सम्पादकीय
विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणले विश्वभर नै वैदिक सनातन धर्म र संस्कृतिको पहिचान कायम गराएको छ । यो भाइरसबाट सुरक्षित रहन विश्व स्वास्थ्य संगठनले परस्पर हात नमिलाउनु भनिरहेका बेला नेपालीको सम्मान गर्ने विशिष्ठ परम्परा हात जोडेर गरिने नमस्कार अहिले युरोप लगायतका सबै मुलुकमा पुगेको छ । आफ्ना दुबै हात जोडेर गरिने अभिवादन ‘नमस्कार’ कि ‘नमस्ते’ भन्नेमा यदाकदा विवाद रहँदै आएको पनि छ । यो विवाद ‘नमस्कार’ मै टुंगिने तर्क, आधार र तथ्यले पुष्टि भइसकेको छ । आफूभन्दा ठूलालाई दुई हात जोडेर गरिने नमस्कारले एकअर्कामा आदर, सम्मान, शिष्टता र सभ्यताको भाव व्यक्त गर्दछ । त्यही तथ्यलाई महामारीका रुपमा विस्तार भइरहेको कोरोना संक्रमणबाट जोगिने उपायमध्येको एक ‘नमस्कार’ परम्पराले सनातनी संस्कृतिको विशिष्टताको परिचय दिएको छ ।
वैदिक संस्कृति पृथ्वीकै पहिलो धर्म हो, संस्कृति र सभ्यता हो । यसले आफू मात्र होइन सम्पूर्ण पृथ्वी र पृथ्वीवासीको रक्षा, सेवा र उपकार गर्न सिकाउँछ । मानव–मानवकाबीच स्नेह, सद्भाव र सहयोग गर्न प्रेरित गर्छ र विश्व वन्धुत्वको गहिरो र हार्दिक सम्बन्धको सञ्चार गर्छ । तर पछिल्लो पुस्ता अरुहरुको अनुशरण गर्दै ‘न घरको न त घाट’ को भइरहेको छ । यसबेला विश्वले पछ्याउन थालेको नमस्कार, संस्कृति रोग प्रतिरोधका लागि भनिएला तर यसले व्यक्त गर्ने ‘अभिमान नाश’ गर्ने भाव र विज्ञान अद्वितीय छ । यही समय विश्वका चर्चित नेताहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरल्याण्डका प्रधानमन्त्री लियो भारड्कर, बेलायती राजकुमार चाल्र्सले परम्परा संस्कृति हात मिलाउन छाडेर नमस्कारबाट अभिवादन गरेको समाचारले चर्चा थपेको छ । यसैगरी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देशवासीलाई हात नमिलाउन र हात जोडेर नमस्कार गर्न आग्रह गरेका छन् ।
महामारीका सन्दर्भमा आएका यस्ता सूक्ष्म तथा महत्वपूर्ण विषयको अन्तर्यमा विज्ञान समेत छ । यो पूर्वीय संस्कृतिको उद्गम थलो भनिने नेपाल, भारत लगायतका मुलुकको सभ्यताको प्राचीनता र मौलिकता समेत हो । यसबेला कोरोनाको संक्रमणले विश्व समुदाय आक्रान्त छ । हाम्रो छिमेकी देश चीनबाट शुरु भएको यसको संक्रमणले चार हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । हामीलाई आजका दिनसम्म भगवान पशुपतिपनाथले सुरक्षित राखेका छन् । अन्यत्र यस्ता महामारीको सहाय सरकार हुन्छ, सम्पूर्ण सुरक्षाको दायित्व सरकारका हुन्छ । जसका कारण यस्ता महामारीविरुद्ध सम्पूर्ण संयन्त्र परिचालित हुन्छन् र ठूलो भवितव्य र क्षतिबाट जोगाइन्छ । हामी तिनै ईश्वरका कथाले बाँचेकाहरुले आफ्नो सुरक्षा आफैं गर्नुपर्छ किनकि अभिभावक र संरक्षक भनिने सरकारले भन्छ– सुरक्षित आफैं हुनु, प्रतिरक्षा आफैंले गर्नु ।
छिमेकी देश भारतले कोरोना भाइरसको संक्रमण देखिनासाथ सक्रियता देखाएको छ । कतिपय अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको छ भने स्थलमार्गका नाकाहरु समेत उच्च सतर्कता अपनाउन थालेको छ । यी समय त्यहाँका प्रधानमन्त्री मोदीले कोरोनाबिरुद्ध लड्न सार्क सहकार्यको प्रस्ताव गरेका छन् । सार्क देशहरुलाई सम्बोधन गरिएको उनको प्रस्तावमा सामुहिक सहकार्यमा स्वस्थ क्षेत्र निर्माणमा योगदान दिन आह्वान गरिएको छ । यसका लागि नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका लगायत सबैको सामुहिक अग्रसरता आवश्यक हुन्छ । हावाबाट नसर्ने भएका कारण बेलैमा सजगता, सतर्कता र सुरक्षाको पूर्वाधार तयार गरिए यसले महामारीको रुप लिने थिएन । यसतर्फ सामुहिक प्रतिबद्धता र अग्रसरता त चाहिन्छ नै सँगसँगै हाम्रो अभिभावकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ । यही पृष्ठभूमिमा वैदिक सनातनी संस्कृतिको समेत महिमाबोध हुनुपर्छ ।




























