‘जुकेखाडी पर्यापर्यटन परियोजनालाई कम्पनीमा लान छलफल आवश्यक’

0
581

अर्जुनधारा ।

झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहअन्र्तगत सञ्चालन भइरहेको जुकेखाडी पर्यापर्यटन परियोजनालाई कम्पनीमा लान पूर्व त्यसको विषयमा व्यापक छलफल हुनुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

समूहको आयोजनामा पर्यापर्यटन प्रबद्र्धन परियोजना २०७५को कार्ययोजना अनुसार समूहको ब्लक नम्बर ५ स्थित कैदलेको ७० हेक्टर क्षेत्रफलमा विगत एक वर्षदेखि सञ्चालन भइरहेको सो परियोजना विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन् ।
समूहले सुरु गरेको उक्त परियोजनालाई कम्पनीमा लाने विषयमा सबैको सहभागितामा व्यापक छलफल गरी कार्यान्वयन गर्न सक्दा त्यसले आर्थिक र सामजिकरुपमा जीवनस्तर उकास्न फड्को मार्ने पर्यटन विकास आयोजना विराटनगरका प्रमुख टोपबहादुर श्रेष्ठले बताए । तर त्यसको लागि समूहले गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदनसँगै व्यवसायिक रणनीति बनाउनुपर्ने प्रमुख श्रेष्ठ बताउँछन् ।

त्यसैगरी कार्यक्रमका अर्का सहभागी सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले समूहले सञ्चालन गर्न लागेको उक्त कार्य नौलो भए पनि त्यस विषयमा आवश्यक बहस भने अपुग भएको बताए । उनले परियोजनालाई कम्पनीमा लानुपर्दा पर्यापर्यटन सञ्चालन कार्यविधि २०७५ अनुसार व्यवस्थापन समिति निर्माण गरी कार्यसम्पादनमा जोड दिनुपर्ने बताए ।

त्यस्तै अर्जुनधारा–३ वडा समितिका अध्यक्ष जीवकुमार भण्डारीले वृहतरुपमा छलफल नगरी अगाडि बढाएको खण्डमा आगामी दिनमा विविध समस्या आउन सक्ने भन्दै सबैको सहभागितामा वृहत छलफल गरी अगाडी बढ्नुपर्ने सुझाए ।

कार्यक्रममा पर्यटन बोर्ड नेपालका महासचिव रुद्रप्रसाद गिरीले सामुदायिक वन र कम्पनीबीचको सहकार्य र साझेदारी, वन र बस्तीमा पर्यापर्यटन, क्रियाक्लाप, वातावरणमैत्री परियोजना विकासलगायतका बुँदाहरु समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।

जैविक विविधताको संरक्षण गर्दै कम्पनीको माध्यमबाट पर्यापर्यटनको विकास गरी उपभोक्ताहरुको आयआर्जन बढाउने उद्धेश्यले सो परियोजनालाई कम्पनीमा लान खोजिएको समूहका अध्यक्ष दिव्यप्रसाद कट्टेलले बताए ।
समूहका उपभोक्ता एवम् संविधान सभा सदस्य प्रेमबहादुर गिरीले सहजिकरण गरेको कार्यक्रममा नगर उपप्रमुख कमला खतिवडा आचार्य, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, उपभोक्ता योगेन्द्र गुरुङलगायतले त्यस विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here