खोप पाउनु हरेक बालबालिकाको अधिकार

0
605

लक्ष्मी उप्रेती,

दादुरा रुबेला रोग नियन्त्रण र निवारणका लागि धेरै घोषणा र प्रतिबद्घता व्यक्त भएका छन्् । विश्वव्यापी दादुरा रुबेला रोग निवारण रणनीतिक योजना २०१२÷२०२० तयार पारियो । विश्व स्वास्थ्य संगठन दक्षिण पूर्व एसियामा सन् २०२० सम्ममा दादुरा निवारण ‘केश’ शून्य गर्ने कन्जेनिटल रुबेला सिण्ड्रोम (सिआरएस ) ९५ प्रतिशत घटाउने लक्ष्य राखेर २०१५÷२०१९ रणनीतिक योजना गरी सन् २०१६ मा ५ वर्ष मुनिका बच्चाहरुलाई दादुरा रुबेला खोप सञ्चालन र सोही वर्षदेखि नियमित खोप मार्फत दादुरा रुबेला खोपको दोस्रो मात्रा समावेश गरियो ।

तर, पनि नेपाल लगायत अन्य देशहरुमा अझै दादुरा रुबेला शून्य अवस्थामा झार्न सकिएको अवस्था भने छैन् । वा नियमित खोपको कभरेज कमी र महामारीका रुपमा भएकै कारण सन् २०१९ को लक्ष्य पूरा हुन सकेको छैन् । अहिले बजारमा जसरी खोपका बारेमा नकारात्मक प्रचारहरु आइरहेका छन् । त्यसले पनि लक्ष्य पूरा हुन असर पारिरहेको छ ।
विश्वमा दादुरा रुबेला रोग नियन्त्रण र निवारणको अवस्था तथा उपलब्धि हेर्दा सन् २००० को तुलनामा विश्वमा दादुराबाट हुने मृत्युदरमा ८४ प्रतिशतले कमि आएको छ भने दक्षिण पूर्व एसियाका श्रीलंका, भुटान, माल्दिभ्स, टिमोर लिष्टे र दक्षिण कोरिया पाँच वटा देशले दादुरा रुबेला रोग निवारण गरेको अवस्था छ । सोही क्षेत्रका नेपालसहित छ वटा देशले रुवेला कन्जेनिटल रुबेला सिण्ड्रोम (सिआरएस) नियन्त्रण मात्र गरेका छन् । प्रति वर्ष करिब ६० लाख व्यक्ति रोगबाट विश्वमा संक्रमित भइरहेका छन् भने विश्वभरि संक्रमण फैलिएको दादुराका कारण दैनिक करिब तीन सय जना बच्चाको मृत्यु हुने गरेको सरकार आँकडा छ । दादुरा धेरैजसो विकासोन्मुख र कम आय भएका देशमा उल्लेख्य रुपमा देखा परिरहेको एक अनुसन्धानले देखाएको छ ।

२०१९ सेप्टेम्बर ५ मा विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रका ७२औं बैठकबाट सबै देशहरुबाट सन् २०२३ सम्ममा दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य निर्धारण गरिएको छ र नेपालले पनि त्यसमा प्रतिबद्घता जनाएको छ ।
दादुरा रुबेला रोग नियन्त्रणमा नेपालले हाँसिल गरेको उपलब्धि र अवस्था हेर्ने हो भने सन् २००० देखि सन् २०२० सम्मको अवधिमा दादुराको रोग दर ९८ प्रतिशत तथा रुबेलाको ९७ प्रतिशतले कमी आएको सरकारी तथ्याङ्क छ । सोही तथ्याङ्कलाई आधार मान्ने हो भने दादुराबाट हुने मृत्युमा ९ प्रतिशतले कमी आएको छ । सन् २०१८ मा दक्षिण एसियाका देशहरुमध्ये नेपाल पनि रुबेला तथा सीआरएस नियन्त्रण भई प्रमाणीकरण भएको थियो । स्वास्थ्य विज्ञहरुका अनुसार यो उपलब्धि र अवस्था खासै सन्तोषजनक होइन ।

नेपालमा दादुरा रुबेला शून्य अवस्थामा नभएर निवारणको अवस्थामा नरहेको, अझै पनि प्रदेश र पालिकाहरुमा दादुराको महामारी भइरहेको, जहाँ नियमित खोपको कभरेज कमी छ, त्यहाँ महामारीको रुपमा रहेको अवस्था छ । दादुरा रुबेला खोपको कभरेज पहिलो मात्रामा ९१ र दोस्रो मात्राको कभरेज ७१ प्रतिशत मात्र हुनुलाई खासै उपलब्धिमूलक ठान्न नसकिने विज्ञहरु बताउँछन् ।

विज्ञहरुका अनुसार निवारणका लागि दुबै मात्राको कभरेज सबै तह वडा, पालिका, प्रदेशमा ९५ प्रतिशतभन्दा माथि हुनुपर्छ । दादुरा एक प्रकारको भाइरसबाट लाग्ने रोग हो । दादुरा संक्रमणको भाइरस धेरै छिटो सर्ने अति संक्रामक भाइरस भएकाले छिट्टै महामारीको रुप लिन सक्छ । कुनै पनि उमेरको मानिस वा विशेषगरी ५ वर्र्ष मुनिका बालबालिकामा यो रोग धेरै लाग्ने गर्दछ । बालबालिकाकोे मृत्युकोे धेरै प्रमुख कारणहरुरु मध्ये दादुरा पनि एक हो ।

दादुरा रोगविरुद्घको खोपले रोगबाट हुने मृत्युमा उल्लेखनीयरुपमा कमी आएको विभिन्न तथ्याङ्कले पुष्टि गरिसकेको छ । यही भएर नेपाल सरकारले हरेक वर्ष राष्ट्रिय खोप अभियान सञ्चालन गर्ने गरेको छ । यसैबीच शनिबारदेखि राष्ट्रिय खोप कार्यक्रम दादुरा रुबेला खोप अभियान शुरु भएको छ । फागुन १० देखि १८ गतेसम्म सञ्चालन हुने दादुरा रुबेला खोप अभियानमा झापाको मेचीनगरका १५ वटै वडाका ९ महिनादेखि ५ वर्षमुनिका नौ हजार पाँच सय ४० जना बालबालिकालाई दादुरा रुबेला खोप तथा जन्मेदेखि ५ बर्षमुनिका ११ हजार छ सय ३६ जना लक्षित बालबालिकालाई पोलियो थोपा समेत खुवाउने लक्ष्य रहेको छ । दादुरा रुबेला खोपका लागि ९ महिनादेखि ५ वर्षमुनिका तथा पोलियो खोपका लागि जन्मेदेखि ५ बर्षमुनिका बालबालिका लक्षित समूहलाई लिने गरिएको छ ।

दादुराको भाइरस नाक तथा घाँटीमा वृद्घि भएर यसले श्वासप्रश्वास नली एवम् शरीरको अरु भित्री अंगहरुमा संक्रमण, रोगीले हाच्छिउँ गर्दा हावाको माध्यमबाट यो भाइरस एकव्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने गर्दछ । बिमिरा देखा पर्नुभन्दा चार दिन अघिदेखि र देखापरेको चार दिनपछिसम्म यो रोग रोगीबाट अर्काे व्यक्तिमा सर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।
उच्च ज्वरो रोगीसँग सम्पर्क भएको १०–१२ दिनपछि आउने, नाकबाट पानी बग्ने, खोकी लागने वा आँखा रातो हुने, रोगीसँग सम्पर्क भएको पहिलोदेखि तेस्रो हप्ताभित्र राता बिमिराहरु देखा पर्ने, बिमिराहरु पहिले अनुहारमा गर्धनको माथिल्लो भागमा देखा पर्दछ र तीन दिनभित्र तल सर्दै जीउको सम्पूर्ण भाग र हात–खुट्टामा पनि देखापर्नु दादुरा रोगका लक्षण तथा चिन्हहरु हुन् । कुनै व्यक्तिलाई ज्वरो आएमा वा रातो डाबर तथा बिमिराहरु देखिएमा अथवा चिकित्सकले दादुरा भनेर शंका गरेमा त्यस्ता रोगीहरुको खोज पडताल, निगरानी र परीक्षण गर्नुपर्ने मेची अञ्चल अस्पताल भद्रपुरका प्रमुख डाक्टर पिताम्वर ठाकुरको भनाई छ ।

मेचीनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक शशीकला राईका अनुसार दादुरा रोगको कुनै उपचार छैन् । लक्षण तथा जटिलताको आधारमा उपचार गर्ने, दादुरा भएका प्रत्येक बिरामीलाई उमेर अनुसार भिटामिन ए खुवाउनुपर्छ । यसको बच्ने एकमात्र उपाय तोकिएको उमेरमै दादुरा खोपविरुद्घको खोप दिनु नै हो । आँखामा समस्या भई अन्धोपन हुनु, झाडापखाला र कुपोषण, कान पाक्ने, श्वासप्रश्वासको कडा संक्रमण हुनु, मस्तिष्कमा कडाखालको सुजन हुने, मस्तिष्क ज्वरो आउने, कम्पन, दादुरा रोगका जटिलताहरु हुन र यसैका कारण मृत्यु पनि हुन सक्ने डाक्टर ठाकुरको भनाई छ ।

के हो त रुबेला

चिकित्सकहरुका अनुसार रुबेला आरएनए भाइरस हो । यो रोग बालबालिका एवम् वयस्कहरुमा पनि देखा पर्न सक्छ । प्रायः गरी गर्भावस्थाको पहिलो तीन महिनामा रुबेला संक्रमण भएमा यो भाइरसले ती महिलाबाट जन्मिने शिशुहरुमा विभिन्न प्रकारको जन्मजात विकृति भएर जन्मिने छन् । उनीहरुका अनुसार श्वासप्रश्वासको माध्यमबाट यो रोग एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने गर्दछ ।

नाक तथा घाँटीमा यो भाइरसको बृद्घि भएर शरीरको अन्य भागमा सर्दछ, बिमिरा देखा पर्नुभन्दा एकहप्ता अघि वा बिमिरा देखिएको पाँच दिनपछिसम्म यो भाइरस रोगीबाट अन्य व्यक्तिमा सर्न सक्छ, सिआरएस भएर जन्मेको नवजात शिशुले एक वर्षको उमेरसम्म यो भाइरस अरुलाई सार्न सक्छ । भाइरस शरीरमा प्रवेश गरेको १४ दिनपछि यो रोगको लक्षण देखापर्ने, शरीरमा बिमिरा आउनुका साथै ज्वरो आउने घाँटीका ग्रन्थीहरु बढ्ने, बिमिरा आउँदा शुरुमा अनुहारमा त्यसपछि शरीरका विभिन्न भागहरुमा सर्दै खुट्टासम्म फैलिने र यी बिमिराहरु तीन दिनपछि आफै हराउँदै जानु रुबेला र कन्जेनिटल रुबेला सिण्ड्रोमका लक्षणहरु हुन् ।

स्वास्थ्यकर्मी रामनारायण यादवका अनुसार हाडजोर्नीहरु सुनिनु, रक्तश्राव हुनु, मस्तिष्कमा कडा खालको सुजन हुने रुबेला रोग लागेमा हुने जटिलताहरु हुन् । यी सँगै गर्भावस्थामा संक्रमण भए गर्भपतन हुने वा मृत शिशु जन्मिने, कानमा हुने विकृति बहिरोपना र आँखामा हुने विकृति अन्धोपना, मुटुमा समस्या, मस्तिष्कमा समस्या, कलेजोमा असर समेत पुग्दछ । दादुराको जस्तै रुबेला रोगको पनि कुनै उपचार छैन् । यो रोगबाट हुने लक्षण वा जटिलताहरुको उपचार गर्नु नै यसको उपचार हो भने तोकिएको उमेरमै रुबेलाविरुद्घको खोप दादुरा रुबेला खोप दिनु नै रुबेला रोगबाट बच्ने एकमात्र प्रभावकारी उपाय भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here