बिर्तामोड।

विश्वकर्मा जातिले परम्परादेखि गरी आएको पुख्र्यौली पेशाका रुपमा लिइन्छ आरन (घरेलु औजार बनाउने ठाउँ) लाई । प्रविधिको विकाससंगै आरनमा बसेर घरेलु औजार बनाउने प्रचलन हराउँदै गए पनि झापाको वुद्धशान्ति–१ होक्सेका ६२ वर्षीय बीरवहादुर रसाइलीलाई अहिलेपनि औजार बनाउन भ्याइनभ्याइ छ ।
ताप्लेजुङ्गको सिनाममा बाल्यावस्थामा बुबा गणपति रसाइँलीसंग घरेलु हातहतियार (औजार) बनाउन सिकेका रसाइँलीलाई अहिले गाउँघरमा प्रयोगमा आउने (औजार) हँसिया, कुटो, कोदालो, फरुवा, सिक्कल, बञ्चरो, खुर्पा, खुकुरी, बनाउन सँधै हतारो हुन्छ । उनी बिहानैदेखि आरनमा बस्छन्, अनि प्राथमिकताको आधारमा गाउँलेले भने बमोजिमका औजार तयार गर्छन् । घर–धन्दा भ्याएर श्रीमती विष्णुमायाले पनि उनलाई साथ दिन्छिन् । नत्र गाउँलेको आवश्यकता अनुसार उनले औजार तयार गर्न सक्दैनन् । आरन तान्न श्रीमतीले सघाएकै कारण बीरवहादुरले दैनिक १० वटासम्म औजार तयार गर्छन् । जुन औजार बिक्री गरेर उनी मालामाल भएका छन् । बीरबहादुर भन्छन्– ‘साँध लगाउने आए भने नयाँ बनाए जस्तो कमाई हुन्न नत्र दैनिक दुई हजार पाँच यस रुपैयाँदेखि तीन हजारसम्म हाजिरा हराउँदैन ।’
२०३६ सालमा सिनाम छाडेका उनी यसअघि गौरादह बस्दै आएका थिए । उहाँ पनि उनको कमाई उस्तै हुन्थ्यो । तर, मधेस र पहाडको कच्छाडमा घरेलू औजारको प्रयोग बढी हुने थाहा पाएर होक्से बसाइँ सरेका वीरवहादुरलाई पुख्र्यौली पेशाले चिनाएको छ । पुख्र्याैली पेशाकै कारण उनले ६ जनाको परिवार राम्रोसंग पालनपोषण गरेका छन् भने घर बनाउँदै १५ कठ्ठा जमिन समेत जोडेका छन् ।
पछिल्लो समय धेरै युवापुस्ता पुख्र्यौली पेशा गर्न चाहँदैनन् । जसका कारण आरन बसाल्ने पेशा जस्तै अन्य धेरै पेशा संकटमा छन् भने केही त लोप नै भइसके । तर, वीरवहादुरले हजुरवुवाले गरेको त्यही पुख्र्यौली पेशाबाट कहिलेकाहिँ त मासिक लाख रुपैयाँसम्म कमाइ गर्छन् ।
गर्न जाने यहीँ हुन्छ– वीरवहादुरले भने– छोराले पनि यही पेशा सिकेको छ । तर, ऊ यो पेशा मन लगाएर गर्न चाहँदैन ।’ छोरो विदेश जान जोडबल गरिरहेको छ– उनले भने– ‘के विदेशमा त्यसै रुपैयाँ पाइने हो र ? मेरा छोरा जस्तो धेरैले विदेश जाने भन्दै मन बरालेका छन् । तर, गर्न जाने यही हुँदोरहेछ ।’
वीरवहादुरले आफूले तयार गरेको सामानको बिक्रीका लागि रेट नै बनाएका छन् । फलाम दिएर फरुवा बनाउनु परे दुई सय, आफ्नै फलाम प्रयोग गरिए साढे ६ सय रुपैयाँ लिने गरेको उनको भनाइ छ । उनी भन्छन्– अर्जापेको मात्रै एक सय रुपैयाँ लिन्छु । हँसिया अर्जापे ६०, खुर्पा सिक्कल अर्जापे एक सय रुपैयाँ लिने गरेको छु ।
खुकुरीदेखि करुवासम्म बनाउने बीरवहादुर आफ्ना पेशामा सन्तुष्ट छन् । बिगत सम्झँदै उनी भन्छन् – कसैलाई होच्याउनु परे आरन बसेको कामी जस्तो भन्ने चलन थियो । तर मलाई त्यही आरनले घरमै विदेश भएको छ । अहिले गाउँभरिका मानिसले मैले बनाएको सामान राम्रो भन्दा खुशी लाग्छ– उनले भने– ‘हिजो आरन पेशालाई गिज्याउनेहरु अहिले मेरो कमाई देख्दा लोभिएका छन् ।’
वीरवहादुरले बनाएका औजारहरु इलामसम्म पुग्ने गरेका छन् । ‘बुधवारेका बीरेको पाइन राम्रो हुन्छ’– भन्दै इलामबाट पनि आएको सुन्छु, खै राम्रै भएर त होला नि सबैले कुटोकोदालो किनेर लाँदैछन्– उनले ठट्यौली पारामा भने– छोराले पनि यही लाइन समाते अझ बढी कमाइन्थ्यो । छोरालाई आरनको र पाइन लगाउन सिकाइरहेको छु– बीरवहादुरले भने– अचेलका केटा आरनमा बस्न मान्दैनन् । अहिले मकैको सिजन छ– उनले भने– ‘आज मात्रै एक बिहानमा २५ सय कमाएँ । पहाडे कोदालो बिक्री भयो, अहिले चिया काट्ने सिक्कल बनाउँदैछु’– बनाउँदै गरेको सिक्कल देखाउँदै उनले भने – ‘बल हुँदै जोड गर्नुपर्छ पछि सकिँदैन, आमाले आरन तानेकाले यो सिक्कल बनाउन पनि छिटो भयो ।’
मकैको सिजनमा पाँच हजार रुपैयाँसम्म कमाइ हुने बताउँदै उनी भन्छन्– आरनबाट कमाइ नहुने भन्ने चाहिँ होइन, सरदर महिनाको ५० हजारमाथि बचत हुन्छ ।’
फलामबाट बनाइने घरायसी औजारको माग धेरै भएकाले ग्राहकलाई भनेकै समयमा सामग्री दिन नसक्दा नरमाइलो लाग्ने गरेको बीरवहादुर बताउँछन् । उनी भन्छन्– घरमा सामान लिन आएका मानिसलाई तपाईंले भनेको सामान बनाइसकेको छैन भन्नुपर्दा अप्ठ्यारो लाग्छ ।
पुराना गाडीका स्प्रिङ ल्याएर औजार बनाउँछु– बीरवहादुरले भने– ‘ग्यारेजमा कन्ट्रयाक छ, ग्यारेजले पुराना गाडीको स्प्रिङ दिन्छ, म नयाँ औजार बनाएर बिक्री गर्छु ।’ हेर्दा सामान्य देखिए पनि उनले यही पेशाबाट मनग्ये आम्दानी गर्दै घरको गर्जाे मात्र होइन उत्तरी झापा र दक्षिणी इलाममा राम्रो पकड समेत जमाएका छन् । औजारमा पाइन मिलाएर हाल्ने हुँदा उनले बनाएका औजारहरु नदोब्रिने, छिट्टै भुत्ते नहुने भएकाले उनी सबैका प्रिय छन् ।





























