फेरिए बाह्रदशीका प्राथमिकता

0
1762

सुरेन्द्र भण्डारी

बिर्तामोड,
पूर्बाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको बाह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति कार्यक्रममा ‘स्वास्थ्य र शिक्षा समृद्धिको आधार, कृषि पर्यटन र पूर्वाधार’भन्ने मूल नारा अघि सारेको छ । यस अघि गाउँपालिकाले पूर्वाधार विकासमा जोड दिँदै आएको थियो । चालू आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको थियो । तर, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढेसंगै गाउँपालिकाले आफ्ना प्राथमिकता समेत बदलेको हो । वाह्रदशी गाउँपालिकामा समेत कोरोना भाइरस संक्रमित फेला परेपछि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै ‘स्वस्थ्य जीवन विशेष अभियान नागरिकको सम्मान’ भन्ने अभियान नै चलाउने भएको छ ।

गाउँपालिकाको नीति कार्यक्रमलाई हेर्ने हो भने आगामी अर्थिक वर्ष २०७७÷०७८मा गाउँपालिकाले नागरिकहरुको मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य सेवालाई गाउँपालिका क्षेत्रभित्रका नागरिकहरुले सहज रुपमा पहुँच पाउन सक्ने व्यवस्था मिलाउन स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी र निरन्तरता दिने भएको छ । स्वास्थ्य विमा गर्न नसक्नेहरुका लागि गाउँपालिकलो नै विमा गरिदिने र प्रत्येक वडामा स्वास्थ्य जीवन अभियान सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने गाउँ सभामा गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । राजगढ स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालको रुपमा स्तरोन्नति गर्दै सबै किसिमको सेवा सञ्चालनका लागि पहल गर्ने गाउँपालिकाको नीति कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले स्वास्थ्य केन्द्रमा एम्वुलेन्सका लागि बजेटको व्यवस्थापन गर्ने भएको छ ।

सबै स्वास्थ्य चौकी कार्यालयको व्यवस्थापन, आवश्यक पर्ने स्वास्थ्य उपकरण, बर्थिङ सेन्टरको व्यवस्थापन गर्ने र स्वास्थ्य प्राविधिक कर्मचारीहरुको क्षमता विकासका लागि आवश्यक तालिम कार्यक्रम सञ्चालनको लागि पहल गर्दै महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई प्रोत्साहित गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

२०७५ साउन १ गतेदेखि लागू भएको सुत्केरी महिला कार्यक्रमलाई निरन्तरता दिँदै सामुदायिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउने एवम् ३५ दिन भित्रमा बच्चाको जन्मदर्ता गराउने महिलालाई प्रोत्साहन प्याकेज सहयोग गर्ने गाउँपालिकाको नीति कार्यक्रममा उल्लेख छ ।

त्यस्तै पूर्ण खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र स्वास्थ्य सेवा सहज प्राप्त गर्न नसकेका नागरिकहरुले स्वास्थ्य सेवा सहज रुपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले विभिन्न किसिमका स्वास्थ्य शिविरहरु विभिन्न वडाहरुमा सञ्चालन गर्नका लागि आवश्यक व्यवस्था मिलाउने भएको छ ।
नियमित योग गरौं, निरोगी एवम् स्वस्थ बनौं विशेष अभियान आयुर्वेद शाखाको माध्यमबाट सबै वडामा सञ्चालन गर्दै लगिने र लक्षित समूह पहिचान गरी परिवार नियोजन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोभिडको बढ्दो संक्रमणका कारण संक्रमणको उच्च जोखिमको सम्भावना रहेका व्यक्तिहरुलाई कम्तीमा १४ दिन अलग्गैं राखी पीसीआर परीक्षण गरेर मात्र घर वा आइसोलेशनमा पठाउनुपर्ने भएकाले उक्त अवधिको लागि हाल पशुपति मावि राजगढलाई क्वारेन्टाइन बनाइएकोमा उक्त क्वारेन्टाइनलाई भौतिक अवस्था, वेड संख्या शौचालय, सुरक्षा अवस्था लगायतको सुविधा भएको उपयुक्त विकल्प खोजी स्थानान्तरण गर्ने भएको छ ।
क्वारेन्टाइनमा नियमित रुपमा स्वास्थ्य परीक्षण, सरसफाई, रेखदेख र हेरचाह समेतको लागि जनशक्ति व्यवस्थापन गरी उचित प्रोत्साहन गर्दै क्वारेनटाइनमा बसेका व्यक्तिहरु तथा अन्य व्यवस्थापनमा संलग्न सम्पूर्ण जनशक्तिलाई खाना खाजाको उचित व्यवस्थापन गर्ने र संक्रमण पुष्टि हुन आएका व्यक्तिहरुसंगको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको पहिचान गर्न स्वास्थ्यकर्मीहरु संलग्न रहेको खोज पडताल तथा ट्रेसिङ्ग टोली क्रियाशील रहेको गाउँसभामा जानकारी दिइयो । कोभिड नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै महिला, बालबालिका, अशक्त, असहाय, वृद्ध, अपाङ्गता भएका व्यक्तिहरु र असंगठित क्षेत्रमा कार्यरत मदजुरहरुलाई संक्रमणको जोखिमबाट संरक्षण तथा आवश्यकता अनुसार राहत व्यवस्थापन गर्ने भएको छ ।

गाउँपालिकाले सबै नागरिक शिक्षित भएमात्रै गाउँपालिकाको विकास हुने भन्दै शिक्षालाई दोस्रो प्राथमिकतामा राखेको छ । सामुदायिक विद्यालय सुधारका विशेष अभियान सञ्चालन गर्ने लक्ष्य लिएको गाउँपालिकाले बाह्रदशी गाउँपालिका शैक्षिक गुणस्तर सुधार कार्ययोजना बनाएर लागू गर्ने भएको छ ।

गाउँपालिकाले आर्थिक विकासतर्फ किसानको खुशी कृषि र पशुपालनबाट समृद्धि कार्यक्रम सञ्चालन गर्दै यो कार्यक्रम दीर्घकालसम्म लान कृषि रणनीति तयार गर्ने भएको छ । कृषि रणनीतिका आधारमा लगानी योजना बनाई कार्यक्रमको व्यवस्था मिलाउँदै मकै उत्पादनको पकेट क्षेत्र भएकोले यसको उत्पादन वृद्धिमा किसानहरुलाई आवश्यक सहयोग गर्ने भएको छ । कृषि उत्पादनलाई वैज्ञानिक बजारीकरणको अवधारणालाई मूर्त रुप दिन ड्रायरको व्यवस्था गरिने भएको छ ।

पर्यटनतर्फ गाउँपालिकाले बाह्रदशीकै गौरवको योजनाका रुपमा बाह्रदशी डाँडामा भ्यू टावर निर्माण गर्दै बाह्रदशीमा पर्यटनको विकास गर्दै लाने र वडा नं. २ मा रहेको त्रिवेणीधामको डीपीआर तयार भएको हुँदा त्यसलाई समेत धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गर्न पहल गर्ने भएको छ । उता वडा नं. १मा रहेको साधुपर्ती झिलस्थित सीमसारको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गर्न डीपीआर सम्पन्न भएकोले निर्माणको लागि आवश्यक पहल गर्ने र साधुपर्ती झिलसँगै रहेको पर्यावरणीय महत्वको चारकोशे वन समेतलाई पर्यटन प्रवद्र्धनसँग जोड्ने भएको छ ।

वाह्रदशीलाई उज्यालो बनाउने कार्यक्रमले आगामी आर्थिक वर्ष पनि प्राथमिकता पाउने भएको छ । वाह्रदशीका सबै घरमा विद्युत सेवा पु¥याउने गाउँपालिकाको लक्ष्य रहेको छ ।

जसका लागि विद्युत् प्राधिकरणसँगको सहकार्यमा झण्डै साढे चार करोड रुपैयाँको लागतमा विद्युत् विस्तार हुँदैछ । योसंगै राजगढ बजारलाई गाउँपालिकाले स्मार्ट सिटीको रुपमा विकास गरेर लाने भएको छ ।

गाउँपालिकाकै सबैभन्दा बढी शहरीकरण भएको राजगढ तीव्र वृद्धि हुँदै गएकाले यो बजारलाई स्मार्ट सिटी बनाउने भएको छ ।

गाउँपालिकाभित्र रहेका सबै काठे पुल हटाउने अभियान सञ्चालन गर्दै झोलुङ्गे पुल निर्माण गर्नुपर्ने स्थानहरु भए सम्भाव्यता अध्ययन गर्ने र निर्माणका कार्यक्रम सञ्चालन गरिने भएको छ ।

नेवार गाउँदेखि डाँडा गाउँ जोड्ने वडा नं. ७ (विरीङ्ग खोला) र चकचकी बजार बाट झापा गाउँपालिका जोड्ने वडा नं ५ (विरिङ्ग खोला) मा झोलुङ्गे पुल निर्माण गर्न संघीय सरकार र प्रदेश सरकारमा प्रस्ताव पठाइसकेकोले आवश्यक पहल गर्दै ती स्थानमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।
कृषिको आधुनिकीकरण, वैदेशिक रोजगारीवाट फर्किएका युवाहरुलाई रोजगारीको अवसर सृजना, गुणस्तरीय शिक्षा प्रणालीको विकास, स्वास्थ्यमा सबै वडाबासीको सहज पहुँच, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विपन्न र वेरोजगार वडावासीलाई रोजगार एवम् सबल पूर्वाधारको विकास गरी यस गाउँपालिकालाई समृद्ध र सुखी वाह्रदशी निर्माणको अभियानमा जोड्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै ४२ करोड रुपैयाँ विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र दाहालले जानकारी दिए ।

इ पेपर हेर्नका लागि यहाँ जानुहोस् । https://purwanchaldaily.com/wp-content/uploads/2019/06/14-gate-ashar.pdf

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here