‘अब पालो कृषि क्रान्तिको’

0
750

सम्पादकीय

वैश्विक सङ्कटका रूपमा रहेको कोरोना प्रकोप हाम्रालागि अवसर पनि बन्न सक्छ। यसको कहरबाट जोगिएर देशमै अबसर र सम्भावना खोज्न प्रेरीत गर्न सक्ने भएकाले यो समयलाई सरकारले सदुपयोग गर्नुपर्छ । रोजगारी र अबसरको अभाबमा विदेशिएका लाखौँ युवालाई कृषि उद्यममा जोड्न सकिए विदेशको मोहसमेत घट्ने निश्चित छ। यसका लागि सरकारले कृषि कर्म लक्षित र युवाहरूलाई आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनु पर्दछ। यतिबेला लाखौँ युवा खाडी लगायत विश्वभर छरिएका छन्। आफू र परिवारको निर्वाह र भबिष्यको सुनिश्चितताको आशामा पलायन भएका उनीहरू अहिले चाहेर पनि स्वदेश फिर्न सक्दैनन्।

कृषि प्रधानता अहिले दन्त्यकथा जस्तै भएको छ । बहुसङ्ख्यक नेपाली कृषि कर्ममा संलग्न भएका र देशको आम्दानीको स्रोत पनि कृषि उत्पादन नै रहेका कारण कृषि प्रधान देश भनिएको थियो । तर पछिल्लो समय सरकारले यसको ब्यवस्थापन र प्रबर्द्धनमा उपेक्षा गरेका कारण युवा वर्ग कृषि कर्मप्रति विरत हुँदै गए। त्यसैले आजसम्म यो पेशा व्यबसायिक हुन सकेको छैन। परिणाममा कृषि निर्बाहमुखी हुँदै सिङ्गै देश परनिर्भर हुन पुगेको छ। जैविक विविधताको भण्डार भनिने हाम्रो देशको भौगोलिक विविधता प्रकृतिको सुन्दर उपहार हो । यसलाई नचिनेर, उपयोग गर्न नजानेर अनि अजस्र शक्ति युवालाई यसप्रति आकर्षित गर्न सक्ने कार्यक्रम प्रबर्द्धन नगरिॅदा परावलम्बन बढ्दै गएको हो ।

गत बर्ष मात्रै भारतलगायतका देशहरूबाट तेत्तीस अर्बको चामल आयात भयो। सरकारी तथ्याङ्क अनुसार त्यही बर्ष सात अर्बको आलु, छ अर्बको स्याउ, सात अर्बको मरिच आयात भएको थियो भने तेह्र अर्बको मकै र दुई अर्बको केरा आयात गरियो। कृषि वस्तुको उर्वर भूमि तराईका फाँट र फलफूल एवम् तरकारी र जडीबुटीहरूको अनन्त स्रोत पहाडी र हिमाली क्षेत्र हाम्रा अमूल्य सम्पदा हुन्। यसबाहेक प्रकृतिले समेत नेपाललाई सौन्दर्यमयी बनाएको छ । यी सबै बिशिष्टताका कारण समृद्धशाली हुनुपर्नेमा परावलम्बनतर्फ उन्मुख हाम्रो अर्थतन्त्रलाई कोरोनाजनित सङ्कट अवसर बन्न सक्छ । यही समय राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेलले कोहोरा कहरलाई अबसरमा बदल्ने बताएका छन् ।

महामारीको समाधान भएलगत्तै बैदेशिक रोजगारमा गएका नेपाली स्वदेश फिर्ने छन्। कतिपय देशले आफ्ना नागरिक फिर्ता लान नेपाल सरकारलाई सचेत गराइसकेका छन् । यस्तोमा अन्तराष्ट्रिय उडान हुनासाथ धेरै नेपाली युवा स्वदेश फिर्नेछन्। यसले ग्रामीण क्षेत्रमा सक्रिय जनशक्तिको उपलब्धता बढाउनेछ भने महामारीको जोखिम पनि हुनसक्छ । यसलाई अबसर र चुनौति दुबैरूपमा स्वीकार गरी नीति,कार्यक्रम र प्राथमिकता निर्धारण गर्न सरकारलाई बाध्य पार्नेछ । महासङ्कटमा बिदेशी भूमिमा भोग्नुपरेको असहजता र पीडाबाट युवाहरूलाई स्वदेशमै पसिना बगाएर ऐश्वर्य जम्मा गर्न प्रेरित गर्नेछ। यसका लागि राज्यले कृषिमा आधुनिकीकरण, बितरणको प्रबन्ध, सेवासुबिधाको उपलब्धता र उत्पादित वस्तुको लागतको आधारमा मूल्य निर्धारण गर्ने जस्ता काम गर्नुपर्छ । उपाध्यक्ष डाक्टर कँडेलले पनि ती युवासॅग सिप, सोच र पुँजी पनि हुने भन्दै सरकारको आगामी कार्यक्रम कृषि र कृषक लक्षित हुने बताएका छन् । आगामी बजेटमा उत्पादनमूलक उद्योगको प्रबर्द्धन र बिकासमा जोड दिइएन भने त्यसले फिर्ता आएका युवावर्ग कुण्ठित हुन सक्छन् जुन अबस्था सामाजिक द्वन्द्व निम्त्याउने कारण बन्न सक्छ । यो सशस्त्र हिंसाबाट बाहिर आएर भूकम्पको क्षतिबाट सम्हालिन नपाई कोरोना कहरले थिल्थिलो भएको अर्थतन्त्रलाई झनै पछि पार्ने कारण बन्न सक्छ । यसतर्फ राज्यको सजगता, सचेतता र सक्रियता देखिनु पर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here