प्रभावकारी शिक्षणमा कक्षा कोठा व्यवस्थापन

0
2786

पूर्णबहादुर कटुवाल,

शिक्षण सिकाई प्रभावकारी हुन नसकेर शैक्षिक गुणस्तर कमजोर भएको भन्ने सवाल शैक्षिक वृत्तमाम सर्वत्र चासोको विषय बनेको छ । शिक्षण सिकाई प्रभावकारी बनाउन कक्षा कोठा व्यवस्थापन र शैक्षणिक व्यवस्थापनबीच अन्यानोश्रीत सम्बन्ध रहेको छ । यी दुई पक्षको संयुक्त व्यवस्थापनबाट मात्र प्रभावकारी शिक्षण सिकाई उपलब्ध हुन सक्ने कुरामा दुईमत छैन । उपयुक्त सिकाई सहजीकरणबाट मात्र शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सकिन्छ जसले शैक्षणिक उपलब्धि प्राप्त गर्न सकिन्छ । कक्षाकोठाको समुचित व्यवस्थापन अघि शैक्षणिक व्यवस्थापनलाई समेत व्यवस्थित गरिनुपर्छ ।

प्रभावकारी र उपलब्धिमूलक शिक्षण सिकाई हासिल गर्न कक्षाकोठामा आवश्यकपर्ने सबै किसिमका स्रोत र साधनलाई व्यवस्थितरुपले सञ्चालन गर्नका लागि गरिने सम्पूर्ण तयारी नै शैक्षणिक व्यवस्थापन हो । शैक्षणिक क्रियाकलाप, शिक्षण सामग्रीको छनौट, शिक्षण विधि लगायत शैक्षिक, भौतिक तथा सामाजिक र व्यवस्थापकीय पक्षको समुचित समन्वय नै पाठ्यक्रमले तय गरेका कुरा हरु पर्दछन् । यी विषयले मात्र पाठ्यक्रमले निर्दिष्ट गरेको शैक्षिक उपलब्धि हाँसिल गर्न सकिन्छ । शैक्षणिक व्यवस्थापनले शिक्षण कार्यलाई सहजरुपले अघि बढाउन मद्दत गर्दछ । शैक्षणिक व्यवस्थापन बिना सिकाईमा आइपर्ने समस्या समाधान गर्न कठिन हुन्छ । कक्षा कोठालाई आधुनिक शिक्षणसँग जोडेर सहजरुपमा शिक्षण गर्न, सिकाईलाई उपलब्धिमूलक बनाउन कक्षा कोठाको वातावरणलाई सिकाई मैत्री बनाउनु आवश्यक छ । सिकारुको अपेक्षित सिकाई स्तर वृद्धि गर्न कक्षा कोठाको वातावरण उपयुक्त हुन आवश्यक छ । कक्षाकोठाको वातावरण अन्तर्गत शिक्षणमा आवश्यक पर्ने सामग्रीको रखाई, विद्यार्थीको बसाइ जस्ता पक्षहरु पर्दछन् ।

यसको साथै कक्षाकोठाको आकार, शान्त र सफा, उज्यालो आनन्द र मनोरम वातावरण भएमा मात्र सिकारुको सिकाईलाई सहज रुपले अघि बढाउन सकिन्छ । कक्षाकोठाको वातावरणले सम्पूर्ण शिक्षण केन्द्रीत पक्षलाई प्रभाव पारिरहेको हुन्छ । यसका साथै शिक्षक विद्यार्थीबीचको आत्मीयता, मानवीय र सामाजिक सम्बन्ध पनि सहज बनाउने प्रयास गर्नुपर्छ । त्यसैले शिक्षण सिकाइको लागि शैक्षिक, भौतिक, मनोवैज्ञानिक तथा सामाजिक सम्बन्धलाई सुदृढ बनाउनु नै कक्षाकोठाको वातावरण हो । यसले सिकाईको तह उच्च बनाउन सहयोग पुर्याउँछ । यस्तो वातावरण बनाउन सिकारुको व्यक्तिगत भिन्नतालाई ख्याल गर्दै स्वच्छ शैक्षिक प्रतिष्पर्धाको माध्यमबाट सिकाईलाई उत्प्रेरित गर्न सकिन्छ, शैक्षिक सामग्रीको छनौट, संकलन र प्रयोगले समेत सिकाईलाई उपलब्धिमूलक बनाउन सकिन्छ । यस्तै सिकारुको जिज्ञासालाई सहीरुपमा सम्बोधन गर्न सक्नु अर्को महत्वपूर्ण सिकाई कला हो । विषयवस्तुको गाम्भीर्यतालाई मध्यनजर गर्दै पूर्ण तयारीका साथ कक्षामा शिक्षक प्रवेश गर्ने हो र तनावरहित वातावारण सिर्जना गर्ने हो भने पनि कक्षा वातावरण वृद्धि हुन सक्छ ।

कक्षाकोठाको भौतिक वातावरण निर्माण गर्न सक्नु पनि उपयुक्त शिक्षण कला हो । विद्यालय शिक्षण सिकाई क्रियाकलापलाई औपचारिकरुपमा अघि बढाउने उपयुक्त स्थान हो । यो स्थान उपयुक्त सुविधासम्पन्न हुनु आवश्यक छ । सिकाईको लागि आवश्यक पर्ने बाहेक मानवीय जीवनको संवेदनाका हरेक पक्षलाई आकर्षित पार्ने किसिमको वातावरण हुन आवश्यक छ । कक्षाकोठाको भौतिक वातावरण अन्तर्गत उपयुक्त विद्यालय भवन, कक्षा कोठाको आकार, उपयुक्त प्रकाश, हावाको प्रवन्ध, तापक्रम, सरसफाई, विद्यार्थीको उमेर, उचाई र स्तर अनुसारको फर्निचरको व्यवस्थापन, बोर्डको साइज र रखाई, कक्षाकोठाको सजावट, विद्यार्थीको बसाइ व्यवस्थापन, शैक्षिक सामग्रीको उपयुक्त व्यवस्थापन लगायतका कुराहरु पर्दछन् । यी तत्वहरुले कक्षाकोठाको वातावरण वृद्धी गरी कक्षा शिक्षणलाई प्रभावकारी र परिणाममुखी बनाउन सकिन्छ ।

कक्षाकोठाको वातावरण राम्रो बनाउन सकिए बालबालिकामा शैक्षणिक लगायत आत्मविश्वास र स्वाभिमानको समेत विकास हुन्छ । उपयुक्त शैक्षणिक व्यवस्थापन गर्न सकिए मात्र उपयुक्त शैक्षिक वातावरण कायम हुन्छ । राम्रो सिकाइको लागि सिकारुमा आत्मविश्वास बढाउन आवश्यक छ । आत्मविश्वासले सिकाईमा उत्प्रेरण अभिवृद्धि गर्छ । गरेर सिक्ने वातावरण निर्माण गर्न सिकारुलाई आत्मविश्वास जगाउन सक्नुपर्छ । कक्षाकोठाको वातावरण वृद्धिबाट सिकारुले स्वतन्त्र र सहजरुपमा सिक्न सक्ने भएकोले यसलाई प्रभावकारी माध्यमका रुपमा लिन सकिन्छ । त्यस्तै सफल सिकाईका लािग सामाजिक, शैक्षिक र भौतिक वातावरणको त्रिकोणात्मक समन्वयको जरुरी पर्छ । यस्तो वातावरण भएको कक्षा कोठा हुनु भनेको सम्मिलित वातावरण भएको कक्षा कोठा भनिन्छ । यस्तो कक्षाकोठामा शिक्षण सिकाई क्रियाकलापलाई आवश्यक पर्ने सबै किसिमका पूर्वाधारहरु तय गरिएका हुन्छन् । कक्षाकोठामा विभिन्न सांस्कृतिक र सामाजिक पृष्ठभूमिबाट आएका बालबालिकालाई सिक्न सहज हुन्छ । यस्तो वातावरणमा सिकारुको क्षमता, रुची, अनुसारको शिक्षण गरिने भएकोले सिकाई अझ प्रभावकारी बन्छ । सिकारुलाई समान अवसरको वितरण, समूह विभाजन, जिम्मेवारीको समुचित बाँडफाँड जस्ता प्रक्रिया अपनाउन सकियो भने सम्मिलित कक्षा कोठा निर्माण हुन्छ । यसबाट निर्दिष्ट शैक्षिक उपलब्धि हासिल गर्न सहज हुन्छ ।

कक्षाकोठाको वातावरणमा वृद्धि गर्नको लागि आवश्यक कक्षा कोठा व्यवस्थापनमा प्रयोजनयुक्त समयचक्रको विकास गर्नु हो । यस अन्तर्गत पाठ्यक्रमले निर्धारण गरेका विषयवस्तुलाई एक शैक्षिक सत्रभित्र के–कसरी शिक्षण गरी पाठ्यवस्तुको समापन गर्ने भन्ने कुरा हो । यसमा शिक्षकले आफ्नो विषयको समयतालिका निर्धारण गरी शिक्षण गर्ने विषय समावेश हुन्छ । यसका साथै अतिरिक्त क्रियाकलाप समेत समयचक्रभित्र पर्दछन् । समयचक्रमा पाठ्यपुस्तक, पाठ्यक्रम र विद्यालयमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलापलाई शिक्षकद्वारा उपयुक्त व्यवस्थापन गरी शिक्षण गरिने समयशारिणी पर्दछ । विद्यालयमा सम्पादन गरिने सबै किसिमका शैक्षिक एवम् अतिरिक्त क्रियाकलापहरु र विभिन्न विषयको शिक्षण कार्यलाई योजनाबद्ध तरिकाले सञ्चालन गर्न उपयुक्त समयतालिका निर्माण गरी अघि बढ्न सके समय, स्रोत, साधन र परिश्रमको यथोचित उपयोग भइ शैक्षणिक उपलब्धि हाँसिल गर्न सकिन्छ ।

कक्षाकोठाको वातावरण संगठनभित्र सिकाई वातावरण, स्थानको प्रयोग, स्रोत र समयको प्रयोग पर्दछन् । कक्षाकोठाको वातावरणलालाई सिकाइयुक्त बनाउन भौतिक व्यवस्थापनको साथै अनुशासित वातावरण, स्वच्छ र सफा वातावरण लगायतका कुरा पर्छन् । व्यवस्थित कक्षा कोठा भएमात्र सिकाई वातावरण बन्छ र सिकारु र सिकाउने दुबै पक्ष उत्साहित बन्छन् । यस्तै स्थानको प्रयोगमा कक्षाकोठामा कुन सामग्री कहाँ राख्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । कक्षा कोठाभित्रका भौतिक सामग्री व्यवस्थापनले पनि उपयुक्त शैक्षणिक क्रियाकलापलाई प्रभाव पार्दछ । स्रोत र समयको प्रयोगले कक्षा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । शिक्षण सिकाईमा प्रयोग गरिने भौतिक, शैक्षिक तथा मानवीय स्रोत महत्पूर्ण हुन्छन् । पठनपाठनमा शिक्षक र पाठ्यपुस्तक मात्र भएर पुग्दैन ।

उपयुक्त स्रोत र सामग्री पनि चाहिन्छ । त्यस्तै समयको निर्धारण पनि अर्को पक्ष हो । तोकिएको समयको अधिकतम् प्रयोग गरी शिक्षण कार्यलाई प्रभावकारी बनाउन स्रोत र समयको न्यायोचित उपयोग गर्न सक्नुपर्छ । शिक्षकले मात्र सिकारुको प्रतिक्रियाको कलात्मक ढंगले व्यवस्थापन गर्न सक्ने भएकोले सिकारुको व्यक्तिगत क्रियाकलापमा जोड दिनु, व्यक्तिगत भिन्नताको आधारमा शिक्षण गर्नु, कक्षाकोठामा पुरस्कार र दण्डको व्यवस्था गर्नु जस्ता क्रियाकलाप नै कक्षा कोठा व्यवस्थापनभित्र पर्दछन् । कक्षाकोठा व्यवस्थापनलाई उचितरुपमा सम्बोधन गर्न सकेमात्र केही हदसम्म शिक्षण सिकाई क्रियाकलापमा सुधार ल्याउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here