बिर्तामोड,
बिर्तामोड–१ स्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कूलको आयोजना तथा सिटिफ नेपालको संयोजनमा शैक्षिक नविनता र एक्काइसौं शताब्दीमा शिक्षामा देखिएको चुनौति विषयक कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।

विद्यालयमा अध्ययनरत् कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई किताबी शिक्षाका अतिरिक्त नैतिक, आत्मिक, उत्प्रेरणात्मक शिक्षा दिने उद्देश्यले तालिम प्रदान गरिएको विद्यालयका प्रिन्सिपल सन्तोष सुब्बाले बताए । दुई चरणमा भएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा कक्षा ४ देखि कक्षा ६ सम्मका विद्यार्थीहरुलाई तालिम प्रदान गरिएको थियो ।
सिइएस बालक्लवकी अध्यक्ष रेवा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सिटिफ नेपालकी प्रशिक्षक पवित्रा लामाले उद्देश्य प्राप्तिमा पर्सनल डायरीको महत्व, बुलिङवाट वच्ने तरिका, आत्म अनुशासनको महत्व, आत्मप्रेरणा मार्फत अध्ययन प्रति जागरुक बन्ने तरिका, जंकफुडको बेफाइदा लगायतका बारेमा विद्यार्थीहरुलाई जानकारी दिएकी थिइन् ।
कार्यक्रममा विद्यार्थीहरु जस्मिन चौहान, सक्षम सिवा, दीया पौडेल, प्रकृति खनाल, दिपीका फुँयालले जिज्ञाशा राखेका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थीहरु युनिषा तामाङ र जेनिषा कार्कीले गरेका थिए ।
त्यसैगरी दोस्रो चरणमा कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई तालिम प्रदान गरिएको थियो । सिइएस बालक्लबकी अध्यक्ष रेवा पोखरेलको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिटिफ नेपालका प्रशिक्षक सिएम बस्नेतले तालिमको सहजीकरण गरेका थिए ।
उनले आत्मिक, उत्प्रेरणात्मक शिक्षा, एक अर्काप्रति गरिने आदरभाव, मित्रताको महत्व, साथी छनौट गर्ने तरिका, मातापिताप्रतिको सन्तानको दायित्व, सफलताको सूत्र, सामाजिक सञ्जालको प्रयोगले अध्ययनमा पार्ने प्रभाव, शिक्षकको महत्व लगायतका बारेमा विद्यार्थीहरुलाई जानकारी दिएका थिए ।
कार्यक्रममा विद्यार्थीहरु रेवा पोखरेल, ऐश्वर्या अधिकारी, एलिशा मोहरा, अनुग्रह कँडेल, कमलकिशोर फुँयालले जिज्ञाशा राखेका थिए । कार्यक्रममा बिर्तामोड १कि वडासदस्य तथा अभिभावक कमला मोहरा, शिक्षक अभिभावक संघकी सदस्य राधिका फुँयाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थीहरु कुशल मिश्र र निर्चरा धिमालले गरेका थिए ।































