सामुदायिक भवन निर्माणमा लापर्वाही

0
820

गौरीगञ्ज।

गौरीगञ्ज गाउँपालिका वार्ड नं. २को कोरोवारी सामुदायिक भवन निर्माणमा चरम लापरवाही भएको पाइएको छ ।

प्राविधिक इस्टीमेट बमोजिम भवन निर्माण नहुँदा ठेकेदार कम्पनीले चरम लापरवाही गरेको हो । प्रदेश नं.१ को प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत रु. २० लाख रुपैयाँमा उक्त भवन निर्माण हुन लागेको हो । उक्त सामुदायिक भवनको इस्टीमेटमा वेस बिम र टाई विम निर्माण गर्नुपर्ने उल्लेख भए पनि ठेकेदार कम्पनी रितिक कन्ट्रक्सन गौरादहले मनोमानी ढंगबाट रातोरात भवन निर्माण गर्न लागेको हो ।

ठेकेदार कम्पनीले वेस विम र टाई बिम बिनै भवनको उत्तरपट्टिको पर्खाल निर्माण गरेको छ । यही जेठ १३ गते प्रदेश सांसद झलकसिंह दर्लामीले शिलान्यास गरेको उक्त भवनको विम र टाई बिम विनै भवनको पर्खाल निर्माण गरेको थाहा पाएपछि उपभोक्ता समिति र स्थानीयले निर्माण कार्य अघि नबढाउन चेतावनी दिएका थिए । तर, शुक्रवार कसैलाई पत्तै नदिई (उपभोक्ता समितिलाई) ठेकेदार कम्पनीले उक्त निर्माण गरिएको कमजोर पर्खाललाई नै निरन्तर अघि बढाएको छ ।

गौरीगञ्ज गाउँपालिका वार्ड नं. १का वडासदस्य नेत्र राजवंशीले प्राविधिक इस्टीमेट बमोजिम भवन निर्माण नभएको बताए । स्थानीय र उपभोक्ता समितिले कमीकमजोरीलाई सुधार नगरी निर्माण कार्य अघि नबढाउन भने पनि एकाएक कसैलाई पत्तै नदिई ठेकेदारले निर्माण कार्य बढाएको वडासदस्य राजवंशीले बताए । ‘बेस बिम र टाई बिम बिना पर्खाल निर्माण भएको छ र कमशल इट्टा प्रयोग भएको वडा सदस्य तथा जग्गा दाता समेत रहेका राजवंशी भन्छन् – भवनको पिलरको गहिराई पनि इस्टीमेट बमोजिम छैन् कुनै पिलरको गहिराई २ फिट त कुनैको ३ फिट मात्रै छ ।

सामुदायिक भवन निर्माणका लागि स्थानीय वडा सदस्य नेत्र राजवंशी र उनकी भाउजु काजली राजवंशीले २÷२ कठ्ठा गरी जम्मा ४ कठ्ठा जग्गा निःशुल्कमा दान दिएका हुन् । प्रदेश सरकारले उपभोक्ता समितिमार्फत विनियोजित रकमबाट उक्त जग्गामा ६४ फिट लम्बाई र ३२ फिट चौडाईमा झ्यालसहित पर्खालसम्म सामुदायिक भवन निर्माण गर्न लागेको हो ।

सामुदायिक भवन उपभोक्ता समितिका अध्यक्ष कल्याणी राजवंशीले भवन निर्माणका लागि ठेकेदार कम्पनी रितिक कन्ट्रक्सन गौरादहलाई जिम्मा दिए पनि ठेकेदारले आफूखुशी निर्माण गरेको आरोप लगाइन् । प्राविधिक इस्टीमेट बमोजिम निर्माण गर्न भने पनि ठेकेदारले समितिलाई कुनै जानकारी नै नगराई आफूखुशी काम गरेको अध्यक्ष राजवंशीले बताइन् ।

रितिका कन्ट्रक्सन गौरादहका प्रोपाइटर युवराज पौडेलले भवन निर्माणमा कमी–कमजोरी भएको स्वीकार गरेका छन् । कमजोर संरचना निर्माण गर्ने आफ्नो नियत नभएको बताउँदै प्रोपाइटर पौडेलले निर्माण भएको पर्खाल भत्काएर पुनर्निर्माण गर्ने बताए ।

गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष तथा गाउँपालिका स्तरीय अनुगमन समितिका संयोजक दिपीन्द्र थापाले भवनको वेस निर्माण कार्य भएको हुँदा कमजोर संरचना आफूलाई स्वीकार्य नहुने बताए । प्राविधिक इस्टीमेट अनुसार नै ठेकेदारले भवन बनाउनुपर्छ अनुगमन समितिका संयोजक थापा भन्छन्– ठेकेदार कम्पनीले गरेको कामको मूल्यांकन अनुसार मात्र भुक्तानी पाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here