लैङ्गिक समानताका लागि समान सोच

0
1772

स्वस्तिका आचार्य,

महिला र पुरुषबीच समान मूल्य–मान्यता कायम गर्नु आर्थिक, सामाजिक र बौद्धिक विषयका लागि समान अवसर प्रदान गर्नु तथा महिला र पुरुषबीच समान हैसियत राख्नु नै लैङ्गिक समानता हो ।

यो परिभाषा यहाँ लेखिरहँदा यसले भने जस्तै हामीले व्यवहारमा समानता महशुस गरेका छौं त ? एकपटक सोचौं त ? यदि लैङ्गिक समानता कायम थियो भने ती अबोध छोरीहरुलाई किन जन्मनै नपाउँदै छानी–छानी भ्रुण हत्या गरिन्छ ? के उनीहरुलाई संसार देख्ने अधिकार छैन । अझ पहिलो सन्तान ‘छोरो’ पाएका आमाहरु यति ढुक्क देखिन्छन् कि दोस्रो सन्तान जे होस्, छोरा हुँदा ‘ढुक्क’ हुने अनि छोरी हुँदा ढुक्क नहुने किन त ? छोरा पाउनकै लागि बच्चा जन्माइरहने ? छोरी पाएकै निहुँमा अपहेलित हुनुपर्ने ? आखिर कहिलेसम्म ?

हामी हाम्रै घरबाट पनि विभेदलाई प्रश्रय दिइरहेका छौं । छोरालाई खेलौंना स्वरुप गाडी, बन्दुक, हवाइजहजा किनिदिन्छौं, तर छोरीलाई पुतली, गुडिया, भाँडाकुटी किनिदिन्छौं । के छोरीलाई चाहिँ त्यो हजाइजहाजमा बसेर सपनाको उडान भर्ने मन नभएको हो र ? त्यो बन्दुक पड्काउन डर लागेको हो र ? अहँ होइन उनलाई जबरजस्ती डर लगाइयो ।

तपाईं हामी जुन घरमा जन्मियौं, हुर्कियौं हामी जन्मनुभन्दा अगाडि नै असमानता र विभेद जन्मेर हुर्किसकेको थियो । म मेरो कापीकलम किन्न आमामार्फत बुबासँग पैसा माग्नु पथ्र्यो । हो, त्यही बेलादेखि नै म भित्र पनि मेरो आमाभन्दा बुबा नै सक्षम र बलियो भन्ने मानसिकता विकास भइसकेको थियो ।

हाम्रा पुर्खाहरुले अशिक्षा, अभाव वा संस्कारको नाममा समानताको पाठ सिकाएनन् भनेर के हामीले हाम्रा सन्ततीलाई नसिकाउने हो र ? हामीले जुन हिंसा, विभेद र असमानता देख्यौ र भोग्यौ अब त्यसलाई सुधार्ने जिम्मा हाम्रो हो । जसका लागि समान सोच आवश्यक छ, जब सोचमा परिवर्तन आउनेछ, व्यवहारमा स्वतः परिवर्तन देखिनेछ ।

महिला स्वयम् आफूलाई कमजोर ठान्ने, पुरुषलाई सक्षम ठान्ने, पुरुषलाई अगाडि सार्ने, जिम्मेवारी लिन डराउने लगायतका मानसिकताले पनि हामी पछि परेको प्रशस्त उदाहरण भेटिन्छन् । त्यसैले आजका मितिदेखि नै यो मानसिकतालाई विदा दिने प्रण गरौं ।

लैङ्गिक विभेद महिला र पुरुष दुबैलाई हुन्छ । पुरुषलाई पनि समाजले थोपरिदिएको भूमिकाका कारण सके पनि नसके पनि परिवार पाल्नै पर्ने, पैसा कमाउनै पर्ने, नसके नामर्दको उपनाम पाइने डरले उनीहरु परिवारको माया छोडेर विदेशमा श्रम बेच्न बाध्य छन् । कोही बन्द बाकसमा नेपाल भित्रिएका छन् । तर, पनि विश्व परिवेशलाई हेर्ने हो भने महिला नै धेरै असमानताको शिकार हुनुपरेको तितो यथार्थ छ ।

विश्वका अधिकांश देशमा महिला र पुरुषले पाउने समान कामको ज्याला समान छैन । पुरुषहरुले पाउने तलबको ६० प्रतिशत मात्रै महिलाले पाउने गरेका छन् । लामो समयसम्म राज्य र राज्यका अंगहरु पुरुषको नेतृत्वमा सञ्चालन भएकाले अहिले पनि महिलालाई नेतृत्व दिनमा हाम्रै देशको राज्य संयन्त्र हिच्किचाइ रहेछ ।
सात वटा प्रदेश प्रमुख मध्ये एकजना पनि महिला प्रमुख नहुनु यसको पछिल्लो उदाहरण हो । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा टिकट पाउने र जित्ने महिलाको संख्या अत्यन्त न्यून छ । स्थानीय तहको निर्वाचनमा अधिकांश महिलाहरुले ‘उप’ मा चित्त बुझाउनु प¥यो । उपल्लो दर्जामा महिलाको उपस्थिति अत्यन्तै कम छ । यो असमानताहरुका बीच पनि केही सकारात्मक प्रयासहरु भने नभएका होइनन् । नेपालको संविधानले लैङ्गिक समानता कायम गर्न केही महत्वपूर्ण व्यवस्था गरेको छ । धारा १८ को समानताको हक, स्वास्थ्य, शिक्षा सुरक्षा तथा श्रम सम्बन्धी हकमा लैङ्गिक समानता र समावेशीकरणको कुरा स्पष्ट व्यवस्था गरिएको छ ।

राज्यका सबै तह र तप्कामा महिलालाई समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा विशेष अवसर प्रदान गर्ने उल्लेख छ । प्रत्येक तहमा अनिवार्य ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेको छ । स्थानीय निकायमा भने महिलालाई ४० प्रतिशत सहभागिता सुनिश्चितता गरेको छ ।
सरकारले पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्झौतालाई कार्यान्वयन गर्ने जमर्को गर्दैछ । सन् २०१० को दशकमा नेपालको परिप्रेक्ष्यमा केही उल्लेख्य सफलताहरु पनि हासिल भएका छन् । ग्लोबल लैङ्गिक ग्याप सूचकांकमा सन् २०१८ मा १०५औं स्थानमा रहेको नेपाल सन् २०१९ मा ४ स्थान सुधार गर्दै १००१औं स्थानमा थियो भने छिमेकी चीन १०६औं र भारत ११२औं स्थानमा थियो ।
निजामति सेवामा पनि सचिवसम्म महिला पुगेको, प्रधानान्यायधीश महिला भएको, सभामुख महिला भएको तथा राष्ट्रपति पनि महिला नै विद्यमान रहनुले पनि केही सकारात्मक सन्देश दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘फोब्र्स’ पत्रिकाले सन् २०१६ मा विश्वका शक्तिशाली महिलाहरुमध्ये ५२औं स्थानमा सूचीकृत गरेको गौरवगाथा पनि हामी सँगै छ ।

पछिलो केही वर्षयता नेपाली चेलीहरुले सौन्दर्य प्रतियोगिता, खेलकुद, शिक्षा, स्वास्थ्य, समाजसेवादेखि, चलचित्र र उद्योग व्यवसायमा समेत आफ्नो दक्षता प्रमाणित गरिसकेका छन् । यसले गर्दा नेपालमा लैङ्गिक समानताले स्थान पाउँदैछ भन्नुमा दुईमत छैन । तर, पनि अझ सोचे जस्तो सफलता हात पार्ने हो भने हरेक नागरिकले आ–आफ्नो क्षेत्रबाट योगदान दिनु आवश्यक छ ।
विश्वको जनसंख्यामा पनि महिला र पुरुषको जनसंख्या झण्डै आधा–आधा जस्तो पाइन्छ । नेपालको कूल जनसंख्याको आधाभन्दा बढी भाग महिलाले नै ओगटेका छन् । हरेक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । यी तथ्यांकले के देखाउँछ भने महिलाको मात्रै र पुरुषको मात्रै प्रयास र सहभागिताले लैङ्गिक समानता आउँदैन ।

लैङ्गिक समानताको चुरो भनेको फरक लिङ्ग तर अधिकार समान हुनु हो । त्यसैले अब हर घर, टोल, गाउँ, समाज, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म समानता र न्यायको बहस गरौं । एकै रथका दुई पाङ्ग्रा भएर अघि बढौं, हातेमालो गरौं, महिला–पुरुष दुबैले दुबैका कुरा सुनौं, सुनाउँ, बुझौं र बुझाउँ सकारात्मक सोचको विकास गरौं । र, अन्त्य ११०औं अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्णमा शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here