ताप्लेजुङ,
जिल्ला कारागार ताप्लेजुङको सुरक्षा सोमबारदेखि सेनाले दिन थालेको छ।
कारागारको छतमा रहेको चार वटै सुरक्षा पोष्टमा भीमकाली गुल्मका सेनाको टोली खटिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।
प्रजिअ निरौलाका अनुसार प्रहरीलाई सीमा सुरक्षामा पठाउन संख्या कटौती भएकाले सेना खटाइएको हो। ‘त्यहाँ खटिएका प्रहरीलाई सीमामा पठाउने गरी आधा कटौती गरियो,’ निरौलाले भने, ‘सोही ठाउँमा माथिकै परिपत्रअनुसार सेना खटाइएको हो।’
कारागारको सुरक्षाका लागि खटाइएका १२ जना प्रहरीमध्ये आधाको संख्या कटौती भएपछि सेनाले सुरक्षा दिन थालेको प्रजिअ निरौलाले बताए। हाल सेनाका १३ जनाको टोली सुरक्षार्थ खटिएको छ।
कारागारमा अहिले १३४ जना कैदीबन्दी रहेका छन्। जिल्लाका कारागारको क्षमता भने २५ जना मात्रैको हो। तर, वर्षौदेखि क्षमताभन्दा बढी कैदीबन्दी राख्दै आइएका छ।





























