गोर्खाल्याण्ड आन्दोलन चर्कियो

0
633

 

विर्तामोड, साउन १९ । आन्ध्र प्रदेशलाई विभाजन गरेर सरकारले नयां राज्य गठनको प्रक्रिया अघि बढाए लगत्तै दार्जिलिङमा अलग राज्य गोर्खाल्याण्डको माग चर्किएको छ ।

गोर्खा जनमुक्ति मोर्चाको आह्वानमा आजदेखि गोर्खाल्याण्ड माग गर्दै अनिश्चितकालिन हड्ताल सुरु भएको छ । यस अघि गत सोमबारदेखि तीन दिने बन्द आह्वान गरिएको थियो । मागप्रति केन्द्र सरकार गम्भीर नभएको भन्दै मोर्चाले हड्ताल लम्ब्याउने निर्णय गरेको मोर्चाका सह सचिव विनय तामाङले जानकारी दिनुभयो ।

हड्तालका कारण दार्जिलिङको जनजीवन अस्तब्यस्त बनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बन्दका कारण त्यहांका सबै ब्यवसाय तथा विद्यालयहरु ठप्प रहेका छन् । हड्तालको पूर्व सन्ध्यामा हिजो बन्दकारीले दार्जिलिङका विभिन्न स्थानमा आग्जनी र तोडफोड समेत गरेका थिए ।

क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टीको भ्रातृ संगठन गणतान्त्रीक क्रान्तिकारी युवा मार्चाले करिब दुई वर्ष अघि गठन सम्झौता गरिएको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीएको सम्झौता पत्र जलाएका थिए ।