‘दशनामी समाजले जातीय राज्य मागेको छैन’

0
655

बिर्तामोड, भदौ ८। नेपाल दशनामी समाजले आफूहरु जातीय राज्यको पक्षमा नरहेको प्रष्ट पारेको छ ।
‘सुनकोशी क्षेत्रलाई दशनामी स्वायत्त राज्य घोषणाको माग’ नेपाल दशनामी समाजको आधिकारिक माग नरहेको र समाजले जातीय राज्य नमाग्ने आज विज्ञप्ति जारी गरी जनाइएको छ । दशनामी समाजले सुनकोशी राज्य मागेको भनी केही सञ्चारमाध्यममा आएको समाचारप्रति आपत्ति समेत जनाइएको छ । नेपाल दशनामी समाजका केन्द्रीय सल्लाहकार हर्कलाल गिरी, मेची अञ्चल संयोजक गोविन्दविक्रम गिरी र झापा जिल्ला अध्यक्ष भरतलाल गिरीले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरी दशनामी समाजले कुनै राज्य नमागेको र माग्ने पक्षमा पनि नरहेको प्रष्ट पार्नु भएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दशनामी समाज प्रतिबद्ध रहेको र एकल जातीय नभइ बहुपहिचानसहितको संघीयताको पक्षमा रहेको विज्ञप्तिमा जनाइएको छ । नेपाल दशनामी समाज सुरुका दिनदेखि नै जातीय राज्यको विपक्षमा रहेकोले आफूहरुले छुट्टै राज्यको कल्पना समेत नगरेको बताइएको छ । छुट्टै राज्य माग नगर्ने जातिमा दशनामी रहेको भनी सबैतिर दशनामी समाजको प्रशंसा हुने गरेको स्मरण गराउँदै विज्ञप्तिमा आफूहरु कहिल्यै जातीय राज्यको पक्षमा नउभिने प्रतिबद्धता जनाइएको छ ।
जातीय राज्यले समाजमा द्वन्द्व सिर्जना भइ विखण्डनतर्फ जाने दशनामी समाजको ठहर छ । जातीय राज्यको संकीर्ण सोचबाट माथि उठेर मुलुक र मुलुकवासीको हित तथा समृद्ध समाज निर्माणको अभियानमा अग्रसर हुन जातीय राज्य माग्नेहरुलाई नेपाल दशनामी समाजको आग्रह छ । दशनामी समाजमा गिरी, पुरी, भारती, वन, तीर्थ, आरण्य, पर्वत, आश्रम, सागर र सरस्वती पर्दछन् ।