चिया क्षेत्रको समस्या समाधानमा ध्यानाकर्षण

0
1052

झापा,

चिया क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि सरोकारवालाले सम्बद्ध पक्ष तथा तिनै तहका सरकारको ध्यानकर्षण गराएका छन् ।

झापा उद्योग संघ तथा ट्रेड युनियन र चिया श्रमिक सम्बद्ध विभिन्न संगठनका अगुवा नेताहरुले चिया क्षेत्रका समग्र समस्या तत्काल समाधान गर्न माग गरेका हुन् । संवाद समूहको संयोजनमा शनिवार भएको भिडियो कन्फ्रेन्समा ४ बुँदे साझा निष्कर्षसहित त्यस्तो माग गरिएको हो ।

झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल, अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं. १का इञ्चार्ज भूपाल सापकोटा, नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ केन्द्रीय उपाध्यक्ष सई कुमार राईले त्यस्तो ध्यानाकर्षण गराएका हुन् ।

चिया श्रमिक र चिया उत्पादक संघबीचको समस्या समाधानका लागि झापा उद्योग संघले समन्वयात्मक भूमिका निर्वाह गर्ने समेत सहमति भएको छ । चिया क्षेत्रको सर्वाङ्गिण विकासका लागि उत्पादक संघ तथा ट्रेड युनियन र श्रमिक संघ–संगठनले नीतिगत तहमा पु¥याउन संयुक्त पहल गर्नेमा जोड दिइएको छ ।

त्यस्तै हाल काँकरभिट्टा नाकाबाट तयारी चिया निकासी ठप्प भएको विषयमा तत्काल काँकरभिट्टा वा भद्रपुर नाकाबाट चिया निकासीको वातावरण बनाउन सरकार र स्थानीय प्रशासन समक्ष माग गरिएको छ ।

त्यस्तै झापामा कोरोना भाइरसको संक्रमण बढ्दो मात्रा देखिएकाले चिया बगान तथा उद्योगमा कार्यरत श्रमिकलाई अनिवार्य आवश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गराएर मात्र काममा लगाउन बगान व्यवस्थापन पक्षलाई आग्रह गरिएको छ ।

चिया क्षेत्रमा देखिएका तत्काल समाधान गरिनुपर्ने समस्याका विषयमा केही दिनभित्रै पुनः छलफल गरी अघि बढ्ने समेत निष्कर्ष निकालिएको छ । छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेल र कमला भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here