्रकारलाई सम्मान प्रदान गर्ने प्रतिष्ठानको उद्देश्य अनुसार पत्रकार आचार्यलाई एकतोला सुनको लकेटद्वारा सम्मान गरिएको बताए । कार्यक्रममा मानव अधिकारकर्मी बद्री खतिवडा, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहानले स्व. गोपालचन्द्र गौतमले पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य एवम् नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष श्याम बन्जारा, प्रतिष्ठानका सदस्य एवम् नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछाने, स्व.गौतमकी पत्नी सुधा गौतम, छोरा हिमाल गौतम, वीरगञ्ज महानगरकी उपप्रमुख शान्ति कार्की, मानव अधिकारकर्मी नन्दन अर्याल, समाजसेवी पशुपतिविक्रम शाह, उषा शाह, नेपाल रेडक्रस सोसाइटी पर्साका उपसभापति मधु राणा, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, राजपाका सहमहासचिव निजामुद्दीन समानी, समाजवादी पार्टी जिल्ला सचिव तबरेज अहमद लगायतको आतिथ्य रहेको थियो ।
पत्रकार आचार्यले विश्वदीप साहित्यिक मासिक पत्रिकाको सहसम्पादकका रुपमा २०३७ सालबाट सञ्चारकर्मीका रुपमा प्रवेश गरी झापाबाट प्रकाशित हुने शनिबार साप्ताहिक, पूर्वाञ्चल दैनिक, झापा एक्सप्रेस, आरम्भ एफएम, काठमाडौंबाट प्रकाशित देशान्तर साप्ताहिक, सुरुची र स्वतन्त्रता साप्ताहिक तथा स्पेस टाइम दैनिकमा कार्यानुभव सम्हालिसकेका छन् । आचार्यका आचार–विचार मुक्तक संग्रह, केशव आचार्यका कविताहरु कविता संग्रह, पागल गजल संग्रह तथा पागल गजल एल्वम् समेत सार्वजनिक भइसकेका छन् भने एक दर्जनभन्दा बढी गीत तथा गजल संगीत भरेर प्रशारण समेत भएका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाबाट २०६३ सालमा पुरस्कृत आचार्य सञ्चार क्लव मोरङ, नेपाल प्रेस युनियन पूर्वाञ्चलसहित नेपाल(भारतका विभिन्न पत्रकारिता, साहित्य र कला क्षेत्रका दुई दर्जनभन्दा बढी साहित्यक संघ–संस्थाबाट पुरस्कृत भइसकेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षको जिम्मेवारी सम्हालेका उनी नेपाल प्रेस युनियन, नेपाली साहित्य विकास समिति मेचीका अध्यक्षको जिम्मेवारीमा छन् भने सासंक प्रतिष्ठान, कृष्णभुषण बल स्मृति साहित्य प्रतिष्ठान मोरङ, साहित्य चौतारी, नेपाली लेखक संघ लगायतका साहित्यिक संघ–संस्थाहरुमा आवद्ध छन् ।































