काठमाडौं,

प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घूस दिएको आरोपमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग नियन्त्रण आयोगको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो। झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम दिन खोजेको आयोगले जनाएको छ।
आयोगका अनुसार कर्मचारीले लिन नमानेपछि झाले रकम खाममा हालेर कार्यकक्षको टेबलको घर्रामा राखिदिएका थिए। झाले आफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्वीकार गरेको बयान दिएका छन्।
आफूलाई जबर्जस्ती रकम दिन खोजको भन्दै पौडेलले भष्ट्राचारजन्य कसुरमा सजाय गराई पाउँ भनी निवेदन दिएका थिए। यो जानकारी पाएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले घटनामा संलग्नलाई अख्तियारमा बुझाउन निर्देशन दिएका थिए। लगत्तै अख्तियारको इटहरीस्थित कार्यालयको टोलीले झालाई पक्राउ गरेको हो।-थाहाखबरबाट






























