विर्तामोड,
जिल्लाका निर्माण व्यवसायीहरुको छाता संगठन निर्माण व्यवसायी संघ झापाको १४ औं चुनावी साधारणसभा आगामी चैतको पहिलो साता हुने भएको छ ।

संघका अध्यक्ष मिलन वस्नेतको अध्यक्षतामा हालै सम्पन्न कार्यसमिति बैठकले आगामी चैत ७ र ८ गते १४ औं साधारणसभा विर्तामोडमा सम्पन्न गर्ने निर्णय गरेको हो । ७ गते साधारणसभाको उद्घाटन समारोह सम्पन्न हुनेछ भने ८ गते नयाँ कार्यसमिति चयनका लागि चुनावी कार्यक्रम हुने अध्यक्ष वस्नेतले जानकारी दिए ।
बैठकले साधारणसभा सफल बनाउन मूल समारोह समितिलगायत विभिन्न उपसमिति गठन गरेको छ भने निर्वाचन सम्पन्न गर्न एक निर्वाचन समिति गठन गरिएको महासचिव ओम पौडेलले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष वस्नेतको संयोजकत्वमा कार्यसमितिका पदाधिकारी, पूर्व अध्यक्षहरु, संघका सल्लाहकारहरुसमेतको प्रतिनिधित्व रहेको २७ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने महासचिव पौडेलको संयोजकत्वमा सहकोषाध्यक्ष चन्द्र खत्री, सदस्य सुलभ खतिवडा, तुलसी भट्टराई र सञ्जि थेबे सदस्य रहेको प्रचार–प्रसार उपसमिति, कोषध्यक्ष भीमचन्द्र भट्टराईको संयोजकत्वमा रमेश अधिकारी, यज्ञनिधि भूर्तेल, लोकेन्द्र श्रेष्ठ, राजकुमार राई, रामप्रसाद बाराकोटी र अनिल भट्टराई सदस्य रहेको आर्थिक उपसमिति, प्रथम उपाध्यक्ष शरद खनालको संयोजकत्वमा प्रमानन्द भट्टराई र रमेश अधिकारी सदस्य रहेको अतिथि स्वागत उपसमिति, द्वितीय उपाध्यक्ष मौषम थापाको संयोजकत्वमा तृतीय उपाध्यक्ष प्रमानन्द भट्टराई, भीमचन्द्र भट्टराई, यज्ञनिधि भूर्तेल, नयन बराल र भगवान वस्नेत सदस्य रहेको मञ्च व्यवस्थापन, खानपिन तथा आवास उपसमिति गठन भएको छ ।
संघका पूर्व अध्यक्ष गोपालबहादुर थापाको संयोजकत्वमा इन्द्रप्रसाद खनाल, चन्द्र सापकोटा, लीला गुरागाईं र हरि अधिकारी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको अध्यक्ष वस्नेतले जानकारी दिए ।
साधारणसभाको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहबाट हुने तय भएको पनि अध्यक्ष वस्नेतले जानकारी दिए । साधारणसभामा केन्द्रीय नेताहरु, प्रदेश नं १ का अध्यक्ष मोहनप्रसाद अधिकारीलगायत प्रदेशका नेताहरुको उपस्थिति रहने बताइएको छ ।
संघमा हाल झण्डै २५० सदस्य रहेको संघका कार्यालय सचिव ज्योति पौडेलले जानकारी दिए ।
संघको चुनावी साधारणसभा नजिकिएसँगै जिल्लाका निर्माण व्यवसायीहरु माझ चुनावी चहलपहल पनि शुरु भइसकेको छ ।































