गौतमलाई ज्ञानज्योतिको सहयोग

0
514

तीर्थराज खरेल 

सुरुङ्गा, साउन १६ । उच्च रक्त चापले बेहोस भई मृत्युको मुखमा पुगेकी सुरुङ्गा–९ निवासी गीतादेवी गौतमलाई स्थानीय ज्ञानज्योति युवा क्लबले आर्थिक सहयोग गरेको छ । २ छोरा र २ छोरीकी आमा ६३ वर्षीय गौतम सुरुङ्गा गाविस कार्यालय छेउ टप्पुमा सानो चियापसल सञ्चालन गर्दै आएकी थिइन् । दुःख पनि गरिबलाई नै आउँदो रहेछ ! चियापसलमा काम गरिरहेको अवस्थामा उनी एक्कासी लडेर बेहोस भएपछि उनलाई विर्तामोडस्थित कञ्चनजंघा अस्पताल लगिएको थियो । त्यहाँ उपचार संभव नभए पछि उनलाई बिराटनगरस्थित न्यूरो अस्पताल लगिएको र उनको शल्यक्रिया गरिएको गौतमका छिमेकी नारायण भेटवालले जानकारी दिनुभयो । उनलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिंदैछ । उनको दिमागको नसा फुटेको र केही भागमा रक्तश्राव भएको बताइएको छ । हाल उनको अवस्था खतराजनक नै रहेको उनका कान्छा छोरा चिरञ्जीवी गौतमले बताए । ज्ञानज्योति युवा क्लबले छरछिमेक शुभचिन्तकबाट संकलन गरेको ५३ हजार ९ सय रुपैयाँ बिरामीका आफन्तलाई हस्तान्तरण गरेको छ । क्लबका उपाध्यक्ष ज्योति उप्रेती, सचिव श्यामकुमार न्यौपाने, सल्लाहकारहरु यामनाथ सेडाईं, दधिराम उप्रेती, कपिलमणि न्यौपाने लगायतका महानुभावहरुको पहलमा सो सहयोग रकम संकलन गरिएको र सहयोग जुटाउने क्रमलाई अघि बढाइने भएको छ । अत्यन्तै कमजोर आर्थिक अवस्था भएकी गौतमको उपचार गर्न साढे ५ लाख रुपैयाँभन्दा बढी लाग्ने ज्ञानज्योति युवा क्लबका सचिव छवि थपलियाले जानकारी दिनुभयो ।