चेकजाँचमा कडाई, नाकामा बाक्लोरुपमा प्रहरी परिचालन

0
998

लक्ष्मी उप्रेती / काँकरभिट्टा ।

शनिबारबाट पैदलमार्ग भएर पूर्वीनाका हुदैं नेपाल प्रवेश गर्नेहरुमाथि स्थानीय प्रशासनले निगरानी बढाउनुका साथै चेकजाँचमा समेत कडाई गरेको छ ।

शनिबारबाट सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमाशुरु भएको मुस्लिम समुदायको धार्मिक इस्लामिक सम्मेलन “इज्तिमा” मा सहभागि हुन भारतका विभिन्न ठाउँबाट ठुलो संख्यामा मुस्लिम समुदाय नेपाल आउन थालेपछि तेस्रोमुलुकबाट मुस्लिम समुदायका प्रतिनिधि प्रवेश हुने आशंकामा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पार्नुको साथै चेकजाँचमा कडाई गरेको हो ।

तीनदिने सम्मेलनमा शुरुमा नेपाल र भारतका मुस्लिममात्र सहभागिता हुने भनेर अनुमति लिइएकामा तेस्रो मुलुकका सहभागी पनि आएपछि वा अन्य मुलुकका सहभागी आउन थालेपछि गृहमन्त्रालयले विहिबार सम्मेलन रोक्न निर्देशन दिएको थियो । तेस्रो मुलुकका प्रतिनिधिलाई सहभागी नगराउने आयोजकले जनाएपछि धार्मिक इस्लामिक सम्मेलन “इज्तिमा” ले अनुमति पाएको थियो ।

धार्मिक सम्मेलनमा सहभागी हुन भारतको आसाम, कुचविहार लगायतका स्थानबाट आसामी र भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग दैनिक हजारौ मुस्लिम समुदाय धमाधम नेपाल छिरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार शुक्रवारकेही समयसम्म उनीहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको भएपनि तेस्रो मुलुकबाहेक भारतका विभिन्न शहरबाट आउने मुस्लिम समुदायलाई उनीहरुको परिचय पत्र हेरेर प्रवेश गर्न दिएको छ । भारतबाट अरु मुलुकका सहभागीलाई पूर्वी नाकाबाटै फर्काउने तयारी स्थानीय प्रशासनको छ ।

शुक्रबारदेखि उनीहरु नेपाल आउन शुरु गरेको भएपनि शनिबार हजारौंको संख्यामा मुस्लिम समुदाय नेपाल प्रवेश गरेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार शनिबार मध्यान्हसम्म साना र ठुलागरी १ सय ५० वटा सवारी साधनमा करिव ६ हजारबढी मुस्लिम समुदाय नेपाल प्रवेश गरेका छन् । नेपाल छिर्नेमा बृद्धबृृद्धादेखि युवा युवतीसमेत छन् ।

पाकिस्तान बंगलादेशलगायतका मुलुकबाट सहभागी आउन सक्ने सम्भावनाका कारण पूर्वीनाकामा प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलसहित सुरक्षाअधिकारीहरुको टोली सक्रिय छ । सशस्त्र र नेपाल प्रहरीको सुरक्षा दस्ता नाकामा बाक्लैरुपमा परिचालन गरिएको छ । काँकरभिट्टा नाका भएर धार्मिक सम्मेलनमा सहभागी हुन आउनेका लागि मेचीनगरको काँकरभिट्टा, धुलावारीमा बस्ने पिउने पानी खाजालगायतको व्यवस्था नेपाल मुस्लिम संघ जिल्ला समिति झापाले मिलाएको समितिका उपाध्यक्ष एजाज अहमद अन्सारीले बताउनुभयो । मेचीनगर– ६ स्थित काँकरभिट्टाको हिकोला चोकमा आराम गर्नका लागि पाल टागेर राखिएको छ ।

काँकरभिट्टाबाट नेपाली नम्बर प्लेटका सवारी साधनमा राखेर उनीहरलाई कार्यक्रम स्थल सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरसम्म पुर्याउने व्यवस्था मिलाइएको उपाध्यक्ष अन्सारीले जानकारी दिनुभयो । धेरैले भन्सार दस्तुर तिरेर भारतीय तथा सामी नम्बर प्लेटका सवारी साधन लिएर सम्मेलन स्थल जान थालेको भन्सारले जनाएको छ । धार्मिक सममेलनमा धर्मगुरु मौलना मोहम्मद साद कान्थलीलगायतले प्रवचन दिने उहाँको भनाई छ । उक्त सम्मेलनमा नेपाल र भारतका २ लाख बढी सहभागी हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here