रामदुलारी र गौंथलीको बाऊबीच बिच्चमा भनाभन

0
1138

व्यंग्यनारान पाँडे,

“अइआ हउ, अब उति खट्नसक्न छाडिएछ गाँठे । उता सन्मान्नीए पर्दानमन्त्री केपी ओली अस्पताल भर्ति होइबक्सिनु भइबक्सेकै ट्याममा मेरो बर्गत ख्याउटिनु यो देशका लागि पिटिस्सै राम्रो लच्छिन् होइन भन्ने ट्यान्सिन पनि छ । तर, तेति भइराख्या भा पनि अस्ति सउँबारदेखुन् यो रामदुलारी आ’र ढुक्कै बसिराखेकी छे र भात–भान्सा जुठेल्ना–सुठेल्नाको कामबड फिरी भइरछु । जीउ–ज्यानमा बर्गत खलास भइरछ र भा पनि यल्लाई मर्निङ वाक् गराउँदै आउँदा तपइँको घर देखेसि किन बाटो काटम् भन्र तपइँकाँ छ्यास्स मुख देखाउन निस्क्या मात्तै । सन्मानन्नीए पर्दानमन्त्री कम्रेट अस्पतालबड घुर्ती सबारी नभउन्ज्याल र राजनीतिकको पोल्टिकल टपिक के हुन्छ र हामेरुसँग ? फेरि हामेरु सिन्यार पोल्टिस्यानका हकमा पोल्टिसबाएक अरु–अन्ने कुरो गरिहिन्ने हेबिट पनि हुँदैन, होइन्त पाँडे भाइ ?”

मैले रामदुलारीतिर इत्रिँदै भनें— “यो रामदुलारीको शरीर त दाइको भन्दा डबलै पो भएछ त ? कत्ति मोटाइछ यो त ? गालाहरु पनि सप्रेको भोगटे जत्रा–जत्रा भएछन् । यसैको सेप लागेर दाइ खिइनु भएको त होइन ? ठूलो रुखको छहारीमा झारपात सिक्रिन्छन् नि ? त्यस्तै ।”

रामदुलारीले त्यसको शरीर छचल्काएर मसक्क मस्काउँदै भनी— “अँअँअँ…यो पाण्डे सर भी…!”
गौंथलीको बाऊले गर्वले फुरुक्क हुँदै भने— “एल्लाई केको कमी छ र ? बेहारको इण्ड्या घर जाँदा उहीँकी नागृक, एता नेपालको मेरो घराँ आउँदा एतैको नागृक । फराक के मात्तै भने— इण्ड्याको नातृकता भन्या रासिन काठ र भोटर लिस्टीमा नाम र एता नेपाल आउँदा मैले निक्कै सोस्फोस् ला’र चाइनेकेरे आदै दाममा किनाइदेको नागृकता पर्माणपत्रको अर्जिनिल काठ । एता एलेक्सिनको भोट हुँदा एत्तै भोटर्नी अनि त्याँड उता एलेक्सिनको भोट हुँदा उतै भोटर्नी । फेरि एस्को मोटाउने पलस पोइँट चइँ के छ भन्लाऊ भने— यो राम दुलारे उत्ता जाँदाहुँदी उस्को मरद र चाडा छोराछोरीका पीरले दुब्लाएसि मेरामा आउँछे ती–तीन चा–चार मैना नबिराई र पन्द्रबीस दिन मेरा घरको खानदानी खान्की खाँदै उस्का सरहेरुसित भेट–मुलाकात रामरस गर्न कैले चन्दडी टुर, कैले बिर्तामोठ टुर, कैले काँकरभिट्टा टुर र कैलेकाइँ सिल्गढी टुर गर्दै हुटेलका टेसिला नस्ता खाँदै एस्सरसाइचका एस्सरसाइच गर्न पाएसि के नमोटाओस् त ? एस्को त छ त चैन । टुरमा नगकी दिन पूरै आदा किलो चामलको भात, दाल–तर्कारी, चार्टा मुठ्ठीभरका आलूको चोखा, तीन ढिँडी खोर्सानी ग्यामग्याम हसुरेर दिसभरि सुत्छे । उठेपछि तीन पोका छ्याउछ्याउ दुई लोटा पानीमा उमालेर चाइनेकेरे चर्लक्कै फिनिस्याउँछे । साँज परेसि मसँगै नार्रिएर कैलुको भट्टी हुटेलमा तेस दिसभरि काटेका बोइलारका खुट्टा जति भे पनि पोल्न ला’र तीसित दुई बदल खोयाबिर्के तन्तनी तान्छे । तेससि घर आ’र बेहान उभ्रेको भात नून–खोर्सानीसित चाटीचुटी फिनिस पार्छे अनि त्याँड भर्लङ्ग ओछेनमा पल्टिन्छे । तेससि…तेससि…मेरो शरीर र सोस्थे तेस्सै उस्कोभन्दा आद्दा भा’हो र ?”
रामदुलारीले के बुझी कि बुझिन पनि कि, उसले भनी– “देख्नु त पाँडे सर, यो गाउँथेलीबाऊ बूढा, कस्सैको बुल्नु दिन्दैन, ऊ एक्का बुल्छ । यो बूढासे तो पाँडे सर अच्छा छ । इता मकान भी पाक्का छ । यो बूढाके मकान तो झोप्री छ, हँ ।”
मेरो आङ जुर्कियो— ‘ए गाँठे, गलपासो त हुने होइन ?’

रामदुलारीले फेरि भनी— “मै जब्–जब् इता आउन्छुँ यो गाउँथेलीबाबु ओर–ओर बूढा देख्छुँ और यो बूढाको नाराम्रो कच्रा मान्छी हेर्छुँ । ….मै तो इता पाँडे सरको घरमे आच्छा मान्छुँ । मगर पाँडे सर कि कहनुहुन्छ ?”
मेरो मन चिइइइसो पनि भयो तापनि उतिर दोहोर्याएर हेरेपछि त्यही मनले फर्केर तातो हुँदै भित्रभित्रै भन्यो— ‘यो बूढो नभए त कोनि है के भन्नु पनि पर्ने खण्ड पनि पथ्र्यो कि ।’….

गौंथलीको बाऊले रीसले हो कि केले हो थर्थर् ओठ कमाउँदै भने— “ल हेर त रामदुलारी, तेरा मुखाड कस्ता असती बाक्के किस्क्या ? हन हाम्रा सन्मान्नीए पर्दानमन्त्रीलाई अस्पतालबड फेरि–पुनह सिम्मदर्बार घुर्न देपछि म तँलाई लिस्टिक, पाउडर, रिबिन, किलिप, दाँत माज्ने कोलगेट–बुरुस, नङ पालिस चाइनेकेरे आँखाँ घस्ने गाजर इत्तेदि तँलाई एक्कैछिन्मा ट्यानछ्यान–वानफिट बिउटीफुल हिरोनी बन्ने जिनिसपत्रहेरु किन्दिन्छु भनेकै थेँ त । तेरो अण्डरप्यान फाट्यो भन्र अस्तिइइइ नै ए’दिन तइँले भन्नासाथ मैले किन्दिन्छु भन्या थेँ कि थिन ? आज तँ किन पाँडेको जमानी र घर हेरेर मख्ख पर्छेस् ? तँलाई कोसित काँ जान दिया छैन–कोसित रमरस गर्न जान्छु भन्दा बलक गर्या छु मैले ? हेर, म भनेको अ‍ैल्या कञ्चन–पवित्र कम्रेट हूँ । अस्ति कोर्यान माता हगजा हान्मुन आका ट्याममा होल्ली वाहिन भन्ने पबित्र दारुले केजाति भको पबित्र व्याक्ति पो हुँ त । तँ कि तेसरी इ पाँडेतिर सल्केर उभिन्डिन्छेस् हँ । राज्दर्बारबड गेटौट खेलाइएका राजा मान्ने चाइनेकेरे इँटाभट्टीमा एक बी–स दुई माने बाइसजाना मान्छे जिउँदै दाउरा बना’र बाल्ने राछेस अकताप आलुम खाले पो हुन् त इ पाँडे । तँ इन्का जालमा कि पर्छेस् ? दुक्ख पाउन ?”

रामदुलारीले मेरै छेउतिर कुर्सी सारी । शायद मेरो नजिक देखिइन होला । र, मेरो घुँडामा हातले थप्थपाउँदै भनी— “ओउ पाँडे सर, नापालमे इस्तो गाउँथेलीबाबु जइसो कउवाडी मान्छे भी कम्लिस् सर्खारको मोटिया जइसो कति छ गाँव–गाँवमे ? हाम्नेरुको ओता इन्ड्या देशमे इस्तो मान्छीको त बैलमानको नोक्री भी मिल्दैन साला ! यो बूढा खानुको टेममे उस्को जुठा हातसे मेरो थालको माङ्सुसे माङ्स–माङस चुनेर ओ खान्छ और उस्को थालसे हाड–चम्डा चुनेर मेरो थालमे दिन्छ आनि उस्को सढेको दाँत देखान्छ और कहन्छ— ‘म यो आइ लप इउ करेको’ । साला थाङ्ना बूढा ! नै त यो बूढाको बूढी एगोडा जमान मिल्टेरी धरेर भाग्छ ?”

गौंथलीको बाऊ जुरुक्क उठे र भाङराङभुङरुङ गर्दै कड्के– “एइ रामदुलारे, मेरो त आज बेजोती–इन्सल गरिस्–गरिस्, मेरी गउँथलीकी मम्मीको किन बेजोती गर्छेस् ? मेरी गउँथलीकी मम्मी तँभन्दा एक हज्जार गुनाभन्दा नि बिउटी छे । ऊ उस्को आफ्नो मान्छे—उसको दाजुको मीतको भाइको सालो पर्ने छिमेकी साथी बिचारा पल्टने माइलोसित इन्ड्या टुरिङमा गकी अस्तिको कुसे अउँसीका दिन भख्खर नउ बर्ख मात्तै हुँदैछ भने किन बेजोती कथुर्छेस ? ऊ आएसि यो कुरो नभनी छोड्दिन म अनि तेरा जगडा छरिन उल्ले भने त के !…आज इ पाँडेका पाटमा लागेर जे पा’तेइ बोल्छेस् ? याँ आफ्ना पर्दानमन्त्री बेरामी होइबक्सिनु भइबसेकाले ट्यान्सिन हलक्कै बढेर आफ्नु पनि शरीर फतक्क गल्न थालेको हुँदाहुँदी देशभरि नै चिन्ता भाइरोल हुने सम्भाओना भका बेलाको चानसमा इ पाँडेसँग ट्याप्प मिलेर डानस गर्नु तेरो नैतिक हो ? मैले नै तँलाइ नेपाल नागृक बनाउन नातृकता बेत्ने अड्डाका एजेनसँग इन्जेक गरार चाइनेकेरे सस्तै भाउमा तँलाइ नातृकताको खेस्टो दिलाउने ट्याउटिस् गर्दिने किर्पा गरेको बिर्सिस् ? लाखेस् न म तँलाई परहरीमा नफँसाई काँ छोड्छु र ! तँ गाँजा ओसार–पसारमा च्याम्पेन होस् भन्ने परहरीहर्लाई नै पनि किल्लेर था छैन भन्दी होस् । अब तँलाई ठानामा नपुर्या’त ।”…

उनी झन ठूलठूलो स्वरमा यस्तै के–के भन्दै बाटो लागे । र, मैले रामदुलारीलाई उनको पछि–पछि लगत्तै पठाएँ ।….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here