वर्तमान नेपाली राजनीतिका दुर्बोध गिजिङमिजिङ !

0
402

नकुल काजी,

सिद्धान्ततः विश्वका गान्धीमार्गी राजनीतिक पार्टीहरुको सूचीमा सूचीकृत नेपाली कांग्रेस नै एउटा मात्र पार्टी हो जसले देशमा शासकीय स्वरुप परिवर्तनको अभीष्ट प्राप्तिका लागि बन्दुक उठाएको थियो । यस सन्दर्भसँग ‘पाश्चात्य गान्धी’ भनेर मार्टिन लुथर किंगको नाम लिन गौरव गर्ने पश्चिमाहरुले के–के गरे वा गर्दैछन् भन्ने सन्दर्भ जोड्न, भौगोलिक र पश्चिमा जीवनशैलीकै कारण पनि, मिल्दैन । अन्ततः मौजूदा शासन व्यवस्थाविरुद्ध दश बर्ष लामो रक्तपूर्ण आतंक उछालिरहेको माओवादी कम्यूनिस्टलाई बैधानिक मूलधारमा ल्याउने अन्तिम परिणामदायी भूमिका निर्वहनमा नेपाली कांग्रेसको नेतृत्व सफल भएको हुँदो हो ।

‘राणातन्त्र हटाउन र प्रजातन्त्र स्थापनार्थ हामीले बन्धुक उठाएका थियौं र राजतन्त्रलाई अवरोपण गरी गणतन्त्र स्थापनार्थ माओवादीले हत्या–हिंसा–विध्वंशको बबण्डर आतंक उछालिरहेका छन् भने लक्ष्य–निर्धारण र कार्यशैलीमा के सारभूत भिन्नता छ र ?’ भन्ने सोच–अवधारणा अन्तर्गत शायद हिजो (अथवा २०६२ मङसिर ७ गते) माओवादीलाई संवैधानिक मूलधारमा ल्याएको थियो । उसको त्यो प्रयत्नरुपी सदाशय नै आज उसको राजनीतिक विपक्षीका निम्ति ऊर्जाशाली बल बन्न गएको छ । राजनीतिमा धोका, एक किसिमले, कसैका निम्ति पनि भावी मार्गदर्शक हुन्छ भन्ने नेपाली कांग्रेसले नबुझ्नु बेग्लै हो । अहिले प्रमुख प्रतिपक्षीको संवैधानिक उच्चाइमा नेपाली कांग्रेस, संघीय सांसदको गणितीय आधारमा, आरुढ छ र ऊ उसको घरेलु ‘ठूलो भाग’ प्राप्तिका निम्ति आपसकै गला कोराकोरको घड्घड्याइँले आफ्नै नामसँग सम्पृक्त विरासत सुरक्षित गर्नसम्म हम्मे–हम्मेको स्थितिमा छ ।

२०६२ मङसिर ७ पछिको केही समय त कांग्रेसेतर राजनीतिक टिप्पणीकारहरुले र कतिपय विदेशी नेपालविज्ञ भइखाएकाहरुले समेत ‘नेपाली कांग्रेसको माओवादीकरण’ भन्नेसम्मको च्वास्स घोच्ने टिप्पणी गरेका थिए । त्यही चिन्तन–प्रकृतिका विश्लेषकहरु तत्कालीन माओवादी एमालेमा विलय भई नेकपा अस्तित्वमा पुगेपछिको अवस्थाझैं समग्रतामा नेपाली कांग्रेस पनि ‘लोकतान्त्रिक पार्टी’– को बर्कोभित्र आफ्नो मण्डलीभित्रको ‘अलोकतान्त्रिक चारित्रिक झुण्ड–लीला’ आफै अभिनय–पात्र आफै दर्शक भएर खेल्दैछ भन्दैछन् । जब–जब देशमा नयाँ–नयाँ पीडक प्रकरण प्रारम्भ हुन्छ तब–तब उद्विग्न र विरक्त जनताले निधार चाउरी पारेर नेपाली कांग्रेसको नालायकी कथुनै गरेको सुन्दा उपर्युक्त टिप्पणी सत्य ठहर्ने खण्ड पर्दैछ अहिले ।

गुटगत कचेडाबाट कुनै पार्टी पनि मुक्त छैन । ‘ऐतिहासिक बहुमत प्राप्त’–को बलियो आत्मश्लाघा फर्माइरहेको स्वयम् सत्तारुढ नेकपाभित्र पनि त्यसमा समाविष्ट ‘मियो पार्टी’–हरुकै मन मिलिरहेको पाइँदैन । दुई मियोको बलमा देशलाई दाइँको खलोमा ती दुईका प्रस्तुति–शैलीचाहिँ प्रकारान्तरमा मिलेका छन् । एउटा मियोका प्रमुख कुनै व्यापारीले नाफा आर्जनका लागि चलाइरहेको खाना पकाउने गोबरग्यास कारखाना उद्घाटन गर्न पुग्दा भाषणमा भन्छन्– ‘अब कुनै नेपालीले ग्यासको सिलिण्डर काँधमा बोकेरल्याइरहनु पर्दैन–यी यसरी पाइपबाट चूला–चूलामा ग्यास पु¥याउने सरकारले थालेको छ ।’ ती प्रमुख रेलका लागि नवस्थापित अफिसको उद्घाटन गर्न पुग्दा भाषण गर्दछन्– ‘रेलको टिकट काट्ने मिति चाँडै घोषणा हुन्छ ।’ उद्घाटिन ग्यास पाइप लाइन (उद्योग) अर्को पन्ध्र दिनमै बन्द हुन्छ र रेल अफिसमा चौकीदार मात्रको काम हुन्छ । अर्का मियोरुपी प्रमुख आतंककै बलमा ‘व्यक्तित्व’ बनेर त्यहाँ पुगेका हुन् भन्ने घाम झैं छर्लङ्ग हुँदाहुँदै विज्ञप्ति जारी गर्दै ‘बम बिष्फोट र आतंकले परिवर्तन कोरल्न सक्तैन, त्यो दुस्सहास कसैले पनि नगरोस्’– को आशय सम्पृक्त फरमान लल्कार्छन् । …. अर्थात् दुई पार्टीको एकीकरण यस बुनियादमा सफल मानिलिन सकिन्छ । अन्यथा, पार्टीको उपल्लो बृत्तवासीका गुट–उपगुटको चलखेल दैनन्दिन तीब्र बनिरहेको छ भन्छन् निकटबर्तीहरु । भाषणको शैली मिल्नु मात्र एकीकरणको सर्वस्व नहुनुपर्ने हो ।

उता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सामू खबरदारीको विषय बनेर प्रस्तुत हुने प्रायः हरेक प्रकरणमा ऊ हीनभावको मनोवैज्ञानिक असरले लच्किने दोषी मानसिकता ९न्गष्तिथ ऋयलकअष्यगकलभकक०( ले द्बीभूत हुने गर्दैछ । प्रजातन्त्रोत्तर सबभन्दा बढी समय सत्तामा रहेका नेताहरु नै त्यस पार्टीमा उपल्ला हैकमी छन् र, दुःखको कुरो हो, उनै चाहिँ हीन मनस्थितिले आक्रान्त भई ‘सक्रिय हुन आवश्यक घटना–प्रकरण’– मा चूपचाप निष्व्रिmय भई आफूभित्रको भाँडभैलोमै तल्लिन देखिन्छन् । यस्तो हुँदा पार्टीलाई बलियो बनाउने विषयलाई दरकिनारमा आफलेर राजनीतिक नैतिकतालाई व्यक्तिगत स्वार्थको थिचोमिचोमा पारी अरल्ल्याइरहेका छन् ।

आँखीभौं फुलिसकेका पुराना, आफूलाई पार्टी राजनीतिका जिम्दार र आफूभन्दा तलकालाई रैती ठान्नेहरु र आफ्नो पदीय अभीप्सालाई निर्वाध देख्न चाहनेहरुका अहम्–मैमत्ता नेपाली राजनीतिको सबभन्दा अचाडू विषय बनिरहेको छ । त्यसो त, प्रजातन्त्रोत्तर देशलाई जसरी विभिन्न कालका सत्ताधारी र तिनका आशारामहरुले भेटेसम्म, मौका पाएसम्म, छल्न–मिलाउन सकेसम्म लुछिखाने–चुँडिखाने र भागबण्डा गरिखाने भकारी मान्दै आएका छन् । ‘काले–काले मिलेर खाऔं भाले’ सूत्रको अनुकूल चलखेल मच्चाउँदै आएका छन् । देशलाई त्यही ‘भाले’ मान्दै आएका छन् । पहिला–पहिला देशमा सात प्रदेश र सात सय त्रिपन्न पालिकामा विभक्त थिएन र आज जस्तो अचाक्ली थिएन होला, एकै ठाउँबाट सर्वत्र चिथोर्न अप्ठ्यारो थियो होला– यो बेग्लै कुरो हो । त्यो असहजता वास्तविक पनि हो ।

अहिले अर्को देशव्यापी अस्तित्वमा जीवन्त भए पनि संघीय संसदको शक्ति ९एबचष्बिmभलतबचथ क्तचभलतज०(मा कमजोर भएका कारण ‘पुराना पञ्चहरुको पार्टी’ भनेर जन–दृष्टिकोण भाँड्ने हेपाइमा परेको राष्ट्रिय प्रजातन्त्र पार्टी चर्चाको शिखरगामी अवस्थामा पुनः आएको छ । नेपाली राजनीतिको वर्तमान गिजिङमिजिङमा यो पनि कम उल्लेख्य छैन । २०६२–०६३को जनआन्दालनले सफलता पाएपछि घोषित नयाँ शासन प्रणालीको गुलियोमा घोलेर ‘जनताको एजेण्डा’–मा हुँदै नभएका विषयमा पनि थोपरिएका थिए । तिनै विषयक प्रति विमति राख्ने मूल एजेण्डाका साथ पार्टी खोलेर संसदीय राजनीतिमा विलय भएका राजनीतिक नेपाली कसरी ‘पञ्च’ रहे ? यो धनधोर दुर्बोधगम्य किन छ भने– यी अक्षरहरु झापा–भद्रपुरको जुन ठाउँमा बसेर लेखिइरहेको छ, यसभन्दा लगभग तीन किलोमिटर उत्तरु पूर्वमा हँडिया नामको खोलो मेची नदीमा मिसिएको छ ।

यी अक्षरहरु लेखिइरहेका ठाउँभन्दा डेढ किलोमिटर दक्षिणमा रहेको मेची पूलको मुन्तिरबाट बगिरहेको मेची नदीको पानी हँडिया खोलो खोज्नु कतै तर्कसंगत बुद्धिमानी ठहर्दैन । खोलाको अस्तित्व नदीमा समाहित हुँदासम्म मात्र हुने हुँदैन र ? र, नदीमा सभाहित हुनासाथ खोलाको जीवन नदीमै रुपान्तरित हुँदैन र ?

आज देशमा पार्टीहरु थुप्रै छन् । कोही खल्तीमा निर्वाचन आयोगबाट प्राप्त पार्टी नामे प्रमाण–पत्र, पार्टीको लेटरप्याड र रबर–स्ट्याम्प, स्क्रीन–प्रिन्टमा छापिएको पाँच–सात थानमध्ये एक थान विधान–पुस्तिका र बैंकमा खाता खोलेको भए चेक–बुक बोकेर हिंड्ने ‘एक्लै अध्यक्षको सिंगो पार्टी’ पनि छ, कुनै भक्तपुर जिल्लाको भक्तपुर नगरव्यापी पार्टी छ, कुनै २०२८–०३०को झापा हत्याकाण्ड (जसमा धेरजसो मोही किसान, जिमीदारका चौकीदार, दाउरे र राजनीतिका अवोध बिद्यार्थी नै मारिएका थिए) उर्फ झापा बिद्रोहका कथामा सीमित पनि छन् । इत्यादि–इत्यादि पार्टी राजधानी महानगरमा उनका भान्से–लोकन्ते मार्कालाई खाइ ज्यालामा अघि–पछि लगाएर देशको औपचारिक राजनीतिक–अभिलेखमा गिजिङमिजिङ जीवन्त (?) छन् ।

ती, कहिलेकाहीँ देशमा झुल्किने उपल्लो तेरी–मेरीका घटनामा फूलमय–फलमय भई काँधिएका पार्टीतर्फ समर्थनको हल्लाका ‘रिजर्भ खेलाडी’ बन्ने पेशोमा भएकाले अनालोच्य छन् । र, यस्ता हल्लाका खेताले (रिभर्ज खेलाडी)–ले पनि देशव्यापी संगठन भएको राप्रपाको साख गिराउने कसरत गरेका दृश्य अहिलेको गिजिङमिजिङभित्र देखिँदा राजनीतिक नैतिकताको तेजोबध हुने यस्तो हरकत किन ? भन्नेप्रश्नका बाङखुरेको गिजिङमिजिङ पनि हुन्छ । ठूलापार्टीहरुको त देशभित्र र बाहिरसम्म प्रशस्त्र सम्बन्ध–शर्त–सूत्रहरु बुँदा सुरक्षा–दस्ताका घेरामा कहाँ–कहाँका भावसंक्रमण स्वरुप घोषित गर्ने बाध्यतात्मक (?) गल्ती गरेका छन् र ती बुँदा उल्टिने भयले पार्टी (राप्रपा) लाई पञ्चायतको प्रेत भनी तर्साएर जनविश्वास विटुल्याउने गरेका हुनन् । तर, माथि उल्लेखित खेताले पार्टीका पेशेवारहरुले त मधिसे स्वार्थमा खुलाका प्रान्तीय पार्टीहरुलाई समेत महत्व दिँदै यस पार्टीको खेदो गरेको देख्ता ‘देख्नेलाई राजनीतिक लाज’ लाग्ने गर्छ । राजनीतिले लाज पचाएर बाङ्गो रुखलाई ‘सोझो हो’ भनाउनु भनेको त राणा–शासकशैलीको अनुशरण होइन र ? अहिले राप्रपा तीन टाउके अध्यक्षका साथ एकीकरण भएको छ । दुई टाउके सत्तारुढ नेकपामा त सन्तुलन मिलाउने काममा ‘कम्यूनिस्ट सिद्धान्तनिष्ट अनुशासन’ पनि असिन्पसिन् भइराखेको छ भने राप्रपाका ती टाउकालाई कहिलेसम्म एक–अर्काको सास नगनाउला ? भन्ने पनि गरिँदैछ । विगतका अनुभवहरु छामेर भन्ने हो भने यो आशंकालाई ठाढै नठीक भन्न चाहिँ मिल्दैन ।

अर्थात्, वर्तमान नेपाली राजनीतिको दुर्बोध गिजिङमिजिङको अन्तर्यलाई सतही रुपमा केलाउँदा समेत ‘पुराना’– हरुले थपक्कन अभिभावक मात्र भइदिएर आ–आफ्नो पार्टी नयाँ–उर्जावान पीँढीमा सुम्पुवा नभइन्जेल राष्ट्रको राजनीतिक परिदृश्य मसिना बालकहरुको फुटबल म्याच जस्तै रहिरहनेछ– पाँच मिनट खेल (काम) दश मिनट कचिङ्गल ! पार्टीको सत्ता नयाँ सक्षमहरुमा नगएसम्म पुरानाका पद–किचोलामा नयाँले नतमस्तक भइरहनुपर्ने अवस्था रहिरहनेछ । कोरोना भाइरसभन्दा कडा भाइरसहरुले देशलाई आक्रान्त तुल्याउने बाटाहरु सहज हुँदै जानेछन् । र, अन्ततः ‘देश’ अन्तर्राष्ट्रिय सीमा रेखाभित्रको माटो (भुइँ)– मात्र रहनेछ । अनेक दुर्दिनहरुले कुल्चिए पनि यो असली राष्ट्रको सकली मुहार कुरुप भएको थिएन– अब पनि यसको सौष्टव निष्कलङ्क रहोस् । …….
र, आजलाई यत्ति नै । शेष फेरि ……

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here