प्रदेश १ मै सबैभन्दा बढी कोरोना सङ्क्रमित झापाको कचनकवलमा, संक्रमित ४८ जना नै भारतबाट आए

0
823

(पार्थ मण्डल)

भद्रपुर, झापा, प्रदेश १ मै सबैभन्दा बढी कोरोना सङ्क्रमित दक्षिणी झापाको कचनकवल गाउँपालिकामा भेटिएको छ ।

बुधवार झापामा १७ जना कोरोना सङ्क्रमित पुष्टि भएसँगै कचनकवलमा मात्रै सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ । यसअघि कचनकवलमा ३३ जना कोरोना सङ्क्रमित भेटिएकोमा बुधवार १५ जना नयाँ सङ्क्रमित थपिएका हुन । योसँगै झापामा सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ, भने प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या १०४ पुगेको हो ।

प्रदेश एकको संख्यामध्ये आधा भन्दा बढी झापाकै रहेको छ । जिल्लाको गौरदाह नगरपालिकामा आज दुई जना नयाँ कोरोना सङ्क्रमित भेटिएको छ । बाह्रदशी गाउँपालिकामा दुई, झापा गाउँपालिका र दमक नगरपालिका एक/ एक जना सङ्क्रमित भेटिएको थियो । त्यसमध्ये बाह्रदशी र दमकका एक/ एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

झापामा बुधवार भेटिएका १७ जना पनि भारतको सङ्क्रमित क्षेत्रबाटै स्वदेश फर्किएका हुन् ।

कचनकवलमा भेटिएको १५ जना भारतको मुम्बई, दिल्ली, गुजरात, अलिगढ भन्ने स्थानबाट आएको कचनकवल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए ।

उनका अनुसार सङ्क्रमित सबै जना गाउँपालिका- ५ स्थित जानकी आधारभूत विद्यालयको क्वारेनटाइनमा बसेका थिए । सङ्क्रमित हुनेमध्ये वडा नम्बर ५ का १३ जना, वडा नम्बर ६ र ७ का एक/ एक जना रहेको छ । उनीहरूको उमेर समूह १९ देखि ५७ वर्षसम्मका हुन् । गाउँपालिकाले आइतबार स्वास्थ्यकर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र क्वारेनटाइनमा बसेकाहरू गरी १६२ जनाको स्वाब सङ्कलन गरी पिसीआरका लागि विराटनगर पठाएको थियो ।

त्यसमध्ये बुधवार ५६ जनाको रिपोर्ट आएको बताउँदै स्वास्थ्य प्रमुख यादवले भने, ‘अरूको रिपोर्ट आउने क्रममा रहेको छ । जानकीको क्वारेनटाइनमा बसेका ३२, स्वास्थ्यकर्मी र प्रहरीसहित ४६ जनाको आएको रिपोर्टमा १५ जना पोजेटिभ देखिएको हो । त्यसमा स्वास्थ्यकर्मी र प्रहरी रिपोर्ट भने नेगेटिभ आएको छ । अरू २० जनाको रिपोर्ट महेन्द्र रत्न माविको क्वारेनटाइनमा बसेकोबाट आएको हो । त्यहाँ कसैकोमा पनि पोजेटिभ देखिएन ।’

कचनकवलमा हाल १०९ जनाको स्वाब सङ्कलन गर्न बाँकी रहेको बताउँदै उनले भने, ‘लक्ष्मी मावि बनियानीमा ७२ जना, घेरावारिमा २७ र पाठमारीको जानकी माविको क्वारेनटाइन १० जना रहेको छ । उनीहरू सबै जना हिजोअस्ती आएर बसेका हुन् ।’

भारतबाट आउने सबै जनालाई सुरक्षित रूपमा क्वारेनटाइनमा लगेर राखिएकोले गाउँघरमा संक्रमण फैलिन नपाएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए । गाउँपालिका भारतबाट साढे ३ सय बढी गाउँबासी फर्किसकेका छन्, अरू पनि आउने क्रममा रहेको छ । आउने सबैलाई क्वारेनटाइनमा राखिने उनले बताए ।

यता गाउँपालिकाले संक्रमण रोक्न जेठ १६ गतेसम्म पुरै गाउँपालिकाले सिल गरेको छ ।

उता गौरदाह नगरपालिकामा भेटिएका सङ्क्रमित दुई जना वडा नम्बर ९ का रहेका छन् । उनीहरू दुवै जना भारतको मद्रासबाट आएका हुन् । यता बुधवार भेटिएका १७ जना सङ्क्रमितलाई उपचारका लागि धरान वा विराटनगर पठाइने छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here