बाह्रदशीको ऐतिहासिकता जोगाऔं

0
559

सम्पादकीय

झापाको बाह्रदशी जिल्लाकै पुरानो, ऐतिहासिक र पौराणिक महत्व बोकेको ठाउँ हो । यो ठाउँ सामरिक महत्वका दृष्टिले समेत महत्व भएका कारण हुनसक्छ कुनै समय यहाँ प्रशासनिक कार्यालयहरु समेत थिए । भूगोलका हिसाबले पनि अत्यन्त उपयुक्त थलो भएकाले हुनसक्छ बाह्रदशीमा आठ दशकअघि नै बसोबास थियो । बाह्रदशी श्रीमद्भागवतको आठौं स्कन्धमा समेत समाबिष्ट ठाउँ भएकाले यसको प्राचीनताको अनुमान गर्न सकिन्छ । कञ्चनगढ, साधुकुटी लगायतका नामले समेत सम्बोधन गरिने यस ठाउँलाई प्रवद्र्धन गर्न सकिए, त्यहाँको ऐतिहासिकताको पुनर्उत्थान हुनुका साथै इतिहासको समेत संरक्षण गर्न सहज हुन्छ ।

स्थानीयबासी अहिले बाह्रदशीको उत्थानमा जुटेका छन् । स्थानीय जागरुक, अग्रज तथा समाज सुधारको चिन्ता गर्नेहरुको बलमा यहाँ रहेका धार्मिक स्थलहरुको माध्यमबाट बाह्रदशीको मुहार फेर्ने प्रयास भइरहेको छ । यसैक्रममा प्रत्येक वर्ष धार्मिक अनुष्ठान भइरहेको छ भने शिवरात्रि र बालचातुर्दशीमा मेला लाग्ने गरेको छ । अहिले बाह्रदशीको मुहारमा कान्तिको सञ्चार गर्ने उद्देश्यले गाउँपालिकाले भ्यू–टावर निर्माण गर्ने योजना ल्याएको छ । ‘मधेशभित्रको पहाड’ भनिने बाह्रदशीको डाँडामा भ्यू–टावर बनिएपछि सम्पूर्ण झापालाई एकै ठाउँबाट हेर्न सकिने अपेक्षा गरिएको छ । यसका लागि स्थानीय सरकार गाउँपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बाह्रदशीको इतिहास, धर्म, संस्कृति र भूगोल समेतको महत्वबोध गरेर गाउँपालिकाको नामकरण गरिएको छ । त्यसैले नामको सार्थकताका लागि समेत स्थानीय सरकारले विशेष योजना ल्याउनै पथ्र्यो । अब स्थानीय अगुवा, संघ–संस्था समेतको सहकार्यमा प्राचीनतम् इतिहास बोकेको बाह्रदशीको काँचुली फेर्न पालिकाले उदारता देखाउनुपर्छ । यस बाहेक बाह्रदशी सामुदायिक वन क्षेत्र समेत रहेकाले यस ठाउँमा पर्यटकीय सम्भावना पनि उत्तिकै छ । वन क्षेत्रमा विगतमा भइरहेको अतिक्रमण र दोहन रोक्न समुदायलाई हस्तान्तरण गरेपछि जोगिएको वनलाई पर्यटकीय आकर्षणको गन्तव्य बनाउन सकिए बाह्रदशीको सौन्दर्यता अझै निखार आउनेछ ।

अहिले विश्वको वातावरण प्रतिकूल बन्दैछ । प्रदुषणको मात्रा बढ्दै जाँदा विश्व ब्रह्माण्डकै तापक्रम वृद्धि भइरहेको छ । हावा, पानी, माटो र ध्वनी प्रदुषणका कारण मौसम परिवर्तनदेखि अनेक विपत्तिहरु सृजना भइरहेका छन् । त्यसलाई जोगाई, ओजोन तहको रक्षा गर्दै दिगो विकासको लक्ष्य अनुरुप गतिविधि सञ्चालन गर्नु आजको पहिलो आवश्यकता हो । यसका लागि वातावरणमैत्री क्रियाकलापहरु सञ्चालन गरिनु पर्दछ । जसले प्रकृतिको रक्षा गर्दै सन्तुलित उपयोगका माध्यमबाट असरमुक्त वातावरण निर्माणमा सहयोग गर्छ । त्यसैले त्यहाँको वनलाई पर्यावर्यटनको नीति अनुरुप प्रयोग गरिनुपर्छ । पर्यटकहरुको आवागमनबाट हुनसक्ने धुलो, धुँवा लगायतका प्रदुषण कम गर्ने, जैविक विविधताको रक्षा गर्ने र वातावरणीय असर कम गर्ने योजना सञ्चालन गरी आर्थिक लाभ समेत लिन सक्ने कार्ययोजनासहितको निस्प्रह सेवाले बाह्रदशीले काँचुली फेर्न सकोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here