विनोद सापकोटा / झापा ।
झापाको मेचीनगरबाट संचालित रितिका डेरी उद्योगबाट उत्पादित पञ्चामृत दूधमा कैफियत देखिएको छ । झापा लगायत मोरङ र सुनसरी जिल्लाका उपभोक्तामा लोकप्रिय बनेको दूधमा कैफियत देखिएको उपभोक्ताले बताएका छन् ।
उपभोक्ताको गुनासो आएपछि जिल्लाको शिवसताक्षी नगरमा शुक्रबार गरिएको अनुगमनमा उक्त उद्योगबाट उत्पादित पञ्चामृत नामको दूधमा समस्यै समस्या देखिएको हो । उद्योगबाट उत्पादित दुधमा न्युनतम मापदण्ड समेत नपुर्याइ बिक्रिका लागि बजारमा पुगेपछि उपभोक्ताको गुनासो आएको अनुगमन समितिले बताएको छ । शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपाल नेतृत्वको टोलीले शुक्रबार बजारमा बिक्रीका लागि ल्याईएको उक्त दूधको अनुगमन गरेको थियो ।
नगरको दुधे, झिलझिले र डुडामारीमा गरिएको आकस्मिक अनुगमनका क्रममा दूधका पोकामा उत्पादन मिति र उपभोग गर्ने अन्तिम मिति उल्लेख छैन । जसका कारण उपभोक्ता गुणस्तरहीन दूधको उपभोग गर्दे आएको स्पष्ट बुझ्न सकिने स्वयं उपभोक्ताले बताएका छन् ।
दुधेको खुसी डेरी तथा किराना पसल, नानु डेरी र डुडामारीको कोपिला डेरी तथा किराना पसलमा अनुगमन गर्दा दूध को आधा लिटरको पोकामा उत्पादन मिति र उपभोग गर्ने मितिको लेवल नभेटिएको अनुगमन टोलीकी प्रमुख शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपालले बताएकी छन् । उनका अनुसार रितिका डेरीले आम उपभोक्तालाई झुक्याएर बजारमा बिना लेवलको दूध बिक्री गरेको हो । ‘खाद्यय बस्तुमा उत्पादन र उपभोग गर्ने मिति अनिवार्य हुनु पर्छ ।’ उनले भनिन्, ‘बिना लेवलका खाद्य बस्तु उपभोक्ताको हितमा हुदैन, यसले ज्यानै जान सक्छ ।’
शुद्ध र ताजाका नाममा दूध उत्पादन गर्ने उद्योगले स्पष्ट लेवल नै उल्लेख नभएको पाइएको अनुगमनटोलीमा रहेका इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरिक्षक कोमल ठाकुरले बताए । दूध जस्तो बस्तुमा प्याकेटमै स्पष्ट उल्लेख गरेको हुनुपर्ने उत्पादन र उपभोग मिति नै नभएको पाइएपछि टोलीले बिक्रीका लागि डेरी पसलमा राखेको दूध जफत गरेर नष्ट गरेको थियो । अनुगमन टोलीले ९० पोका दूध जफत गरेको थियो ।
उद्योगले दूध उत्पादन गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्ड पूरा नगरेको निश्कर्ष अनुगमन टोलीको छ । ‘उक्त उद्योगले दूध उत्पादन गर्दा अपनाउनुपर्ने जीएमपी, दूध उत्पादनका प्रक्रियामा अपनाउनुपर्ने उचित तापक्रम, सरसफाई लगायतका कुनै पनि मापदण्ड पालना नगरेको हुन सक्ने अनुगमन टोलीले अनुमान छ । उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेलाई कारवाही हुन्छ ।’ अनुगमन समितिका एक सदस्यले बताए ।
‘लाखौं उपभोक्ताले उपभोग गर्ने दूधजस्तो संवेदनशील तरल पदार्थको उत्पादनमा उद्योगहरूले न्युनतम मापदण्ड पूरा नगरेको देखियो,’ अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दे शिवसताक्षी नगरकी उपप्रमुख नेपालले भनिन्, ‘यो हविगत हेर्दा त दूग्ध उद्योग पूरै शिल गर्नुपर्ने देखिन्छ ।’
दूध उत्पादन गर्ने उद्योगहरूले गरेको हेलचेक्र्याइँ र बदमासीका बारेमा शिवसताक्षी नगरमा नियमित अनुगमन गर्ने उनले बताईन । उद्योग संचालकलाई कारबाही गर्ने उनले बताएकी छन् । बिना लेवलका दुध बिक्रि वितरण नगर्न विक्रेतालाई उपप्रमुख नेपालले अनुरोध गरेकी छन् ।
अनुगमन टोलीमा उपप्रमुख नेपाल सहित ११ नम्बर वडाका अध्यक्ष भैरवकुमार श्रेष्ठ, ८ नम्बर वडाका केहरशिंह बस्नेत, जिल्ला समन्वय समिति झापाकी सदस्य जुनु मोहरा, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुर, पशु स्वास्थ्य सेवाका छैटौ तहका अधिकृत रामअवतार यादव लगायतको सहभागिता थियो ।
यता रितिका डेरी उद्योगका प्रवन्धक राजन चिमरीयाले १० दिन देखि दूधको पोकामा उत्पादन मिति र उपभोग गर्ने मिति उल्लेख हुन नसकेको स्वीकार गरेका छन् । उनले चिसोका कारण प्रिन्ट मेटिएको भनेर सुरुमा झुट बोलेका थिए । तर, बिहिबार उत्पादन भएका करिव ३ हजार २ सय लिटर दुधमा उत्पादन मिति र उपभोग गर्ने अन्तिम मिति नै उल्लेख नभएको बिषयमा भने उनले लकडाउनका कारण बजारमा प्रिन्ट गर्ने मसि नपाएर त्यतिकै बजारमा विक्रिका लागि पठाइएको बताए ।
उनले भने, ‘आज सम्म कसैले कम्प्लेन गरेका थिएनन् । त्यसैका आधारमा बजारमा दुध पठाइएको हो ।’ उनले भुलबस गल्ती नभएर जानाजान गल्ती भएको स्पष्ट पारेका छन् । रितिकाले झापाको काकडभिट्टा देखी इटहरी र भित्री बजार सम्म दूध बिक्रि गर्ने गरेको छ ।