बाजुराका एक हजार घरका छाना फेरिने

0
593

बाजुरा, 

जनता आवास कार्यक्रमअन्तर्गत जिल्लाका करीब एक हजार घरका छाना फेरिने भएका छन् ।

खर र फुसले छाएका नौ वटै स्थानीय तहका एक हजार १२ परिवारका लागि पहिलो चरणमा छाना छाउन बजेट विनियोजन गरिएको छ । तीन वर्षभित्र देशभरका सबै खर र फुसका छाना विस्थापन गर्ने नीतिअनुसार बाजुरामा आगामी आर्थिक वर्षका लागि हजारभन्दा बढी घर परेका छन् ।

स्थानीय तहको सिफारिसका आधारमा छनोटमा परेका प्रतिघरलाई रु ५० हजारका दरले बजेट परेको प्रतिनिधिसभा सदस्य लालबहादुर थापाका स्वकीय सचिव सुरेश रोकायाले जानकारी दिनुभयो । टिनका छाना छाउन अनुदानस्वरुप सबै खर र फुसका छाना हटाउने नीतिअनुसार पहिलो चरणमा जिल्लाका एक हजारभन्दा बढी परिवारका लागि बजेट व्यवस्था गरिएको रोकायाको भनाइ छ । तराई र मधेशका केही जिल्लामा अघिल्लो वर्ष नै कार्यक्रम सञ्चालन भइसकेको छ ।

पहिलो वर्ष बाजुराका त्रिवेणी नगरपालिकामा ५८, बूढीनन्दा नगरपालिका १३४, गौमूल गाउँपालिकामा १६६, बडिमालिका नगरपालिकामा ८८, बूढीगङ्गा नगरपालिकामा ९९ र स्वामिकार्तिक खापर गाउँपालिकामा ११० घरधुरीले अनुदान पाउने छन् ।

यस्तै खप्तड छेडेदह गाउँपालिकामा १३१, जगन्नाथ गाउँपालिकामा १४१ र हिमाली गाउँपालिकामा ८५ घरधुरी समेटिएका छन् । अनुदानसहित कर्कटपाता खरीद गरेर घर छाउन बजेट व्यवस्था गरिएको छ ।

यसअघि बाजुराजस्तो दुर्गम पहाडी जिल्लालाई समावेश नगरी कार्यक्रम ल्याइएकामा प्रतिनिधिसभा सदस्य लालबहादुर थापासहित सुदूरपश्चिम र हिमाली जिल्लाका सांसदले विरोध गरेका थिए । विरोधलगत्तै सरकारले सबै जिल्ला समेट्ने र तीन वर्षभित्र खर र फुसका छानामुक्त नेपाल बनाउने नीति लिएको छ । बाजुरामा धेरै घर अहिले पनि खर र माटाले छाएका छन् । ती सबैलाई खरमुक्त बनाउने गरी प्रयास जारी रहेको सांसद थापाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here