झापामा आत्महत्या घटना भयावह बन्दै गएपछि प्रहरीलाई चुनौती

0
359

भद्रपुर।

सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इमो, वाटसप मा बढ्दो विकृतिका कारण झापाका युवायुवतीमा आत्महत्या घटना भयावह बन्दै गइरहेकाले प्रहरीलाई चुनौती थपिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले कचनकवल गाउँपालिकामा सोमबार आयोजना गरेको एक दिवसीय आत्महत्या न्यूनीकरण सम्बन्धी कार्यक्रममा जिल्लाको तथ्याङ्क सार्वजनिक गर्दै प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले उक्त जानकारी गराएका हुन् ।

आर्थिक वर्ष ०७३/०७४ देखि ०७६/७७ को फागुन ११ गतेसम्मको जिल्लामा आत्महत्याको तथ्याङ्क हेर्दा ८ सय ५६ जनाले आत्महत्या गरेको छ । आर्थिक वर्ष ०७३।७४ मा २३० जना, ०७४।७५ मा २४७ जना, ०७५/७६ मा २८८ जना र ०७६/७७ को फागुन ११ गतेसम्म ९१ जनाले आत्महत्या गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए । ‘सामाजिक सञ्जालका कारण झापामा बढ्दो आत्महत्याले प्रहरीलाई चुनौती थपिँदै गएको छ,’ प्रहरी उपरीक्षक कोइरालाले भने, ‘झापामा हरेक वर्ष आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गइरहेको छ, आत्महत्या न्यूनीकरण गर्न सचेतना मूलक अभियानको आवश्यकता छ ।’

पछिल्लो समयमा पारिवारिक अस्थिरता, साथीभाइबाट अलग हुने र परीक्षाको परिणाम र अध्ययनमा हुने असफलताका कारण पनि आत्महत्याका घटना हुन थालेको उनले बताए । सामाजिक सञ्जालमार्फत विभिन्न आर्थिक प्रलोभन देखाएर, फकाएर, धम्क्याउने जस्ता अपराध गर्नेको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ । सामाजिक सञ्जालमा आफ्नो सम्पूर्ण परिचय खुल्ने विवरण नराख्न, आफू घुम्न या काम विशेषले गएको स्थानको बारेमा तस्बिर खिचेर सामाजिक सञ्जालमा नराख्न उनले सबैलाई आग्रह गरेका छन् ।

यता विएण्डसी हस्पिटल बिर्तामोडका मनोरोग विशेषज्ञ डा। सन्दर्भ अधिकारीले आत्महत्या न्यूनीकरणका लागि सबै तह र तप्काले ध्यान दिने आवश्यक रहेको बताए । विश्वमा हरेक दिन प्रति ४० सेकेन्डमा एक जना व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । प्रतिदिन ३ हजार जनाले दैनिक आत्महत्या गर्छन् । यो समस्या झापासहित नेपालभरि रहेको छ ।

सङ्घीय गाउँपालिकाका अध्यक्ष अञ्जार आलामको अध्यक्षता तथा सांसद राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्य भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निमसरि राजवंशी, वडाध्यक्ष, शिक्षक, विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here