अमित खम्बू
अर्जुनधारा,
‘नेपाल भ्रमण वर्ष २०२०’लाई लक्षित गरी आगामी चैतमा हुने नगर महोत्सव पूर्व तयारी कार्यक्रमअन्र्तगत अर्जुनधारा–८ वडा समितिले वडामा रहेका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शन गरेको छ ।

‘आन्तरिक पर्यटनको प्रबद्र्धन गरौं,नेपाल भ्रमण वर्ष सफल पारौं’ भन्ने मुख्य नारासहित प्रदर्शन गरिएको फोटोहरुमा सय वर्ष पूरानो जिल्लाकै ऐतिहासिक शनिश्चरे बजार, २००५ सालमा स्थापना भएको जिल्लाकै दोस्रो र नगरको पहिलो शैक्षिक संस्था शनिश्चरे माध्यमिक विद्यालय, महाभारतकालिन झल्को दिने कृष्ण र अर्जुनको प्रतिमा रहेका छन् ।
त्यसैगरी नवदुर्गा भवानी कात्यायनी शक्तिपीठ, शितला दुर्गा पाञ्चायन मन्दिर, सिंहदेवी मन्दिर, सेतीदेवी देवीथान, बौद्ध गुम्बा, देवकोटा पार्क, चिया बगान र रबर बगान रहेको छ । वडामा सुरु भएको पूर्व तयारी कार्यक्रम अन्र्तगत अन्य वडा भन्दा फरक ढंगले आफ्नो वडाभित्र रहेका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनीमार्फत् जानकारी दिनु राम्रो कार्य भएको सहभागीहरुले बताए ।

नेपाल भ्रमण वर्ष चलिरहँदा वडाले सुरु गरेको उक्त कार्य नगरले आयोजना गर्ने वृहत नगर महोत्सवमा पनि नगरभित्र रहेका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शन गर्नु आवश्यक रहेको अर्जुनधारा उद्योग वाणिज्य संघका पूर्व सचिव चर्तुभूज काफ्लेले बताए ।
वडाध्यक्ष गोपीचन्द्र गौतमको अध्यक्षता र पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको प्रमुख आतिथ्या आयोजित सोही कार्यक्रममा ‘उपमेयरसँग आमा शिशु कार्यक्रम’को समुद्घाटन गरिएको थियो ।
त्यस कार्यक्रममार्फत् नगरभित्रका सुत्केरी आमाहरुलाई स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परामर्शसँगै नगरपालिकाकोतर्फबाट विभिन्न सेवाहरु प्रदान गरिने उपप्रमुख कमला खतिवडा आचार्यले बताइन् ।“जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको टोली घरदैलो अभियान मार्फत् आमा र शिशुको अवस्था बुझ्न घरमा पुगी उनीहरुलाई प्रोत्साहन स्वरुप विभिन्न सामग्रीहरु दिन्छौं”–उनले थप प्रष्ट पारीन् ।
प्रमुख अतिथि बुढाथोकी, नगर प्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडा आचार्यलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा सांस्कृतिक तथा साहित्य प्रतियोगिता सञ्चालन गरिएको वडा सचिव सस्मिता लूँइटेलले बताइन् । वडा सदस्य एवम् नगर भाषा, कला र साहित्य समितिकी संयोजक सुशिला सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन इन्दिरा दाहालले गरेकी थिइन् ।
यसैबीच नगर महोत्सवलाई लक्षित गरी गत फागुन ४देखि अर्जुनधारा–७बाट सुरु भएको पूर्व तयारी कार्यक्रम अर्जुनधारा–८मा सम्पन्न भएको छ । कार्यक्रमअन्र्तगत विषयगत शाखाहरु स्वास्थ्य शाखा, कृषि शाखा, पशुपन्क्षी, मत्स्य तथा कछुवा विकास शाखा, योजना शाखा र राजश्व शाखाले कार्यक्रममा आउने सहभागीहरुका लागि शिविर सञ्चालन गरी विभिन्न सेवा प्रदान गरेका थिए ।
जसमा स्वास्थ्य शाखाका सहसंयोजक दुर्गा चापागाईंका अनुसार जम्मा १९७७ जनामध्ये ओपिडी सेवा ५५४ जनाले, ल्याब सेवा ६३१ जनाले, भीआइए परीक्षण २९१ जनाले, कार्डियक डाइबिटीक ३०५ जनाले र चर्म रोग सम्बन्धी सेवा १९६ जनाले लिएका छन् ।
त्यसैगरी कृषि शाखाका प्रमुख दिपक गिरीका अनुसार जम्मा १२०३ जनामध्ये ६४२ जनालाई कृषि परामर्श सेवा, ४०२ जनालाई विषादी वितरण र वडा नम्बर ४ र १०मा १५९ जना कृषकको माटोको नमूना परीक्षण गरिएको छ ।
त्यसैगरी पशु सेवा प्राविधिक बेनुप बस्नेतका अनुसार सात सय १४ जना पशुपालक कृषकलाई परामर्श, ७४५ वटा चौपायाको गोबर परीक्षण र ४१ वटा पशु बन्ध्याकरण गरिएको छ ।































