कोरोना महामारीले बिश्वका मानवजातीलाई आफनो निशानामा पारीहेको यो संकटको बेला किरात राईहरुको साकेला उभौली पर्व पनि ओझेलमा परेको छ । बैशाख पूर्णिमा देखि १५ दिनसम्म विभिन्न साकेला थानहरुमा नाचगान सहित पुजापाठ गरी धुमधामसाथ मनाइने यो पर्व सुनसान रुपमा आफ्नो श्रदालुहरुलाई एकान्तवास बसाउदै जाने तरखरमा छ । प्रकृति र पितृहरु प्रति आस्था राख्ने किराती राईहरु सरकारले जारी गरेको तालाबन्दी (लकडाउन)को पालना गर्दै घरमा नै आफ्नो परिवारसंग एकान्तवासमा समय बिताइरहँदा साकेला पर्वको त्यो रौनक र समुहलाई छुटाइरहेको छ । प्रकृति माथिको बढदो विनाशले निम्ताएको महामारीको छिटाबाट प्रकृति पुजक आदिबासी जनजातीहरु पनि अछुतो रहने छैनन् ।

यो महामारीले मानिसको चहलपहल र व्यबहारमा स्थिरता ल्याए पनि समय आफनो गतिमा दौडी नै रहने छ । समयको गतिसंगै पृथ्वीले सूर्यको परिक्रमा गर्न भने छाडने छैन । सायद यो पृथ्वीको सूर्य प्रतिको आदार हो वा कर्तव्य, नभए सजय पनि त हुन सक्छ । विज्ञानलाई सापट लिदा आकाश गंगामा देखिएका लाखौ तारामण्डलहरु मध्येको सौर्य मण्डलमा हामी छौं । गुरुत्वबलको अदृष्य लगाममा बाधिएर पृथ्वी सहितको नौ वटाग्रहले करोडौ बर्ष देखि सुर्यको परिक्रमा गरिरहेको छ । यसरी नै परिक्रमा गरिरहँदा साल फेरिने छ, ऋतु र महिनाहरु दोरिएर पुनः आउने छ अनि आउने छ फेरि साकेला, दशैतिहार र लोसार जस्ता धार्मिक पर्वहरु नयाँ उत्साव लिएर । प्राकृतिक सौर्दयको यो बिशाल बगैंचामा मानव सहित थुप्रै प्राणीहरुको अस्थित्वलाई आत्मासाथ गर्दै पृथ्वीले आफ्नो गतिलाई निरन्तरता दिइरहँदा बगैंचाको स्वमित्व मानिस आफैले मात्र लिइरहेको छ ।
मानव अस्थित्वलाई नै चुनौती दिइरहेको कोरोनाको कारण प्राकृतिक श्रोत माथि गरिने मानविय अतिक्रमणबाट पृथ्वीले केहि समयको लागि भएपनि छुटकारा पाएको छ । प्रकृतिमा रमाउने हरेक चराचुरुङ्गी, जनवार र किराफटेङ्ग्राहरु स्वतन्त्ररुपमा रमाउन पाइरहेका छन् । धुवा र धुलोको मिश्रणलाई वायुमण्डलले ग्रहण गर्नु परेको छैन त्यसैले त हिमाल र पहाडहरु बिहानीको समयमा सुर्यको किरण पाउँदा मुस्कुराई रहेको टाढा टाढाबाट पनि देख्न सक्छौ । निलो त्यो आकशको मैदानमा सेता–सेता बादलका समुहहरु धेरै माथी विभिन्न आकृति बनाउदै रिले दौडमा सहभागी भएजस्तो देखिन्छ । तराइका फाटहरु शान्तासंग सुस्ताइरहेका छन् । घाम डुब्नै लाग्दा पर क्षितिजमा पहेंलो रङ्गको बर्की ओड्र्दै गरेको प्रकृतिले रातको अध्यारोलाई स्वगत गर्न तम्तयार भएजस्तो देखिन्छ । लाखौ ताराहरुको चमकसगंै एक चोटि पृथ्वी पनि आफ्नो पिडालाई भुलेर मुस्कुराउने कोशिस गर्दै छ । सायद उसलाई थाहा छ मानिसरुपि भाइरसको कारण उ रोगी भइसकेको छ ।
प्रकृतिलाई कच्चा पदार्थको भण्डारका रुपमा अति धेरै उपभोग गर्ने नाफा मुलक बजार अर्थतन्त्रले गर्दा पृथ्वीको वातावरणीय आकृति नै परिवर्तन भएको छ । अहिले हाम्रा धेरै व्यवहारहरु प्रकृति मैत्री छैनन् । धन र शक्तिको सांसरिक लोभमा परेर आफुलाई अब्बल देखाउन वनजंगल, खोलानाला, समुन्द्र हुदै हिमाल,पहाड देखि जमिनमा भएको केहि पनि नछोडने छुकछुके प्रवृतिले मानिसलाई दशटाउके रावणमा परिणत गरिदिएको छ । पृथ्वीलाई मानिस बाहेक अरु प्राणीहरुले पनि उपभोग गर्ने अधिकारलाई हामीले बिर्सिदिएका छौ. । आधुनिक्ता र विकासको भ्रममा हरिया वनजंगल र प्राकृतिक स्रोतहरुको विनास गर्दै कङ्क्रिटको शहररुपि जंगल निर्माण गर्दैर्छौ, जहाँ आफुले आफैलाई सर्वश्रेष्ठ घोषणा गरेको प्राणीहरुको भीडहरु दिनप्रतिदिन बढदैछ । हामीले प्रकृतिबाट आफ्नो स्वर्थ पुरा गर्दै गर्दा अरु जीवजंन्तु र पंक्षीहरु सहित बनस्पतीहरुको अस्थित्वलाई स्विकार्न सकेनौ ।
संरक्षण भन्दा प्राकृतिक स्रोतको उत्खनन् गर्ने, प्रशोधन गर्ने, बेच्ने, संग्रह गर्ने र जति सक्दो नरितिएसम्म उपभोग गरिरहने बानीले आफ्नै अस्थित्व संकटमा परेको कोरोनाले संझाइदिदैछ । अष्ट्रेलियन दार्शनिक टोबी आर्डले मार्च २०२० मा प्रकाशित गरेको पुस्तकमा मानिसको उपलब्धीले मानिसलाई नै गर्ने नोक्सानबारे तर्कहरु अघि सारेका छन् । विभिन्न लोभ र लालचामा परेर हामीले प्रकृति रुपि सीताको हरण गरिसकेका छौं । सायद हुन सक्छ कोभिड–१९ हतियार सहित अदृष्य शक्तिमा राम र बाँदर सेनाहरु सीतारुपि प्रकृतिको रक्षार्थ यस धर्तिमा झरिसके ।
प्रकृति पुजक आदिबासी जनजातीहरुले आफ्नो संस्कार त बचाए तर प्राकृतिक स्रोतको संरक्षण भने गर्ने सकेनन् । आफैले पुज्ने देबिथान, खोलानाला, नदी, बनजंगल र जीवजन्तुको विनासमा अरु जातीको मानिस सरह संलग्न भई नै रहेका छन् । फलस्वरुप प्रकृतिबाट केहि जीवजन्तु र बनस्पति लोप भए जसरी केहि मानवजाती लोप हुने अवस्थामा पुगेको छ । सन् १९५८ मा बैज्ञानिक कार्ल लिलि यसले मानिसलाई बुद्धिमान मानिसको उपमा दिएका थिए । तर आज बुद्धिमान मानिसको हर्कतले कोरोना जस्तो महामारीलाई निम्ता दिइसकेका छन् । अनुसन्धान कर्ताहरुको अध्यायनले बिभिन्न तथ्य र अनुमान अघि सारे पनि यो कोभिड १९ कहाँबाट र कुन माध्यम हुदै फैलियो यसको थप अनुसन्धान जारी नै छ । अहिलेको महामारी मानिसले प्रकृतिमाथि गरेको दोहनको परिणाम हो भन्ने धेरै बिद्वानहरुको तर्क छ । सायद तपाई र म पनि यो महामारीको दण्डबाट छुटकारा पाउने छैनौ तर पनि जोगिनु त पर्छ नै, मृत्यु भन्दा ठूलो क्षति यो जगतमा के नै हुनसक्छ र ।





























