कचनकवलमा २७ जना थपिएसँगै झापामा सङ्क्रमितको सङ्ख्या १०७ पुग्यो

0
852

भद्रपुर।

झापामा शुक्रवार थप २७ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । दक्षिणी झापाको कचनकवलमा गाउँपालिकाका क्वारेनटाइनमा बसेकाहरू मध्येबाटै २७ जना सङ्क्रमित थपिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।

कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणपछि उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मगरले बताए । योसँगै कचनकवलमा कोरोनाको इपिसेन्टर बन्न पुगेको छ । गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या एक सय पुगेको छ ।

झापामा सङ्क्रमितको सङ्ख्या भने १०७ पुगेको हो । कचनकवलमा पछिल्लो पटक १६२ जनाको स्वाब सङ्कलन गरी पिसीआरको लागि पठाइएको थियो ।
त्यसमध्ये बुधवार १५, बिहीबार २५ र शुक्रवार २७ जनामा संक्रमण पुष्टि भएको हो ।

सङ्क्रमित पुष्टि भएका उनीहरूलाई पाठामारीको जानकी आधारभूत र केचनाको महेन्द्र रत्न माविको क्वारेनटाइनमा राखिएको थियो । बिहीबार र शुक्रवार पुष्टि भएका सङ्क्रमित महेन्द्र रत्न माविको क्वारेनटाइनमा बसेका थिए ।

उनीहरू सबै समूह बनाएर भारतको सङ्क्रमित क्षेत्र दिल्ली, मुम्बईबाट गाउँ फर्किएका हुन् । उनीहरूमै संक्रमण देखा परेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए । गाउँघर प्रवेश गर्न नदिएकोले संक्रमण फैलिनबाट गाउँवासी समयमै जोगाउन सफल भएको उनले बताए ।

कचनकवलमा क्वारेनटाइनमा बसेका अन्य व्यक्तिको पनि स्वाब सङ्कलन भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । यसअघि जिल्लाको बाह्रदशी र गौरदाहमा दुई–दुई जना, दमक नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकामा एक–एक जना थपिएका थिए ।

दमक र बाह्रदशीका गरी दुई जना निको भएर घर फर्किसकेका छन् । झापामा पुष्टि भएका संक्रमित प्रदेश १ कै जिल्लामा सबै भन्दा बढी भेटिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here