गुरू पूर्णिमाको सान्दर्भिकता

0
1616

सम्पादकीय

अज्ञानरुपी अन्धकारबाट ज्ञानतर्फ डोर्याउने गुरु र गुरुतत्वको सम्मान र स्मरण गर्ने दिन आज। अर्थात वैदिक सनातन धर्ममा ज्ञानरुपी प्रकाशले जीवनलाई उज्यालो पारिदिने तत्वको पहिचान गर्दै ती पात्रहरू प्रति श्रद्धा प्रकट गर्ने दिन हो आज । गुरूदेव दिएको ज्ञानको आधारमा हाम्रो सांसारिक जीवन सञ्चालन हुन्छ। त्यसैले ती चाहे वैदिक सनातनी हुन् वा बौद्ध, इसाई वा इस्लाम सबैको जीवनमा गुरू र गुरूतत्वको महत्व समान हुन्छ। उनीहरुकै कृपा र सहयोग भएमात्र मानवजातिले ज्ञान, सिप ग्रहण गर्दछ। त्यही ज्ञान र सिपका धारमा जीवन गति र व्यवहार सञ्चालन हुन्छ। यसअर्थमा गुरू औपचारिक ज्ञान दिने मात्र होइन आफूभन्दा उमेर, ज्ञान,सिप र चेतनाले जो अघि छन् ती सबै गुरू हुन्। अर्थात आमा पहिलो गुरु हुन् त्यसपछि बाबु, दाजु र दिदीहरुलाई पनि गुरुकै दर्जा दिइन्छ।

आषाढ शुक्ल पूर्णिमा नै गुरु पूर्णिमा हो। यसदिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धा प्रकट गर्ने परम्परा छ। गुरूको पूजा भनेकै ज्ञान र सिपको पूजा हो। आजकै दिन बौद्ध धर्मावलम्बीहरुले पनि परम्परा अनुसार गुरुपूर्णिमा मनाउँछन्। खासगरी आध्यात्मिक, सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार र कृतज्ञता प्रकट गर्ने बौद्धमार्गीहरूको परम्परा रहेको छ। सन्सार नै ज्ञानको आड र आधारमा सञ्चालन भएको सत्यलाई स्वीकार गर्ने हो भने इसाई, इस्लाम धर्ममा समेत पादरी, मौल्बीले त्यत्तिकै वरेण्य छन् जसले सिकाएको सिप र दिएको ज्ञानका आधारमा मानिसको चेतना जागृत भएको छ।

हाम्रो संस्कृतिमा गुरुको उपमा र उदाहरण दिनुपर्दा द्रोणाचार्य लगायतका गुरुहरुमा रहेको ज्ञान ,सिप कुशलता र निष्ठाको स्मरण गरिन्छ। आज एकलव्यले जस्तो औंला काटेर गुरूभेटी चढाउनु पर्दैन, गुरु आश्रममा बसेर भिक्षाटन, गुरुसेवा सहितको कठिन संघर्ष पनि गर्नुपर्दैन। अझ विज्ञान र प्रविधिको युगमा गुरुको प्रतिमूर्ति बनाएर, त्यसैलाई गुरु थापेर सिक्नु र पढ्नु पनि पर्दैन। विज्ञानको युगले ल्याएका आविष्कार र उपलब्धिहरुले गुरूको स्वरुपमा परिवर्तन ल्याइदिएको होला तर पनि यिनको प्रयोगमा गुरूतत्वको महत्व हुन्छ नै। अर्थात जतिसुकै आधुनिक भनेपनि गुरूतत्वको महत्व आज पनि उत्तिकै छ र हुनेछ ‌।

मानिसलाई ठीक- बेठीक, सत्य- असत्य ,न्याय- अन्याय, प्राकृतिक र कृत्रिमको भेद सिकाउने चेतना नै गुरूतत्व हो। त्यही चेतनाले हामीलाई प्रत्येक पाइलामा दिशानिर्देश गरिरहेको हुन्छ। हाम्रो मुटुको धड्कनले नै चेतनाको आभाष गराउँछ। यहीकारण गुरूतत्व प्रत्येक मानिसको अन्तर्मनमा हुन्छ जसले गुरुपूर्णिमाको स्मरण गराइरहन्छ। आफूलाई ‘कखरा’ सिकाउने गुरू हुन् वा बामे सर्न ,उभिन, हिँड्न र सदाचारितामा रहन सिकाउने आमाबुबा अथवा कुनै कालखण्डमा ज्ञान सिप र चेतना दिने मनको कल्मषता हटाएर मानवीयता, सहृदयता, सदासयता र सहिष्णुता जागृत गराउने आचार्य सबै हाम्रा वन्दनीय एवं श्रद्धा पुरुष हुन्। आजको यो दिनमा उहाँहरु सबैप्रति सम्मान गरौं, श्रद्धा गरौं र सत्मार्गमा हिँड्ने संकल्प गरौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here