नेपालको संविधानकाे दोस्रो संशोधन विधेयक संसदबाट आज पारित हुने

0
1272

काठमाडौँ।

नेपालको संविधानकाे दोस्रो संशोधन विधेयक आज (शनिबार) प्रतिनिधि सभाबाट पारित हुने भएको छ । जेठ १८ गते प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय सकिएकाे छ ।

संसद सचिवालयले शनिबार १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विधेयकको दफावार छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ ।

संविधान संशोधन विधेयकमाथि जनता समाजवादीकी सांसद सरिता गिरीले एक संशोधन प्रस्ताव पनि दर्ता गराएकी छन् । तर पार्टीले प्रस्ताव फिर्ताको लिखित निर्देशन दिए पनि प्रस्ताव फिर्ता भएको छैन । यद्यपि जनता समाजवादी पार्टीले भने सरकारद्वारा प्रस्तुत संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

अब प्राप्त संशोधन स्वीकृत गर्ने वा नगर्ने भन्ने अन्तिम अधिकार सभामुखमा हुनेछ । लगभग सदनमा प्रतिनिधित्व गर्ने सबै मुख्य दलहरू संशोधन विधेयकको पक्षमा उभिएकाे हुँदा सर्वसम्मतिले पारित हुने सम्भावना छ  । शनिबार विधेयकमा दफावार छलफलपछि पारितको प्रक्रिया अगाडि बढ्ने जनाइएकाे छ ।

संविधानकाे अनुसूची ३ मा रहेकाे निशाना छापमा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक गरेकाे प्रशासनिक/राजनीतिक नक्सा समावेश गर्नका लागि मात्रै याे संशाेधन हुन लागेकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here