चीनको कोरोनाले नेपालमा महंगी

0
617

झापा।

चीनमा तीव्रगतिमा कोरोनाभाइरस संक्रमण फैलिएपछि त्यसको प्रभाव अहिले विश्वभरि देखा परिरहेको छ । उक्त प्रकोपका कारण नेपाल पनि प्रत्यक्ष तथा परोक्षरूपमा प्रभावित भएको छ ।

नेपालमा अहिलेसम्म केवल एकजनामा मात्र कोभिड १९ अर्थात् कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । चीनमा संक्रमण फैलिएपछि धेरै नेपालीहरू स्वदेश फर्किएका छन् । बुहानबाट उद्धार गरेर ल्याइएका एक सय ७५ जना अहिले पनि क्वारन्टीनमै छन् । नेपाल आउने चिनियाँ पर्यटकको संख्या घट्दा नेपाली अर्थतन्त्र विभिन्न किसिमले प्रभावित हुने देखिएको छ । त्यस बाहेक चीनमा फैलिएको संक्रमणका कारण नेपालमा सुनदेखि लसुनसम्म महँगो भएका छन् ।

चीन विश्वकै व्यापार महाशक्ति राष्ट्र मानिन्छ । नेपालको पनि कूल आयातको झन्डै २० प्रतिशत चीनबाटै हुन्छ । त्यसमा पनि औद्योगिक कच्चा पदार्थदेखि लिएर लत्ताकपडा उतैबाट आउँछन् । तर, गएको केही सातायता त्यो व्यापार ठप्प भएको छ ।

‘चिनियाँ नयाँ वर्षको बिदा शुरु भएपछि जबदेखि त्यहाँ कोरोना भाइरस संक्रमण फैलियो तबदेखि आयात निर्यात ठप्प जस्तै छ’ –नेपाल चीन उद्योग व्यापार संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले बताए ।

स्थलमार्गबाट व्यापार हुने मुख्य नाका केरुङ होस् वा समुद्री र हवाईमार्गबाट हुने व्यापार सबै ठप्प जस्तै रहेको उनले बताए । चीनमा फैलिएको कोरोनाभाइरस प्रकोपले नेपालको अर्थतन्त्रमा पार्ने व्यापक असर बुझ्न दुईवटा मात्रै सामग्रीको अध्ययन गरे पनि पुग्ने देखिन्छ । तरकारीमा लसुन अनि सांस्कृतिक महत्व पनि भएको बहुमूल्य धातु सुन दुबैको मूल्यमा यसको असर परेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डको तथ्याङ्कले डेढ महिनामा चीनबाट आयातीत लसुनको मूल्य अढाइगुनाले बढेको देखाउँछ ।

नयाँ वर्ष लाग्दा सुकेको चिनियाँ लसुनको भाउ प्रतिकिलो दुई सय ४० रुपैयाँ थियो भने अहिले त्यो छ सयभन्दा बढी छ । अझ स्थानीय तरकारी बजारमा त त्यति मूल्यमा पाउन पनि गाह्रो भएको बताइन्छ ।

सुनको समीक्षा गर्दा कोरोना भाइरसले चीनको अर्थतन्त्र र व्यापारमा पर्ने सक्ने प्रभावको आंकलन गर्दै अन्तर्राष्ट्रिय बजारमा सुरक्षित तत्वको खोजीमा रहेका लगानीकर्ताका कारण बढेको मागकाबीच यसको भाउ उच्च बिन्दुमा पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा जनवरी १ देखि अहिलेसम्म आइपुग्दा प्रति आउन्स एक सय २५ अमेरिकी डलर बढिसकेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार जनवरी १ मा प्रतितोला ७३ हजार पाँच सय रुपैयाँमा बिकिरहेको सुन शुक्रवार ७८ हजार एक सय रुपैयाँ पुग्यो । सोही अवधिमा चाँदीको भाउ प्रतितोला आठ सय ९० बाट नौ सय १५ रुपैयाँ पुग्यो ।

केही महिनाअघि अमेरिका र इरानबीच तनाव चुलिँदा पनि नेपाली बजारमा सुनको भाउ बढेको थियो । अन्तर्राष्ट्रिय विश्लेषकहरूले कोरोना भाइरसको समस्याबारे समाचारमाध्यममा शीर्ष स्थान पाउन्जेल सुनको भाउ नघट्ने अनुमान गरिरहेका छन् । नेपालमा खासगरी चीनबाट इलेक्ट्रोनिक सामान र लत्ताकपडाको धेरै आयात हुन्छ । नयाँ वर्ष लाग्नुभन्दा अगाडि आयातीत सामानको भण्डार बिस्तारै रित्तिँदै गएको नेपाल चीन उद्योग व्यापार संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले बताए ।

‘स्टक रित्तिँदैछ । छिट्टै सामान नल्याए यहाँ लत्ताकपडा तथा अन्य आयातीत सामानको भाउ बढ्न सक्छ’ –उनले भने । तर, केही दिनयता नेपाली व्यापारीहरूले चीनबाट मालमत्ता ल्याउने मुख्य थोक बिक्री केन्द्र रहेको यिवु नगरका प्रमुखले त्यहाँ स्थिति सामान्य बन्दै गएको भन्दै सरसामान लिन आउन भनिरहेकोले अब अवस्था सुध्रने आशा उनले व्यक्त गरेका छन् ।

व्यापार बाहेक नेपालभित्रका चिनियाँ कामदार वा निर्माण कम्पनी सहभागी भएका पूर्वाधार निर्माणका काममा पनि यो भाइरस संक्रमणको असर परिरहेको बताइएको छ । चीनमा कोरोना भाइरस संक्रमणको ठीक अगाडि त्यहाँको नयाँ वर्ष परेकाले थुप्रै चिनियाँ स्वदेश गएका थिए । ती अहिले काममा फर्किन पाएका छैनन् ।

चिनियाँ कामदार र त्यहाँबाट ल्याउनुपर्ने उपकरण नआएपछि चिनियाँ निर्माण कम्पनी र कामदार सामेल रहेका गौतमबुद्ध विमानस्थल, पोखरा विमानस्थल, माथिल्लो तामाकोशी आदि नेपालका केही महत्वपूर्ण आयोजनाहरुको काम प्रभावित भएको अधिकारीहरूले बताएका छन् ।

यही अवस्था अझै लम्बिएमा निर्माण लक्ष्यमा प्रभाव पर्ने आयोजना प्रमुखहरूको चिन्ता छ । चीनमा कोरोना भाइरस संक्रमण फैलिएपछि नेपालको पर्यटन उद्योगमा पनि प्रभाव परेको बताइन्छ । चिनियाँ निर्माण कम्पनीहरूले नेपालमा विमास्थलका अतिरिक्त, सडकका साथै जलविद्युत् क्षेत्रमा पनि काम गरिरहेका छन् । त्यहाँ पनि समानको अभाव देखिएको विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘अब कामदारकै पनि समस्या भयो । अर्को चाहिँ धेरैजसो आउनुपर्ने चिनियाँ सामानहरूमा त्यहाँ गएर हामीले निरीक्षण गर्ने स्थिति पनि छैन र सामान ल्याउन सक्ने स्थिति पनि छैन । यसले गर्दाखेरि हाम्रो जलविद्युत् उत्पादन आयोजना मात्र नभई प्रसारण अनि वितरण र सब–स्टेशनका आयोजनामा पनि जहाँ धेरै चिनियाँ उपकरण प्रयोग हुन्छ त्यहाँ यसको असर देखिएको छ’ –घिसिङले भने ।

चीनको हुबे प्रान्तबाट शुरु भएको कोरोना भाइरसले हालसम्म चीनमा ७५ हजारभन्दा धेरै मानिसलाई संक्रमित बनाइसकेको छ भने दुई हजार दुई सयभन्दा धेरैको ज्यान गइसकेको छ । चीनभन्दा बाहिर चाहिँ २६ देशमा एक हजार एक सयभन्दा धेरै संक्रमणका घटना पाइएको बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here