ग्रामीण क्षेत्रमा सर्पदंशका बिरामी धेरै

0
902

बिर्तामोड ।

वर्षायाम शुरु भएसंगै झापामा सर्पदंशका बिरामी बढेका छन् । ग्रमीण क्षेत्रका सर्वसाधारण विशेष गरी सर्पको डसाइबाट हरेक वर्ष सबैभन्दा धेरै पीडित हुने गरेका छन् । प्रत्येक वर्ष झापामा झण्डै तीन हजार पाँच सय जना सर्पको डसाइबाट विरामी पर्ने गरेका छन् ।

बाह्रदशी गाउँपालिका–२ राजगढका वीरबहादुर कार्की दुई दिनअघि विषालु सर्पको डसार्इंबाट बिरामी परे । उनको अहिले नेपाली सेनाले सञ्चालनमा ल्याएको झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको छ । विषालु गोमन सर्पले डसेको डेढ घण्टाभित्र सर्पदंश उपचार केन्द्र चारआली आइपुगेका कार्कीले उपचारपछि अहिले नयाँ जीवन पाएका छन् ।

सर्पदंशका कारण बिरामी पर्ने कार्की ग्रामीण क्षेत्रका एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्ता धेरै वर्षायाम शुरु भएसँगै सर्पको डसाइमा पर्ने गरेका छन् । सर्पदंश उपचार केन्द्र चारआलीको तथ्याङ्क अनुसार गत वर्ष १ हजार ३ सय ३६ जना सर्पदंशका कारण बिरामी भए । जसमध्ये ३१ जनालाई विषालु सर्पले डसेको थियो । झापासहित देशभर नै विषालुभन्दा नविषालु सर्पको डसाइबाट धेरै मानिस प्रभावित हुँदै आएका छन्– सर्पदंश उपचार केन्द्र चारआलीका डा. सुलभ श्रेष्ठले भने ।

झापामा सर्पदंश उपचार केन्द्र चारआलीसहित नेपाल रेडक्रस सोसाइटीले सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्र दमक र कनकाई नगरपालिकाको कोटीहोममा रहेको सहारा सर्पदंश उपचार केन्द्रबाट पनि सर्पदंशका विरामीले उपचार पाउँदै आएका छन् । दमक र कनकाई नगरपालिकामा रहेको सर्पदंश उपचार केन्द्रमा पनि उपचार गराउनेको संख्या झण्डै उस्तै छ ।

सर्पदंश उपचार केन्द्र चारआलीमा चालूआर्थिक वर्षको वैशाख, जेठ र असारको दोस्रो हप्तासम्ममा सर्पदंशको उपचार गराउनेको संख्या २ सय ५० रहेको छ भने दमकमा बैशाख र जेठमा मात्रै १ सय ६८ जनाले सर्पदंशको उपचार गराएका छन् ।

चेतनाको अभावले ग्रामीण क्षेत्रमा अझै पनि सर्पले डसे झारफुक गर्ने चलन हटेको छैन । सर्पले डसेका व्यक्तिलाई समयमा अस्पतालसम्म ल्याइ नपु¥याउँदा कतिपयले अकालमै ज्यान गुमाउने गरेका छन् । सर्पदंश उपचार केन्द्र चारआलीमा भेन्टिलेटरको अभावमा कतिपय बिरामीको उपचारमा समस्या हुने गरेको बताउँछन्– सर्पदंश उपचार केन्द्र व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद भट्टराई ।

सर्पदंशका कारण हरेक वर्ष झापामा कति मानिसले अकालमा ज्यान गुमाउँदै आएका छन्, त्यसको यकिन तथ्याङ्क छैन । तर, सर्पदंशका कारण बिरामीको संख्या भने हरेक वर्ष बढ्दो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here