झापाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा

0
1887

विनोद सापकोटा / झापा।

झापामा मौसम सक्रिय हुन थालेको छ । हिजोदेखि लगातार झैं बर्षा भएपछि जिल्लाका नदीनालामा पानीको सतह बढेको हो । असार १० गते झापाको शिवसताक्षीमा ३८.८ मिलिलिटर वर्षा भएपछि कनकाई, कमल बनियानी नदीमा पानीको सतह बढेको हो ।

झापाका नदी नालामा पानीको सतह बढेपछि जिल्लाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा रहेका छन् ।
जिल्लाको शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका लगायत झापा, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गाँउपालिका बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापती लोकराज ढकालले जानकारी दिएका छन् । त्यस्तै, भद्रपुर नगरपालिकाको वडा नम्बर १ र २ तथा कनकाई नगरपालिकाका केही वडा बाढीको उच्च जोखिममा रहेको उनले बताए ।

‘सबैभन्दा धेरै झापाको दक्षिणी–पश्चिम क्षेत्र बाढीको उच्च जोखिममा रहेको छ’, सभापती ढकालले भने । कनकाई, रतुवा, बिरिङ्ग मेची, कमल, बनियानी, टाङ्टिङलगायतका खोला तथा नदीबाट सतर्क रहन उनले झापाबासीलाई आग्रह गरको छन् ।

बाढी आएका बेला नदीको तटिय क्षेत्रमा नजान पनि उनले प्रभावित क्षेत्रका बासिन्दालाई अनुरोध गरेका छन् । पुर्वी पहाडी भेगमा निरन्तर बर्षा भएपछि झापाका नदीनालामा पानीको सतह बढेर बाढी आउने गरेको छ ।

जिल्ला विपत पूर्वतयारी प्रतिकार्य योजना अन्तर्गत बाढीबाट प्रभावित बनेकाको खोज, उद्धार तथा राहतका योजना तयार गरेर बिपत व्यवस्थापन समितिमा पेस गरिएको सभापती ढकालले बताए । झापामा २८ वटा साना ठुला नदी भएपनि ८ वटा नदीमा आउने बाढीबाट अधिकतम जोगिनुपर्ने सभापती ढकालले बताएका छन् ।

खोज तथा उद्धार गर्नका लागि श्रोत साधनको क्षमताका बारेमा पनि समितिलाई विश्लेसण सहितको योजना पेस गरिएको छ । प्रभावित क्षेत्रका पालिकाले कम्तिमा १ सय परिवारका लागि गैह्र खाद्यका बस्तु तयारी अवस्थामा राखेको उनले जानकारी दिए ।

बाढीको पूर्वानुमान अन्तर्गत मोबाइल फोनमा म्यासेज गर्ने, नदीमा पानीको बहावको अवस्था मापन गर्ने, बाढी आउने सम्भावना भए आवश्यक सतर्कता अपनाउनु पर्ने बताइएको छ । यसका लागि उद्धार टोली तयारी अवस्थामा रहेको उनले बताए ।

कनकाईमा बाढी आउदा किच्चकडाँगीको बाँधमा जोखिम

झापा १ नम्बर प्रदेशमा हिजो दिउँसो देखि परेको अविरल वर्षा ३ दिन सम्म सक्रिय रहने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विहीबारदेखी देशभरका सबै प्रदेशहरुमा पुर्ण बदली रही धेरै स्थानहरुमा वर्षा हुने महाशाखाले जनाएको छ । बिहीबार राती देखि भएको बर्षा शनिबार साँझ सम्म निरन्तर हुने पनि महाशाखाले प्रकाशन गरेको बुलेटिनमा उल्लेख छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा हुने उल्लेख छ । महाशाखाले जनाएका ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू—क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महासाखाले सर्वसाधरणलाई अनुरोध गरेको छ ।

यसैविच झापाको कनकाई, विरिङ्ग, मेची, निन्दा, रतुवा, मावा, टाङटिङ, अधुवा लगायत दुधे, सतासी, झिलझिले, गेउरिया लगायतका नदि तथा खोलामा पानीको सतह बढेको छ । नदि तथा खोलामा पानीको सतह बढेपछि डुवान र कटान सुरु भएको छ ।

यता, अविरल वर्षाको कारण कन्काई नदीमा आएको बाढिले शिवसताक्षी नगरपालिका ५ को भेलामुनी र किच्चकडाँँगी पुर्वको बाँधलाई उच्च जोखिममा पारेको छ । निरन्तर कटान गरेपछि जनताको टतबन्ध कार्यालय गैडे माइधारले निर्माण गरेको उक्त बाँध बाढीको उच्च जोखिममा परेको हो । सो क्षेत्रमा करिव १ सय ५० घर को बसोबास रहेको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका सदस्य साँसद एलपी साँवा लिम्बुका स्वकीय सचिव सिकीन पासवानका अनुसार पानीको धार परिवर्तन नगरिए सयौं स्थानीयबासीको बाढीले उठिबास बनाउने छ । उनले भने, सरकोकारका निकायले बाँध बचाउनका लागि अधिकतम छिटो पहल नगरे ठुलो धनजनको क्षति हुन सक्ने छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here