भरपर्दो बन्दै बिर्ता सिटी

0
635

सम्पादकीय

शिक्षालयहरुले शिक्षा प्रदान गर्छन्, व्यापारीहरुले बिक्रीका लागि राखिएका वस्तु बिक्री गर्छन् । अध्यापकहरु पढाउँछन्, किसान कृषि कर्म गर्छन् भने अस्पताल वा स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले आफ्नो क्षमताको भ्याएसम्म सेवा प्रवाह गर्छन् । यो नित्य र नियमित कर्म हो । तर, आफ्नो कामप्रतिको लगाव, लगान, इमान्दारिता वा जिम्मेवारीबोधबाट अनुप्राणित भई प्रवाह गरिने सेवा त्यस्तो नियमितताभन्दा बेग्लै र महत्वको रहन्छ । बद्लिँदो समय, उचालिँदो जीवनस्तर, विलाशी बन्दै गएको जीवन भोगाइले निम्त्याइएका शारीरिक समस्याहरुलाई समाधान गर्न र उपचारात्मक विधिद्वारा निर्मूल गर्न पहुँचयोग्य वातावरण र विश्वासयोग्य सेवा प्रवाह गर्नु आम सेवाग्राहीहरुका लागि सुखद् विषय हो ।

झापाको बिर्तामोड भौतिकताले समृद्ध क्षेत्र हो । स्थानीय भूगोलको एउटा क्षेत्रका रुपमा रहेको बिर्तामोड अहिले आसपासका भूगोल र क्षेत्रलाई समेटेर नगरपालिका भएको छ । यो नगरपालिका आज भौतिक पूर्वाधारका कारण जिल्लाकै केन्द्र बन्दै गएको छ । त्यसमा पनि स्नातकोत्तरसम्मको अध्ययन गर्न र अत्याधुनिक उपचारसहितका अस्पतालहरुको सञ्चालन र गुणस्तरीय सेवा प्रवाहका कारण बिर्तामोड पूर्वकै केन्द्र बन्दै गएको छ । सदरमुकाम भद्रपुर र त्यसपछि विकास भएका बजारहरु मध्येको कान्छो भएर पनि सेवा–सुविधाका दृष्टिले जेठो बनेको बिर्तामोडमा स्थापित पूर्ण–टुङ्ग बिर्ता सिटी हस्पिटलले स्वास्थ्य सेवा प्रवाहमा प्रशंसायोग्य काम गरेको छ ।

शिसाले हात छिनाएका सूर्योदय नगरपालिका इलामका रेशम राईको सफल उपचार गरेर अस्पतालले गुणस्तरीय र भरपर्दो सेवाको उदाहरण पेश ग¥यो । आकस्मिक, दुर्घटना लगायतका विपत्मा परेका विरामीलाई प्रदान गरिने ट्रमा सेन्टरको पूर्वाधारले पूर्ण बिर्ता–सिटीमा आएका राईले अर्थोपेडिक, लिगामेन्ट प्रत्योरोपणका विशेषज्ञ सर्जन रुपेशजंग बेलवासे नेतृत्वका चिकित्सक टोलीको अथक प्रयासबाट नवजीवन पाए । देश–विदेशका प्रख्यात अस्पतालहरुमा सेवा गरिसकेका डा. बेलवासेले यहाँ आएको साढे तीन महिनामै उत्कृष्ट सेवा दिएर अस्पतालसँगै बिर्तामोडको गौरव उठाएका छन् । उनले यो सफलताका लागि अस्पतालमा सञ्चालित न्यूरो सेवा र सहकर्मी चिकित्सक, स्वास्थ्यकर्मी र सुव्यवस्था जिम्मेवार रहेको बताए ।

त्यसो त उपचार गर्न स्थापित भएका अस्पतालले गर्ने काम नै सफल उपचार हो । तर, त्यसमा विश्वासयोग्य, भरपर्दो र गुणस्तरीयता भने योग्य चिकित्सकका कारण मात्र प्राप्त हुन्छ । त्यसैले डा. बेलवासे यतिबेला रेशम राईका लागि भगवान बनिएका छन् । विरामी राईले हर्षका आँशु बगाउँदै भनेका छन्– डाक्टर मेरा लागि भगवान भए, जसका कारण मैले नयाँ जीवन पाएँ । ट्रमा सेन्टरलाई आवश्यक पर्ने अर्थो, जेनरल, न्यूरो र गाइनो सर्जनहरुको उपलब्धताले राई जस्ता धेरैले जीवन रक्षा गर्न सकून् । अस्पताल, डाक्टर र सेवापेक्षी राई लगायत सबैलाई बधाई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here