विषादीयुक्त तरकारी बन्द गर

0
565

सम्पादकीय

आज हामी विषादीयुक्त तरकारी खान विवश छौं । यो अवस्था देशभर नै छ । नेपालमै उत्पादन हुनेमा पनि विषादी छ भने भारतबाट आयात हुने तरकारीमा त अत्यधिक मात्रामा विषादी हुने गरेको बताइन्छ । नचाहँदा–नचाहँदै पनि हरेक नेपालीको भान्सामा दिनहुँ विषालु तरकारी पाकिरहेका छन् । तरकारीमा विषादीको प्रयोग बढेका कारण नेपालीहरूमा गम्भीरखालका रोग लाग्ने गरेको पनि पाइएको छ । संविधानको धारा ४४ ले सुरक्षित र गुणस्तरीय वस्तु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गरेको भए पनि आमउपभोक्ताले त्यो अधिकार प्रयोग गर्न पाएका छैनन् । नेपाल सरकारले संविधानले सुनिश्चित गरेको सुरक्षित र गुणस्तरीय वस्तु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने दायित्व पूरा गर्न सकेको छैन ।

अध्ययन अनुसार नेपालमा प्रत्येक वर्ष भित्रिने विषादी मध्ये ८५ प्रतिशत तरकारी बालीमा प्रयोग हुन्छ । विश्वमा प्रतिवर्ष करिब २० लाख मेट्रिक टन विषादी प्रयोग हुने गरेको पाइन्छ । विश्वमा करिब दुई करोड ६० लाख मानिसमा बर्षेनि विषादीको असर परेको देखिन्छ भने करिब २२ लाख मानिसको मृत्यु यसको प्रयोगबाट हुने गरेको प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रको अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय रूपमा रासायनिक विषादीविरुद्ध अभियान सञ्चालन गर्दै आएको संस्था पानको प्रतिवेदन अनुसार विश्वमा हरेक वर्ष चार करोड मानिसमा विषादीमा असर गरेको पाइएको छ । विश्वमा विषादी कै कारण हरेक वर्ष तीन लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ, जसमा सबैभन्दा बढी बालबालिका र महिला छन् । प्रतिवेदनमा उल्लेख भए अनुसार प्रतिदिन सात सय जना व्यक्ति विषादीयुक्त खानाका कारण मृत्यु भएको देखिन्छ ।

स्वास्थ्य नै हरेक नागरिकको सम्पत्ति हो । स्वस्थ नागरिक नै देशको धन हो । स्वस्थ नागरिक नभई देशको उत्पादकत्व बढ्न सक्दैन, साथै स्वास्थ्यमा गर्ने खर्चको छुट्टै व्यवस्था गर्नुपर्ने बजेट शिक्षा तथा अन्य विकाकका कार्यमा खर्च गर्न सकिन्छ । अत्यधिक विषादीको अवशेष नरहने गरी स्वस्थ तरकारी खाने वातावरण बनाउन सरकारले प्रोत्साहन गर्न आवश्यक छ । जलवायु परिवर्तनका कारण तरकारी तथा खाद्यान्नमा विभिन्न रोगका कीरा देखिन थालेकाले किसानले त्यसलाई नियन्त्रण गर्न अन्धाधुन्धरूपमा विषादी प्रयोग गर्न थालेका छन् । कीरा वा शत्रुजीव व्यवस्थापन गर्न अन्य कुनै विकल्प नखोजी कडाभन्दा कडा विषादी प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न गएको छ । किसानमा जनचेतनाको कमीका कारण र वैकल्पिक उपाय नखोज्दा आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । भारत लगायतका देशबाट आयात हुने तरकारी, फलफूल, माछामा विषादी तथा अखाद्य वस्तु मिसावटको अवस्था सीमानाकामै परीक्षण गरी स्वस्थ खानेकुरा मात्र भित्र्याउन सरकारले समयमै ध्यान पुर्याउन ढिला गर्नु हुन्न । कसैको दवाब र प्रभावमा नपरी सरकारले यो कदम चाल्नै पर्छ । यस विषयलाई गम्भीररुपमा लिएर दीगो योजनाका साथ तीनै तहका सरकारले कदम चाल्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here